१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आशाको दीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५६:oo

रातको समय थियो । चारैतिर सन्नाटा छाएको थियो । नजिकैको एक कोठामा चार मैनबत्ती बलिरहेका थिए । एकान्तमा उनीहरू एक–आपसमा कुराकानी गरिरहेका थिए । पहिलो मैनबत्तीले भन्यो– म शान्ति हुँ । तर मलाई लाग्छ, कसैलाई पनि मेरो आवश्यकता छैन । सबैतिर लुटपाट, काटमार, युद्ध र अशान्ति मच्चिएको छ । यस्तोमा म यहाँ बस्न सक्दिनँ । म जाँदै छु मित्रहरू ! यति भनेर ऊ झ्याप्प निभ्यो । 

दोस्रो मैनबत्ती बोल्यो– म विश्वास हुँ । मलाई लाग्छ, अहिलेको यो झुटो संसारमा मेरो कुनै आवश्यकता छैन । म पनि यहाँबाट जाँदै छु । दोस्रो मैनबत्ती पनि झ्याप्प निभ्यो । तेस्रो मैनबत्तीले दुःखी हुँदै भन्यो– म प्रेम हुँ । मसँग बलिरहने शक्ति त छ । तर, आजको समयमा मानिससित मेरा लागि समय नै छैन । यहाँ अरूको त कुरै छाडौँ, मानिससँग आफन्तसितै पनि प्रेम गर्ने समय छैन । उनीहरूले प्रेम गर्नै बिर्सिसके कि जस्तो लाग्छ । त्यसैले, म थप सहन सक्दिनँ । म पनि यस संसारबाट जाँदै छु । तेस्रो मैनबत्ती पनि झ्याप्प निभ्यो ।

तेस्रो मैनबत्ती भर्खरै निभेको मात्र के थियो, एक अबोध बालक कोठामा प्रवेश गर्‍यो । मैनबत्ती निभेको देखेर उसका आँखा आँसुले भरिए । रुन्चे स्वरमा उसले भन्यो– प्रिय मैनबत्तीहरू हो, तिमीहरू किन बलिरहेका छैनौ ? तिमीहरूले अन्त्यसम्मै बल्नुपर्ने थियो । तिमीहरू यसरी हामीलाई छाडेर कसरी जान सक्छौ हँ ?

बालकको रुन्चे बोली सुनेर चौथो मैनबत्ती बोल्यो– प्यारा बालक, तिमी चिन्ता नगर । म आशा हुँ । जबसम्म म बलिरहनेछु, हामी बाँकी मैनबत्तीलाई फेरि सल्काउन सक्छौँ । यो सुन्दा बालकको आँखामा चमक देखियो । उसले आशाको बलमा शान्ति, विश्वास र प्रेमलाई पुनः प्रज्ज्वलित गरायो । 

मित्रहरू, सबैतिर खराबैखराब भइरहेको छ, चारैतिर अन्धकार नै अन्धकार देखिँदै छ, आफ्ना पनि पराई लाग्न थाले भने पनि आशाको किरणलाई भने मर्न नदिनुहोस् । आशाको दीप बालिराख्नुहोस् । त्यसले तपाईंको जीवनको अन्धकार हटाएर उज्यालो ल्याउनेछ ।

ad
ad