१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

संकटोन्मुख अर्थतन्त्रबारे प्रधानमन्त्री र परिसंघबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४९:oo

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी देशको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल गरेको छ ।  परिसंघले देशको पछिल्लो आर्थिक अवस्था, सुधारका कदम र बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  

लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय सञ्चिति, लगानी प्रवद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रूपमा लिइनुपर्ने नीतिका विषयमा पनि छलफल भयो । यस्तै, विश्वव्यापी रूपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको परिसंघले जनाएको छ । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराए । तरलता अभावका कारण नयाँ उद्योगमा लगानी हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा पनि उनले सुझाव दिए । उनले आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषय पनि प्रधानमन्त्रीलाई जानकारी गराए । परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिकसम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँदै युवाहरूमा उद्यमी बन्ने चासो निकै बढेको अध्यक्ष अग्रवालले जानकारी गराए । उक्त फेस्टमा पाँच हजार युवाहरूको सहभागिता रहेको थियो भने सातवटा उत्कृष्ट स्टार्टअपका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न पनि परिसंघले आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भीर रूपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए । 

ad
ad