मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भारतीय सीमावर्ती नवाबगन्जबाट रासायनिक मल किनेर ल्याउँदै डुडुवा– २, वनकट्टीका किसान
२०७९ असार ९ बिहीबार ०८:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतबाट मल ल्याउँदा चोरीको आरोप

Read Time : > 1 मिनेट
२०७९ असार ९ बिहीबार ०८:०९:००

धानमा प्रयोग गर्नका लागि भारतबाट रासायनिक मल ल्याउँदा चोरीको आरोप खेप्नुपरेको बाँकेका किसानले गुनासो गरेका छन् । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि बाध्य भएर भारतबाट मल किनेर ल्याउने क्रममा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीद्वारा चोर भनेर लाठी बर्साउने गरेको डुडुवा गाउँपालिका– १, कन्धइपुर्वाका जयराम गोडियाले गुनासो गरे । ‘मलका लागि नेपालगन्ज धाउन थालेको धेरै भइसक्यो, तर मल पाउने कुनै छाँट छैन । कृषि सामग्री कम्पनीले मल आउने कुनै ठेगान नभएको बताएपछि भारतीय मल किन्न बाध्य भयौँ,’ उनले भने, ‘ल्याउने वेला आफ्नै देशका सुरक्षाकर्मीबाट नानाभाती गाली खानुप¥यो । चोरको आरोप लगाइयो ।’

डुडुवा गाउँपालिका– १, होलियाका बहेकर धोबीले पनि भारतीय रासायनिक मल प्रयोग गर्ने भएका छन् । मल ल्याउने वेला नेपालतर्फका सुरक्षाकर्मीबाट धेरै सास्ती खेप्नुपरेको उनले गुनासो गरे । ‘वास्तवमा भन्ने हो भने, भारतीय सुरक्षाकर्मीले रोकतोक गर्नुपर्ने हो, तर आफ्नै देशका सुरक्षाकर्मीबाट पीडित छौँ,’ उनले भने, ‘बल्लतल्ल जोहो गरेको पैँसाले मल किनेर ल्यायो । बाटोमा बसेका सुरक्षाकर्मीलाई फेरि १०–५० रुपैयाँ चढाउनुपर्छ । नदिए मल ल्याउन दिदैनन् ।’

भारतबाट मल ल्याउने क्रममा नरैनापुर गाउँपालिका– २, लक्ष्मणपुरका इसाक खानले पनि धेरै सास्ती खेप्नुपरेको छ । नेपाली मल नपाएपछि उनीनजिकैको सीमावर्ती भारतीय बजार बघौडा पुगेर मल किने । भारतीय सुरक्षाकर्मीले नरोकेपछि उनी सरासर नेपाल प्रवेश गरे, तर सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले रोकेर चोर भन्दै तथानाम गाली गरेको उनले बताए । ‘घर खर्च ल्याउँदासमेत सुरक्षाकर्मीबाट विभिन्न थरीका आरोप खेप्नुपर्छ । चोर भन्दै सामान जफत गर्छन् । अलि कडा स्वरमा बोल्ने हो भने कुट्ने धम्की दिन्छन्,’ उनले भने, ‘मल नहालौँ धान फल्दैन । हालौँ मल पाइँदैन । भारतबाट किनेर ल्याउन खोज्यो सुरक्षाकर्मीको गाली र लाठी खानुपर्छ । चारैतर्फबाट हामी किसान चेपुवामा छौँ ।’

जानकी गाउँपालिका– १, ढोडेगाउँका रामपाल यादवलाई भारतीय मल प्रयोग गर्ने रत्तिभर मन छैन । तर, नेपाली मल नपाएपछि उनीनजिकैको सीमावर्ती बजार रुपइडिहाबाट मल खरिद गरे । मुख्य नाकाबाट ल्याउन सुरक्षाकर्मीले नदिएपछि उनले अवैध बाटो प्रयोग गरे ।