मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
गगन अयडी बाजुरा
२०७९ असार ७ मंगलबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोको उच्च जोखिममा परेकाे कालापानी बस्तीमा राज्यको ध्यान  पुगेन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ असार ७ मंगलबार १५:३९:००

बाजुराको त्रिवेणी नगरपालिका– ८ कालापानीमा रहेको बाटेगडा बम गिरी टोल विगत केही वर्षदेखि पहिरोको उच्च जोखिममा छ। बस्ती पहिरोको उच्च जोखिममा रहेपनि सरकारले वर्षौँसम्म कुनै ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

वर्षौँ बित्दा पनि सरकारले कुनै ध्यान नदिएको पहिरोपीडित स्थानीय पदमराज गिरीले बताए। ‘बस्तीको तल बुढीगंगा बगिरहेको हुनाले नदीको कटानबाट पुरै बस्ती पहिरोको उच्च जोखिममा छु,’ गिरीले भने।

बुढीगंगाको कटानका कारण पुरै कालापानी बस्ती जोखिममा छ। अहिले १६ परिवार भने उच्च जोखिममा रहेका छन्। उच्च जोखिममा परेका यी १६ परिवार वर्षातको समयमा राजभर जाग्राम बस्न बाध्य छन्। ‘वर्षातकाे समयमा राति कतिवेला पहिरो आएर लैजान्छ भन्ने डरले रातभर घरबाहिर झेलमा बसेर हेरिरहन्छु,’ स्थानीय खडक बमले भने।

सबैभन्दा धेरै जोखिममा बालबालिका,अपांग वृद्धवृद्धा र गर्भवती महिला रहेका छन्। वर्षात्को समयमा राति घरमा पहिरो आए भाग्न अप्ठ्यारो पर्छ भन्ने डरले घर छोडेर रात बस्न अन्यत्र जाने गरेको अर्की स्थानीय पवित्रा बमले दुःखेसो गरिन्।

गत वर्ष साउनको दोस्रो हप्ता आएको पहिरोले १६ परिवारको बिचल्ली हुँदा रेडक्रसले दुई त्रिपाल र वृक्षरोपण–तटबन्धको लागि चार लाख रुपैयाँबराबरको जाली वितरण गरेको थियो। तर, पहिरोपीडित परिवारको तत्काल व्यवस्थापन गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीको टोलीले स्थलगत रिपोर्टिङ गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन नभएको स्थानीय गजेन्द्र बमले बताए।

पुनः वर्षातकाे समय आएसँगै कालापानी बस्तीमा पहिरो जान सुरु भइसक्दा पनि पहिरोपीडितलाई कसरी सुरक्षित राख्ने भन्नेतर्फ राज्यको ध्यान नपुगेको स्थानीयको गुनासो छ।

यता त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले भने विस्थापित परिवारको तत्काल व्यवस्थापनको प्रयास गर्ने बताए। यस वर्ष आफ्नो पहिलो काम नै जोखिममा रहेका कालपानीका १६ परिवारको व्यवस्थापन रहेको बताउँदै उनले तत्कालका लागि उनीहरूलाई अर्को ठाउँमा व्यवस्थापन गर्ने बताए।