Skip This
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Tuesday, 11 August, 2026
२o७९ असार ९ बिहीबार o७:३३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार o७:३३:oo

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेले कृषि, शिक्षा, स्वास्थ्यमा जोड दिँदै नीति कार्यक्रम प्रस्तुत गरेका छन् । 

एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माणजस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत नगरवासीको जीवनस्तर माथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने भनिएको छ । बेरोजगारी न्यून गर्ने, स्वरोजगारी वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैंक र श्रम डेस्क सञ्चालन गरी श्रमिकलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको पाण्डेले बताए । 

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधासम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगर प्रमुख पाण्डेले बताए । संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने, बुटवलको उपयुक्त स्थानमा ई–लाइब्रेरी स्थापना गर्ने उल्लेख छ ।

एक वडा एक ज्येष्ठ नागरिक चौतारी निर्माण, एक वडा एक पहिचान, एक वन एक पोखरी, एक पार्क, चुरे पहाडको पहिरो नियन्त्रण गर्दै पार्क निर्माण गर्न सहकार्य गर्ने नीति नगरले अघि सारेको छ । पार्किङ व्यवस्थापनका लागि स्मार्ट पार्किङ कार्यक्रम अघि सारेको नगरले निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने नीति लिने भनेको छ । 

एकीकृत खानेपानी तथा सरसफाई बोर्ड गठन गर्ने, झुम्सा खानेपानी आयोजना सञ्चालन गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने नीति नगरले अघि सारेको छ । किसानलाई उत्पादनका आधारमा अनुदान दिने, अत्याधुनिक डाइग्नोस्टिक ल्याब सञ्चालन, नगरभित्र ई–लाइब्रेरी स्थापनाको नीति नगरले अघि सारेको छ । यस्तै, पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्चार ग्राम स्थापनाको पहल, मिडिया हाउस सञ्चालनका लागि सहयोग, उपकरण खरिदमा अनुदान, स्वास्थ्य बिमा कार्यक्रम, स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै, बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने, पूर्वमेयर र उपविजेतासँग भेटघाट कार्यक्रम गर्ने, तिलोत्तमा गोल्डकप नियमित गर्ने नीति अघि सारेको छ । तिनाउ नदीलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ ।