पछिल्लो समय बलात्कारजन्य केही घटना सार्वजनिक भइरहेका छन् । तीमध्ये अधिकांश घटना मोडलिङ तथा कलाकारिता क्षेत्रमा काम गर्ने सिलसिलामा भएका थिए । नेपाली सार्वजनिक वृत्तमा एक प्रकारको हलचल नै ल्याउन सफल भए ती घटनाहरू । जसमध्ये पहिलो घटना हो, एक नाबालिका गायिकामाथि भएको बलात्कारको घटना । गायन तथा मोडलिङमा नाम कमाइसकेकी नाबालिकामाथि कलाकार पल शाहबाट भएको भनिएको बलात्कारको घटनाले नेपाली समाजमा ठूलो बहस पैदा गर्यो । यही घटनाको पुर्पक्षका लागि पल शाह अहिले कारागारमै छन् ।
भर्खरै सार्वजनिक भएको अर्को चर्चित र गम्भीर बलात्कारको घटना सुस्मिता रेग्मीको हो । सन् २०१४ को मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा फस्ट रनर अप भएकी सुस्मितालाई आयोजक मनोज पाण्डेले योजनाबद्ध रूपमा बलात्कार गरेको आरोप लागेको छ । मध्यम वर्गीय परिवारकी चेली सुस्मिताको सेलिब्रेटी बन्ने सपनामा बारम्बारको बलात्कार, धम्की र यातनाले बज्रपात गरिदियो । उनी शारीरिक र मानसिक दुवै हिसाबले विक्षिप्त बन्दै गइन् । डिप्रेसनको औषधि खाइरहिन् । सुसाइड गर्ने प्रयास पनि गरिन् । केही गर्दा पनि निको हुन नसकेपछि डाक्टरकै सल्लाहबमोजिम उनले पुरानो घाउ बाहिर ल्याएकी हुन् ।
बलात्कारको घाउ (ट्रमा) ले भित्र–भित्रै गलिरहेकी रेग्मी हिम्मत जुटाएर सार्वजनिक भएलगत्तै भाइरल हुन पुगिन् । सामाजिक सञ्जाल, आमसञ्चार जगत् सबैतिर यस घटनाले राम्रो कभरेज पायो । काठमाडौंलगायत कतिपय सहरमा सुस्मिताको न्यायका लागि आन्दोलनसमेत भए । आफूलाई क्रान्तिकारी दाबी गर्नेहरूले बनाएको कानुनले यस्ता बलात्कारका घटनालाई नसमेट्ने भएपछि कानुनी पक्ष पनि बहसमा तानियो । सुस्मिताको हिम्मतले केही साथ पाएपछि अरू बलात्कारजन्य घटनाबारे पनि फाट्टफुट्ट खुलासा हुन थालेका छन् । जुन सकारात्मक पक्ष हुँदै हो । तर, यहाँ उठाउन खोजिएको विषय बलात्कारसँग जोडिएको हिन्दू शक्ति संरचनाको हो । किन हिन्दू समाजमा बलात्कारका घटना बेसी घट्छन् र गुपचुप हुन पुग्छन् ? भन्ने प्रश्नको समाजशास्त्रीय कोणबाट खोजबिन नगरी बलात्कार र महिला हिंसा अन्त्य गर्न सकिन्न ।
हिन्दू शास्त्रमा महिलाको स्थान : दलितलाई झैं महिलामाथि पनि हिन्दू शास्त्रले तल्लो स्तरको व्यवहार गर्दै आएको छ । हिन्दू शास्त्रीय मिथकहरूले पुरुषलाई शक्तिशाली, सम्पत्तिवान् बलवान्, स्वच्छन्द तथा मर्यादाकारीका रूपमा व्याख्या गर्छन् भने महिलालाई प्रायः कमजोर, अधिकारविहीन, पराधीन, नियन्त्रित, हीन, अबलाका रूपमा चिनाउँछन् । भागवत पुराणमा कृष्णले १६ हजार एक सय आठ गोपिनीसँग सहवास गरेर सबैलाई खुसी बनाएको कथा उल्लेख छ । नेपाली हिन्दू समाजमा निकै लोकप्रिय मानिएको श्रीस्वस्थानीमा झन् अजिब खालका मिथक छन् । जहाँ शिवले सतीदेवीसँग बाजी हार्दा लिंग दाउमा थापेको, रिसको झोंकमा महादेवले दिएको वीर्यबाट कुमारको जन्म भएको, जालन्धरकी सुन्दर र पतिव्रता श्रीमतीलाई विष्णुले रूप बदलेर बलात्कार गरेपछि जालन्धरलाई मार्न सफल भएको जस्ता कथा लेखिएका छन् । अझ लाजमर्दो कुरा ७० वर्षको बूढो शिवजीले सात वर्षकी गोमा नामकी बालिकालाई भेष बदलेर श्राप दिएर पछि उनैले बिहे गरेको प्रसंग पनि कथामा समेटिएको छ ।
महाभारत, पुराण तथा अन्य हिन्दू शास्त्रमा महिलामाथि भएका यसखाले अत्याचार, दमन र विभेदका कैयौँ कथा पाइन्छन् । अन्त कहीँ नभएको क्रूर र अमानवीय सतीप्रथा हिन्दू परम्परामै थियो । जसले लोग्नेको लाससँग जिउँदै जल्नुपर्ने बाध्यकारी नियम लादेको थियो । यस्तो दर्दनाक र आततायी प्रथाको नपालमा उन्मूलन भएको भर्खर सय वर्ष मात्र पुग्दै छ । आजसम्म हिन्दू कानुनमा एकछत्र दबदबा कायम गर्न सफल भएको मनुस्मृतिले महिलालाई ‘वेश्या’का रूपमा हेरेको छ । महिलाको यौनिक चरित्र कमसल हुने भएकाले सधैँ पुरुषको नियन्त्रणभित्र राख्नुपर्ने कानुन मनुस्मृतिमा छ । भारत र नेपाली समाजमा मनुस्मृति कति जबर्जस्त छ भन्ने तथ्यलाई विभिन्न घटनाक्रम र अध्ययनले पुष्टि गर्दै आइरहेका छन् ।
यी सबै शास्त्र, कानुन तथा मिथकले महिला यौनिकतामाथि नियन्त्रणको आइडिओलोजी निर्माण र पुनर्निर्माण गर्छन् । जसअनुसार महिलाले सदैव आफ्नो पवित्रता र सतीत्व जोगाइराख्नुपर्छ । भर्जिनिटी गुमाएकी महिला चरित्रहीन, वेश्या र अपवित्र कहलिन्छे । विवाहका लागि अयोग्य र अस्वीकृत हुन पुग्छे । तर, पुरुषले जति धेरै महिलामाथि शारीरिक सम्बन्ध राखे पनि प्रश्न उठाइँदैन । बरु उल्टै शक्तिशाली, क्षमतावान्, हिम्मतवाला, मर्द छोराको पगरी चढाइन्छ । यो महिलालाई दानवीकरण र पुरुषलाई देवत्वकरण गर्ने भाष्यको जड हिन्दू शास्त्र हो । जसले बलात्कारी देवतालाई पनि दण्डित गर्नुको सट्टा सदैव भगवान्कै स्थानमा पुजिराख्छ । यस्तो शास्त्रीय मनोविज्ञान र शक्तिका आडमा मैमत्त पुरुषहरू बलात्कारी बन्ने सम्भावना बढ्नु स्वाभाविक हो ।
साढे तीन हजार वर्षदेखि जरा गाडेको हिन्दूसत्तामाथि गम्भीर प्रश्न उठाउन नसकुन्जेल महिलामाथि हुने हिंसा र बलात्कारका घटनामा तात्विक भिन्नता आउन सक्दैन
हिन्दूसत्तादेखि पुरुषसत्ता र बलात्कार : हिन्दूसत्तामा सबैभन्दा डरलाग्दो राजनीति जातको तहीकरण हो । जात जति तल्लो तहतिर ओर्लिन्छ, त्यत्ति विभेद र दमनको मात्रा पनि बढ्दै जान्छ । अर्थात् बाहुन महिलाले भोग्ने विभेदभन्दा दलित महिलाले भोग्ने विभेदबीच आकाश–जमिनको अन्तर हुन्छ । सन् १८०३ मा भारतको ट्राभलकोर राज्य (हाल केरला) मा एउटा दमनकारी कानुनविरुद्ध दलित महिलाले विद्रोह गरिन् । त्यतिवेला तल्लो जातका महिलालाई स्तन ढाक्ने गरी कपडा लगाउन वर्जित थियो । कसैले यो नियम उल्लंघन गरेमा मुलाकरम (स्तनकर) तिर्नुपथ्र्यो । जुन स्तनको तौल र आकार अनुसार हुने गथ्र्यो । नांगेली नामकी दलित महिलालाई यो नियम विभेदकारी लागेपछि कपडा लगाएर विद्रोह सुरु गरिन् । नियम उल्लंघन गरेबापत बाहुन शासकहरू मुलाकरम लिन उनको घर पुगे । उनले आफ्ना स्तन नै काटेर शासकहरूको हातमा थमाइदिइन् । उनको केहीबेरमै मृत्यु भयो । तर, यस घटनाले सो राज्यमा ठूलो हलचल पैदा गरिदियो । अन्ततः सो दमनकारी कानुन सच्याउन शासकहरू बाध्य भए ।
जात–व्यवस्थाको पिँधमा रहेका दलित महिलाप्रति हिन्दू सत्ता कति हिंस्रक र पाशविक छ ? यसका लागि भारतको महाराष्ट्र खैरलन्जीमा भएको सुरेखा परिवार नरसंहारबारे एकचोटि जान्नैपर्ने हुन्छ । सुरेखाले महर जातमा जन्मिएर पनि सफा, शिक्षित, जमिन किन्ने, बच्चा पढाउने, इँट्टाको घर बनाउने हैसियत राख्नु अहंकारी माथिल्लो जातका लागि असह्य बन्यो । करिब सत्तरीजना गाउँलेको भिड सन् २००६ सेप्टेम्बर २९ मा सुरेखाको घर घेर्न आइपुग्यो । सुरेखाका दुई छोराले आमा र बहिनीलाई बलात्कार गर्न नमानेकाले उनीहरूको लिंग काटेर क्रूरतापूर्वक मारियो । सुरेखाका श्रीमान् भैयालालले भागेर प्रहरीसित गुहार मागे तर प्रहरी जानाजान आएन । अन्ततः सुरेखा र उनकी १७ वर्षीया छोरी प्रियंकालाई भिडकै ब्वाँसाहरूले बलात्कार गरी पिटी–पिटी हत्या गरिदिए ।
नेपाली सन्दर्भमा पनि जातीय तहीकरण करिब–करिब हुबहु लागू हुँदै आएको तथ्यले पुष्टि गर्छ । गणतन्त्र आइसकेपछि मात्रै नौजना दलित बालिकाको बलात्कारपछि हत्या भएको छ । ती सबै बलात्कारका घटनामा गैरदलित पुरुष संलग्न छन् । सबै घटनामा बलात्कारपछि निर्मम र बीभत्स ढंगले मारिएको छ । दलित महिला बलात्कारको अवस्था झन् भयावह छ । दलित महिला संघ (२०७७) अनुसार एक वर्षमा चार सय ४७ जना दलित महिला तथा बालिका बलात्कार तथा यौनहिंसाको सिकार भएका थिए । दलित महिला तथा बालिकामाथि भएको बलात्कार र हिंसाका शृंखलालाई नियाल्दा यस्तो लाग्छ, उनीहरू मान्छे नै होइनन् । उनीहरू त केवल उच्च जातीय हिंस्रक जनावरका लागि चाहिने वेलाका सिकार हुन् । जसलाई मन लागे प्रयोग गर्न सकिन्छ, नलागे जीवन नै समाप्त गरिदिए टन्टै साफ ! हिन्दू समाजमा हुर्किएको बलात्कारी पुरुषमा यही मनोवृत्ति हाबी देखिन्छ । जसले समग्रमा महिला र त्यसभित्र पनि तल्लो जातीय तहमा पर्ने महिलालाई बलात्कार गर्नु आफ्नो पुरुषार्थ ठान्छ ।
जरुरी बहसको पाट : दक्षिण एसियाली समाजमा बलात्कार तथा महिला हिंसा किन तीव्र रूपमा बढिरहेका छन् ? भन्ने बहसको केन्द्रमा पुरुषसत्ता छ । महिलावादी चिन्तकहरू मात्र होइन, माक्र्सवादी विचारकहरू पनि पुरुषवादी संरचनाकै कारण महिलामाथि हुने बलात्कार र यौनजन्य हिंसाले ठाउँ लिएको तर्क गर्छन् । जुन तर्कलाई पश्चिमा मुलकतिर एक हदसम्म सही मान्न सकिएला । तर, दक्षिण एसियाली हिन्दू तहीकृत जात–व्यवस्था भएको संरचनामा यो तर्क आंशिक रूपमा मात्र सत्य हो । किनकि यहाँको सन्दर्भमा पुरुषसत्ताको उद्गमस्थल हिन्दू शास्त्रबाट निःसृत उँचनिचमय विचारधारा हो । जसले महिलालाई पवित्रता, कुमारित्व तथा सुशीलताका सीमारेखामा कैद गरिरहन्छ । अर्कातिर पुरुषलाई भने बलात्कारी भइसक्दा पनि उल्टै बहादुरीको तक्मा पहिर्याइरहन्छ ।
जबसम्म साढे तीन हजार वर्षदेखि जरा गाढेको हिन्दू सत्तामाथि गम्भीर प्रश्न उठाउन सकिँदैन, महिलामाथि हुने हिंसा र बलात्कारका घटनामा तात्विक भिन्नता आउनै सक्दैन । किनकि समग्र राज्यको विचार, अर्थतन्त्र, राजनीति, कानुन, शिक्षा तथा संस्थाहरू हिन्दू आइडोलोजीमा आधारित छन् । जसले पवित्र मानिने धार्मिक अनुष्ठानभित्र पनि आशाराम बापु, बाबा रामरहिम, सिद्धबाबा (कृष्ण गिरी) जस्ता बलात्कारआरोपी साधुहरू जन्माइरहन्छ । तर, निर्मला पन्त, द्वितिया रसाइली, अंगिरा पासी, अमृता सदाहरू बलात्कृत भएर अप्रत्याशित मृत्यु वरण गरिरहन्छन् । तथापि न्याय केही हिन्दू सम्भ्रान्त शासकहरूको तजबिजमा अल्झिरहन्छ, पीडितको दैलोसम्म आइपुग्दैन । त्यसैले बहसको ठीक निसाना लगाउनु महिला आन्दोलनको पहिलो सर्त हो । दोस्रो, महिला आन्दोलनलाई सबै जातजाति र वर्गको साझा बनाउनु हो । नाबालिका गायिका र सुस्मिता मात्र होइन, सम्झना कामी र अमृता सदाका न्यायका लागिसमेत आवाज बुलन्द गर्नु मुख्य सवाल हो । यस दिशातर्फ महिला आन्दोलन करेक्सन भएर अघि बढ्न सके मात्र न्यायपूर्ण समाजको बाटो मुखरित हुनेछ ।