मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २२ बुधबार ०९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने

Read Time : < 1 मिनेट
२०७९ असार २२ बुधबार ०९:४९:००

हिमाली जिल्ला मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ स्यांगेमा सडक ढलान कार्य हुने भएकाले बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द हुने भएको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीबारदेखि सडक बन्द गरिने बताए । ‘मर्स्याङ्दी गाउँपालिका– ४ स्यांगेको सडक जोखिमपूर्ण भएकाले ढलान गर्न लागिएको हो,’ उनले भने । 

सडक ढलान तथा स्तरोन्तिका लागि पूर्ण रूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएको छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ । 

०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक ०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाले ०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

६५ किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ । गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो ।