१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २२ बुधबार o७:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मलेसियन कम्पनी विस्ट्रोनले शून्य लागतमा नेपाली कामदार लैजाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार o७:५२:oo

मलेसियन कम्पनी विस्ट्रोन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । मंगलबार मलेसियन कम्पनी विस्ट्रोन र नेपाली दुई म्यानपावर कम्पनी (आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच कामदार लैजाने विषयमा सम्झौता भएको छ । विस्ट्रोन सूचना प्रविधिका क्षेत्रमा स्थापित बहुराष्ट्रिय कम्पनी हो । 

विस्ट्रोन कम्पनीका जनरल म्यानेजर डेभिड, आकर्षण इन्टरनेसल कम्पनीका अध्यक्ष विष्णुबहादुर केसी र लालधनुष इन्टरनेसनलका तर्फबाट अध्यक्ष नवाङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नुपर्ने छैन । रोजगारदाता भिसा शुल्कदेखि लिएर हवाई टिकटको समेत व्यवस्था कम्पनीले गर्नेछ ।

कम्पनीका अनुसार पहिलो चरणमा तीन सय १५ महिला र  एक सय ३५ पुरुषसहित नेपालबाट चार सय ५० कामदार लगिनेछ । जसमध्ये आकर्षण इन्टरनेसनल म्यानपावर कम्पनीले एक सय ४० महिला र ६० पुरुषको कोटा तोकेको छ । त्यस्तै, लालधनुष इन्टरनेसनल कम्पनीले भने एक सय ७५ महिला र ७६ पुरुष गरी दुई सय ५० जनाको कोटा पाएको छ । 

सो कम्पनीमा काम गर्ने कामदारले कम्तीमा करिब ७० हजार रुपैयाँ (२,४२१ रिंगरेट) पाउनेछ । कामदारको कामको आधारमा कम्पनीले अधिकतम ९२ हजार रुपैयाँ (३२२३ रिंगरेट) दिनेछ । कम्पनीका जनरल म्यानेजर डेभिडका अनुसार कामदारको न्यूनतम मासिक पारिश्रमिक करिब ४३ हजार रुपैयाँ हुनेछ । इन्सेन्टिभ अधिकतम करिब तीन हजार रुपैयाँ, ओभरटाइम २८ हजार रुपैयाँ र खानाको तीन हजार रुपैयाँसहित भुक्तानी गर्नेछ । 

मलेसियासहित चीन, ताइवान, सिंगापुर, फिलिपिन्स, मेक्सिको, चेक गणतन्त्र र भारतमा समेत आफ्नो फ्याक्ट्री सञ्चालन गरेको कम्पनीले जनाएको छ । मलेसियन यो कम्पनीले सन् २०१९ देखि उत्पादनको काम सुरु गरेको हो । मलेसियामा कम्पनीका दुई ठूला फ्याक्ट्री सञ्चालित छन् ।  कम्पनीमा ८० हजार कामदार कार्यरत छन् ।