मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७९ असार १४ मंगलबार ०८:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रानीबारी हत्याकाण्डमा जोडिएका गुरुङ र  चौहानलाई सम्पत्ति शुद्धीकरणमा सफाइ

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०८:५८:००

२० वर्षअघिको रानीबारी हत्याकाण्डमा जोडिएका मनराज गुरुङ र प्रमेश चौहानलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय श्रीकान्त पौडेल र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला सुनाएको हो ।

गुन्डागर्दीमा संलग्न रहेका गुरुङमाथि गैरकानुनी तरिकाबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २३ जेठ ०७४ मा मुद्दा दायर गरेको थियो । उनीमाथि ६ करोड दुई लाख ९६ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो । चौहानमाथि ४२ लाख दुई हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । दुवैले यो मुद्दामा पाँच वर्षपछि सफाइ पाएका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रानीबारी हत्याकाण्डका मुख्य योजनाकारसमेत रहेका गुरुङमाथि छानबिन थालेको थियो । ०५९ तिर काठमाडौं आएका गुरुङ र चौहानले ०६० मा लीलामाया गिरीको ‘सुपारी’ लिई हत्या गरेर धनसम्पत्ति जम्मा गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । उनी सो आरोपमा जेलमा रहँदा पनि विभिन्न व्यक्तिलाई डर–धम्की देखाई पैसा असुल गरेको सिआइबीको आरोप छ । 

‘प्रतिवादी मनराज गुरुङ र प्रमेश चौहानले ०५९ सालतिर काठमाडौंमा आई विभिन्न रेस्टुरेन्टमा बाउन्सरको रूपमा काम गरेको, काठमाडौंको सामाखुसीमा साल्सा नामको डान्स बार सञ्चालन गरेको, ०६० सालमा लीलामाया गिरीको हत्या गरी पक्राउ परी कैद सजाय भुक्तान गरेका निजहरू कारागार रहेको वेलामा पनि विभिन्न व्यक्तिलाई डर–त्रास देखाई आफ्नो नामका खाताहरूमा रकम जम्मा गराउने, लीलामाया गिरीलाई मार्न सुपारी रकम लिएको, निजहरूले विभिन्न व्यक्तिलाई धाक–धम्की, डर–त्रास देखाई रकम असुली गरी धनमाल बढे–बढाएकाले सम्पत्ति शुद्धीकरणजन्य कसुर स्थापित हुन आएको छ,’ प्रहरी प्रतिवेदनमा छ । 

यसरी अवैध रूपमा कमाएको सम्पत्ति उनीहरूले डान्सबार, क्लिनिङ कम्पनी, हाइड्रोपावर, मेडिकल, जग्गासहितका व्यवसायमा लगानी गरी अझ बढाएको आरोप उनीहरूमाथि छ । उनीहरूका नाममा रहेको विभिन्न बैंक खातामा अस्वाभाविक रूपमा रकम देखिएको थियो । 

प्रहरीले गुरुङको गाडी, बैंक एटिएम, विभिन्न कम्पनीका सेयर, बैंक स्टेटमेन्टलगायतका कागजात अभियोगपत्रसँगै पेस गरेको थियो । प्रहरीसामु उनले आफूले सञ्चालन गरेका व्यवसायबाटै आर्जन गरेको र कर तिरेको प्रमाण पेस गर्न सक्ने बताएका थिए । उनले आफ्ना सबै बैंक खातामा न्यून रकम मात्र रहेको दाबी गरेका थिए । तर, अनुसन्धानले भने करोडौँ रकम देखिएको थियो । यसको जवाफमा गुरुङले अदालतलाई आफूले ऋण लिएको पुराना रकम अनुसन्धानमा देखिएको बताएका थिए । 

अर्का प्रतिवादी चौहानले भने आफ्नो खातामा भेटिएको रकम क्याफेको आम्दानी र सापटको रहेको उल्लेख गरेका थिए । प्रहरीलाई उनले साथीहरूले विदेशबाट आफ्नो खातामा रकम राखिदिएको बताएका छन् । साथै, आफ्नो सम्पत्ति नहुँदा र भूकम्पपीडित भएकाले परिवार पालमुनि बस्दै आएको उनले प्रहरीलाई दिएको बयानमा छ । 

अदालतमा बयान दिने क्रममा सापट लिएको ठूलो रकमको लिखत भने उनले बुझाउन सकेनन् । मौखिक सहमतिमा रेस्टुरेन्ट सञ्चालनका लागि ऋण लिएको उनको भनाइ थियो । आफन्तका साथै सहकारीबाट व्यवसाय सञ्चालन तथा सवारीसाधन खरिद प्रयोजनका लागि ऋण लिएकाले ठूलो रकम बैंकमा देखिएको उनले अदालतलाई बताएका छन् । 

यस्तो थियो अभियोग
३१ असार ०५९ मा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको रानीबारीमा हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा गुरुङका साथै चौहानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ वर्षपछि पक्राउ गरेको थियो । गुरुङमाथि गोलढुंगा हत्याकाण्डसहितमा संलग्न भएको आरोप थियो । उनको र उनका परिवारका सदस्यको नाममा रहेको सबै सम्पत्ति रोक्का गरी प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको थियो । अनुसन्धानले जग्गा, रेस्टुरेन्टसहितका क्षेत्रमा गुरुङको लगानी रहेको देखिएको थियो । गुरुङले १३ साउन ०६४ मा दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई कार्यालयभित्रै कुटेर फरार भएका थिए । मनिराज ज्यान मुद्दामै दुई वर्ष जेल बसिसकेका छन् ।