राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरूबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेजका साथै हिन्दुराष्ट्र कायम गर्नु उपयुक्त हुने बताएका छन् । राप्रपा नेपालको जनवर्गीय संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रूपमा मुलुक टाट हुने अवस्थामा पुग्न सक्ने डरलाग्दो अवस्था भएको, संघीय व्यवस्था आर्थिक रूपमा बोझिलो भएको तर्फ राज्य सञ्चालकहरू चिन्तित नहुनु बिडम्बना भएको बताए ।
थापाले भनेका छन्, 'सुदृढ स्थानीय स्वायत्त शासनअनुरूपको अधिकार सम्पन्न स्थानीय तह र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन ।'
सर्वधर्म समभाजसहितको सनातन हिन्दुराष्ट्र मुलुकको पहिचान भएकोले यसको महत्त्व र आवश्यकतामाथि चर्चा गर्दै थापाले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने दाबी गरे । राप्रपा नेपालबारे धेरै भ्रमहरु छरिएको भन्दै उनले प्रायोजित रूपमा बदनाम गराउने प्रयासविरुद्ध सचेत हुनुपर्ने बताए ।
बैठकले आगामी असार १८ गते काठमाडौंमा जनवर्गीय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा संगठनका प्रमुखहरूले संगठनका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।