१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २४ शुक्रबार ०७:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानडासँग नेपालको लज्जास्पद हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २४ शुक्रबार ०७:००:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार राति क्यानडासँगको दोस्रो एकदिवसीय खेलमा लज्जास्पद हारको सामना गरेको छ । खराब ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली क्यानडासँग ८३ रनले पराजित भएको हो । अभ्यास खेलमा १–० ले अघि रहँदै क्यानडाले उपाधि हात पार्यो । 

नेपाली बलरले कसिलो बलिङ गर्दा पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा एक सय पाँच रनमा अल आउट भयो । नेपालका पवन सर्राफले १४ रन तथा देव खनालले सर्वाधिक २६ रन जोडेका थिए । ओपनर कुशल भुर्तेल एक रनमै आउट भए । उनले १७ बलको सामना गरेका थिए । 

क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल सहजाद, साद विन जाफर र हर्ष ठकरले समान दुई विकेट लिँदा नेपालका ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान रनका लागि संघर्षरत देखिए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान रोहित पौडेलले ६ रन तथा बसिर अहमदले १३ रन बनाए । 

दीपेन्द्रसिंह ऐरी र आरिफ सेख शून्य रनमा आउट भए । विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले २३ बलमा १३ रन जोडे । यसैगरी आदिल अन्सारी १३ रन र कप्तान सन्दीप लामिछाने ११ रन बनाए । नेपालको ब्याटिङ इनिङ्समा करण केसी पाँच रनमा अविजित रहे । 

क्यानडाको किग्स सिटीमा नेपालका कप्तान सन्दीप र दीपेन्द्रसिंहले घातक बलिङ गर्दा क्यानडा इनिङ्सको एक समय ११८–९ को कमजोर स्थितिमा पुगेको थियो । सन्दीपले १० ओभरमा दुई मेडनसहित ३१ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा एक मेडन राखी ३३ रन खर्चेर दुई विकेट हात पारे । बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक–एक विकेट लिए ।

क्यानडाका श्रेयस मोभा र अमर खालिदले दसौँ विकेटका लागि ७० रनको बलियो साझेदारी गर्दै नेपाललाई मध्यम योगफल दिन सफल रहे । श्रेयसले ५९ बलमा ५० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । खालिदले ३६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रनको अविजित योगदान दिए । क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन बटुले । उनले आफ्नो इनिङ्समा आठ चौका प्रहार गरे । यसैगरी भूपेन्द्रसिंहले २८ बलमा १० रन बनाए । 

क्यानडामा अभ्यास खेल खेलेको नेपाली टोली अब आइसिसी विश्वकप लिग २ प्रतियोगिता खेल्न स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ ।

नेपाललाई अर्को वर्ष भारतमा हुने आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न र एकदिवसीय मान्यतालाई रक्षा गर्न आइसिसी लिग २ अन्तर्गत बाँकी रहेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । अंक तालिकामा नेपालले १६ खेलमा १५ अंक जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।