लुम्बिनी प्रदेश सरकारकी तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीबाट आवेगात्मक कमजोरी भएको निष्कर्ष सत्यतथ्य छानबिन टोलीले निकालेको छ । वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी पत्नी र छोरीमाथि गरेको हातपातका विषयमा घटनाको सत्यतथ्य पत्ता लगाउन आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा गठित टोलीले त्यस्तो निष्कर्ष निकालेको हो । शर्मा संयोजक रहेको तीन सदस्यीय छानबिन समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए ।
समितिले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार छानबिन प्रतिवेदन बुझाएको छ । समितिका संयोजक शर्माले एकराज बस्नेत र वली एउटै राजनीतिक दलमा आबद्ध रहेको अवस्थामा विभिन्न कार्यक्रमका क्रममा आर्थिक लेनदेन भएको र सो रकम फिर्ता नहुँदा घटना भएको छानबिनबाट देखिएको बताए । एमालेबाट निर्वाचित उत्तरकुमार वलीको निधन भएपछि उनकी श्रीमती विमला वलीले तत्कालीन नेकपाबाट दाङको ३ (ख) बाट उपनिर्वाचनमा जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
विमला प्रकरणका विषयमा प्रदेश सभामा एमाले सांसदले कुरा उठाएपछि लुम्बिनीका मुख्यमन्त्री केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री वलीको राजीनामा स्वीकृत भएको जानकारी १५ असारको बैठकमा गराएका थिए । प्रदेश सभाको गत बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि मुख्यमन्त्री केसीले विमलाले १२ गते दिएको राजीनामा स्वीकृत भएको बताएका थिए । तर, वलीले भने आफूले राजीनामा नदिएको दाबी गर्दै आएकी छन् ।