मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बोक्सीको आरोपमा निर्घात कुटिएकी जलेश्वर नगरपालिका-६ धवौली निवासी ५३ वर्षीया कालो देवीको अस्पतालमा उपचार हुँदै
२०७९ जेठ २९ आइतबार १०:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट

Read Time : > 1 मिनेट
२०७९ जेठ २९ आइतबार १०:५३:००

महोत्तरीमा दुई महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका- ६ धवौलीनिवासी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सीको आरोपमा एकजना स्थानीयकाे परिवारले लगाएको चोलोसमेत च्यातेर नांगेझार पार्दै निर्मम कुटपिट गरेका छन् । पीडित महिलाहरूलाई खुवाउन मलमूत्र घोलेर राखे पनि ती महिलाहरू मलमूत्र खानबाट भने जोगिएका छन्  । 

स्थानीय तलेवर राम र भुलन रामको परिवारले घरमा नयाँ बुहारी भित्र्याएका थिए । नयाँ बुहारीलाई बोक्सी लागेको आरोपमा दुई महिलालाई यसरी कुटपिट गरिएको हाे । 

महिलामाथि कुटपिट र ज्यान मार्ने प्रयास गरेको आरोपमा तलेवर रामका भाइ भुलन राम र तलेवरकी बुहारी सोमन देवी भन्ने सोमारी देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

गत जेठ २३ गते तलेवरराम चमारको घरमा दुलही भित्र्याइएको थियो ।  बेहुली घरमा प्रवेश गरेदेखि भूत लागेको भन्दै कालो देवीलाई भूत भगाइदिन भनेर तलेवर रामका परिवारले उनलाई घरमै बोलाएका थिए । 

कालो देवीले मलाई भुत भगाउन आउँदैन भनेपछि तलेवरकी बुहारी सोमारी देवी जिउमा देउता आएको भन्दै काम्न थालिन् । यसैले भूत लगाइदिएको भन्दै कालो देवीको कपडासमेत च्यातचुत पार्दै उनलाई परिवारका आठ–दशजनाको समूहले लछारपछार पार्दै कुटपिट गरे । निर्घात कुटपिटपछि कालोदेवी बेहोस भएकी थिइन् । बेहोस भए पनि उनलाई कुटपिट गर्न छाडिएन । 

निर्घात कुटपिटबाट घाइते भएकी कालो देवीकाे जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेकाे छ । उनको घाँटी थिचिएकाले बोल्न असहज भइरहेको र निको हुन अझै केही समय लाग्ने चिकित्सकले बताएका छन् ।

खेतमा घाँस काट्न गएकी दुलरिया कुटपिटबाट जोगिन  पोखरीमा हाम फालिन्

सोमारीले थप काम्दै सोही ठाउँकी दुलरिया देवीले समेत भूत लगाइदिएको आरोप लगाइन् । सोमारीको आरोपपछि परिवारका सदस्य दुलरिया देवी खोज्न हिँडे । खेतमा घाँस काट्न गएकी निर्दोष दुलरियालाई पनि सोमारीका परिवारले  छाडेनन् । उनलाई त्यहीँ लछारपछार पार्दै नांगो पारेर कुटपिट गरियाे । 

थप कुटपिटबाट जोगिन उनी नजिकै रहेको पोखरीमा हाम फालिन् ।  उनलाई पोखरीबाट समेत निकालेर घरमै ल्याएर कुटपिट गरिएको थियो ।  कुटपिटपछि दुलरीदेवी घाइते भएकी छिन् ।  उनी हाल घरमै औषधाेपचार गर्दै छिन् ।  

घटना गत जेठ २६ गते बिहान करिब ९ बजे भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनापछि थप आरोपी फरार रहेको एसपी पंगेनीले बताए । फरार भएकाको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ। महिलामाथि निर्घात कुटपिट गर्नेविरुद्ध २७ गते नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ ।