मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २ बिहीबार
  • Wednesday, 08 January, 2025
अशोक स्वैन
२o७९ असार २ बिहीबार o८:२o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वन विनाशका सम्भावित विश्वव्यापी परिणाम

Read Time : > 2 मिनेट
अशोक स्वैन
नयाँ पत्रिका
२o७९ असार २ बिहीबार o८:२o:oo

नोभेम्बर २०२१ मा राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा एक सय ४१ मुलुकले वन तथा भू–उपयोगमा ग्लास्गो नेतृत्वको घोषणामा हस्ताक्षर गरेका छन् । घोषणामा वन फँडानी रोक्ने मात्रै नभई सन् २०३० भित्रै वनजंगल विनाशको क्षतिपूर्ति गर्ने प्रतिबद्धता जनाइएको छ । प्रतिबद्धताका बाबजुद यस वर्षको ग्लोबल फरेस्ट वाचको प्रतिवेदनले वन विनाश डरलाग्दो गतिले बढिरहेको जनाएको छ । विश्वले सन् २०२१ मै नेदरल्यान्ड्सको क्षेत्रफलबराबरको उष्ण क्षेत्रीय प्राथमिक वनक्षेत्र गुमाएको छ ।

विश्वको कुल वनक्षेत्र हाल चार अर्ब हेक्टरभन्दा बढी छ । प्रत्येक व्यक्तिसँग पाँच हजार वर्गमिटर वन परे पनि वन–जंगल हरेक मुलुक वा क्षेत्रमा समान ढंगले वितरण भएको छैन । विश्वको कुल वन–जंगलको आधा हिस्सा पाँच देश अर्थात् रुस, ब्राजिल, क्यानडा, अमेरिका र चीनमा छ । यदि अस्ट्रेलिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी), इन्डोनेसिया, पेरु र भारतलाई सूचीमा समावेश गर्ने हो भने वनले ओगटेको क्षेत्र ६६ प्रतिशत हुनेछ । विभिन्न नियमनका कारण हालका वर्षमा विश्वव्यापी वन विनाश घट्दै छ । सन् २०१५ र २०२० बीच वन फँडानीको दर प्रतिवर्ष एक करोड हेक्टर हुने अनुमान गरिएको छ, जुन सन् १९९० को वन फँडानी दर एक करोड ६० लाख हेक्टरभन्दा कम हो । यसबाहेक वनक्षेत्रलाई कानुनी सुरक्षा दिने गरी विश्वका करिब ७० करोड हेक्टर वनलाई राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र वा गेम रिजर्भ तोकिएको छ ।

कतिपय मुलुकमा घटे पनि विश्वका धेरै क्षेत्रमा वन विनाशको दर अझै भयावह रूपमा उच्च छ । विगत तीन दशकमा विश्वले पहिल्यै ४२ करोड हेक्टर वन गुमाइसकेको छ । अत्यधिक वन विनाश हुने मुलुकमा प्रायः ब्राजिल, डिआरसी, इन्डोनेसिया, एंगोला, तान्जानिया, पाराग्वे र म्यानमार पर्छन् । दक्षिणी गोलार्धका अधिकांश क्षेत्रमा वन भयावह रूपमा काटिएका वा जलाइएका छन् । विगत ५० वर्षमा एमेजनले आफ्नो हरियो आवरण १७ प्रतिशतभन्दा बढी गुमाएको छ र यसको मुख्य कारण चौपाया पालन हो । उष्ण क्षेत्रमा प्रत्येक एक मिनेटमा ३० फुटबल मैदानबराबरका रुख मासिँदै छन् ।

विश्वको जैविक विविधताको ठूलो हिस्सा वन पारिस्थितिक प्रणालीमा पाइन्छ । वनमा रुखबाहेक विभिन्न प्रकारका बोटबिरुवा, जनावर र सूक्ष्मजीव हुन्छन् । करिब ६० हजार रुख प्रजातिमध्ये २० हजारभन्दा बढी प्रजातिका रुख आइयुसिएनको खतराको सूचीमा समावेश छन् । आठ करोड ६० लाख मानिसले वनबाट प्रत्यक्ष रोजगारी पाउँछन् र धेरैको जीविका निर्वाहमा वनको भूमिका हुन्छ ।
 

चरम गरिबीमा रहेका ९० प्रतिशतभन्दा बढी मानिस विशेषतः आदिवासीलाई वनले कम्तीमा पनि आम्दानीको एक हिस्सा दिन्छ । विश्वभर एक अर्ब २५ करोड मानिस आश्रय, पानी, इन्धन र खाद्यान्नमा पहुँचका लागि वनमा निर्भर छन् । वन विनाशले पानीको चक्रमा बाधा पुर्‍याउँछ, माटोको क्षय निम्त्याउँछ, थप बाढी निम्तिन्छ र दसौँ लाख मानिसको दैनिकी प्रभावित हुन्छ ।

यसबाहेक जलवायु परिवर्तनले पृथ्वीको अस्तित्व खतरामा छ र वन फँडानीले यस प्रक्रियालाई गति दिन्छ । वन फँडानीपछि रुखले भण्डारण गरेको कार्बन बाहिर निस्किन्छ । मानवीय कारणले वार्षिक रूपमा निस्किने कार्बन डाइअक्साइडको सात गुणाभन्दा बढी मात्रा अर्थात् दुई सय २८ देखि दुई सय ४७ गिगाटन उष्ण क्षेत्रका वनमा भण्डारण हुन्छ ।

जलवायु प्रकोपको सामना गर्न विश्वलाई वन–जंगलको चर्को आवश्यकता छ । दुर्भाग्य, दक्षिणी गोलार्धका मुलुकसँग कृषि उत्पादन बढाउन थप वन फँडानीको विकल्प निकै कम छन् ।  

यी हरित क्षेत्र घट्दा ग्रहको कार्बन अवशोषण कम हुन्छ । हरितगृह ग्यास उत्सर्जनको करिब १५ प्रतिशत वन विनाश र वन विकृतिले हुन्छ । वन फँडानीले वातावरणमा कार्बन थप्नुका साथै स्थानीय जलवायुका भौतिक प्रक्रियालाई असर गर्छ । हालैको एक अध्ययनअनुसार व्यापक वन फँडानीले एसिया, युरोप र उत्तर अमेरिकामा वर्षको सबैभन्दा गर्मी दिनमा तापक्रम तीव्रतासाथ वृद्धि भएको छ । औद्योगिक क्रान्तिको सुरुवातमै आफ्नो वनको १५ प्रतिशत भाग गुमाइसकेका क्षेत्रमा दैनिक तापक्रम वृद्धिको एकतिहाइ हिस्साका लागि वन फँडानी जिम्मेवार छ ।

विश्व वन विनाशको गम्भीर समस्यासँग जुधिरहेको छ भन्नेमा दुईमत रहेन । विश्व जनसंख्या बढ्दै जाँदा खाद्यान्न, इन्धन र जग्गाको माग पनि बढ्दै गएपछि व्यापक वन फँडानी हुन्छ । महामारीका समयमा विश्वव्यापी अर्थतन्त्रमा गिरावट आए पनि वन विनाश भने बढ्यो ।मुख्य उष्णक्षेत्रका वन–जंगल मूलतः फँडानी भए, तर समशीतोष्ण क्षेत्रमा अभूतपूर्व डढेलोले ठूलो मात्रामा वनको क्षति गर्‍यो । सन् २०२० मा क्यालिफोर्नियामा मात्र १६ लाख हेक्टर वन डढेलोमा पर्‍यो । राष्ट्रपति जो बाइडेनले यही २२ अप्रिलको पृथ्वी दिवसमा विश्वव्यापी वन फँडानीको सामना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यद्यपि हस्तक्षेपका बाबजुद प्रयास सफल हुने सम्भावना छैन किनभने विश्वले युक्रेन द्वन्द्वका कारण अतुलनीय खाद्य संकटको सामना गरिरहेको छ । खाद्यान्न अभावलाई सम्बोधन गर्न धेरै देशले आफ्नो कृषि गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । 

ऐतिहासिक कालदेखि कृषिको वृद्धि वन विनाशको मुख्य कारण हो । विद्यमान खाद्य संकटले मुलुकहरूलाई थप वनक्षेत्रलाई खेतबारीमा रूपान्तरण गर्न प्रोत्साहन गरेको छ । खेतीयोग्य जमिन बनिसकेपछि वनको पुनरुत्थान दुर्लभ छ । जलवायु प्रकोपको सामना गर्न विश्वलाई वन–जंगलको चर्को आवश्यकता छ । दुर्भाग्य, दक्षिणी गोलार्धका मुलुकसँग कृषि उत्पादन बढाउन थप वन फँडानीको गर्नुको विकल्प छैन । 
गल्फ न्युजबाट (स्वैन स्विडेनस्थित उप्सला विश्वविद्यालयका पिस एन्ड कन्फ्लिक्ट रिसर्चका प्राध्यापक हुन्)