मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १० शुक्रबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भोट हाल्न गाउँ हिँडेकी  हजुरआमाको हत्या गर्ने नाति पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १० शुक्रबार ०८:२४:००

स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ जानेक्रममा हजुरआमाको हत्या गर्ने नाति पक्राउ परेका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–५, चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६, बालग्राम चोक बस्दै आएकी ७७ वर्षकी तुलसा खड्कालाई भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गर्ने २९ वर्षीय नाति हरि भनिने नीरबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झापाको मेची नगरपालिका–६, काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । खड्काले घरायसी विवादका कारण हजुरआमा तुलसाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । तुलसा हरिकी कान्छी हजुरआमा रहेको खुलेको छ । हजुरबुबा अमर खड्काकी कान्छी श्रीमती तुलसापट्टि कोही सन्तान नरहेको र उनको रेखदेख हरिलगायतले गर्नुपर्ने भएपछि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

तुलसा स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । तर, मतदानका लागि हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५, पौवासेरास्थित सुनकोसी नदी किनारमा बीभत्स अवस्थामा भेटिएको थियो ।

बालुवाले आधा पुरिएको बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटार लगेर परीक्षण गरेको थियो । परीक्षणपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको खड्काको शव २ जेठमा सदगद गरिएको थियो । दाँत, साडी, चोलोलगायतका माध्यमबाट ठूलीआमाको पहिचान गरिएको भतिजी लक्ष्मी खड्का बताउँछिन् । उनको १८ जेठमा मात्र सनाखत भएको थियो ।

१० जेठसम्म सम्पर्कमा रहेका हरि खड्का १३ गतेदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै हरिविरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो ।