नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ।
चलचित्रमा दिया मास्के, मनीष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्। राजन कठेतद्वारा लिखित कथामा बनेको चलचित्र आजदेखि एक प्रदर्शनमा आएको हो। चलचित्रले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टिप्लेक्सहरुमा पनि राम्रो शो हात पारेको छ।
चलचित्रको प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने प्रयास गरेको बताए। यस्तै, अभिनेत्री मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थताको चित्रण गर्ने बताइन्।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन्। सन्तोष पाठक, धर्म अधिकारी, प्रवीण पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन रहेको छ।