यसअघि कुष्ठरोगीलाई टीकाभैरवस्थित आनन्दवन अस्पताल पठाउने गरिएकामा अब त्यो बाध्यता हट्यो
देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल भए पनि कुष्ठरोगीको उपचार नभएकामा जनगुनासो बढेपछि टेकु अस्पतालले सबै प्रकारका सुविधासहित उपचार सुरु गरेको हो ।
एक दशकअघि नै नेपालमा कुष्ठरोगलाई जनस्वास्थ्यको समस्या नभएको घोषणा गरिए पनि १७ जिल्लामा अझै यो रोग देखिएको छ । उदयपुर, रूपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिराहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ ।
डा. शिवेन्द्रकुमार झा, कुष्ठरोग विशेषज्ञ
अब टेकुमै कुष्ठरोगीको उपचार गर्नुपर्छ भनेर सेवा सुरुवात गरेका हौँ । दुई वर्षमा टेकुमा एकजनाले मात्रै कुष्ठरोगको औषधि खाएका छन् । उनलाई पनि अस्पतालले आनन्दवन अस्पताल पठाएको थियो । तर, अब उपचार, औषधि, परीक्षण, भर्ना सबै टेकु अस्पतालमै हुन्छ ।
कुष्ठरोग विशेषज्ञ डा. शिवेन्द्रकुमार झाले संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेको बताए । उनले नेपाल–भारतको सीमा क्षेत्रमा कुष्ठरोगको कुनै खोजपडताल नभएको बताए । ‘सबैभन्दा पहिला रोगी पत्ता लगाउनुपर्ने चुनौती देखिएको छ । हामीले अब टेकुमै बिरामीको उपचार गर्नुपर्छ भनेर सुरुवात गरेका हौँ । दुई वर्षमा टेकुमा एकजनाले मात्रै कुष्ठरोगको औषधि खाएका छन् । उनलाई पनि अस्पतालले आनन्दवन अस्पताल पठाएको थियो । तर, अब भने उपचार, औषधि, परीक्षण, भर्ना सबै टेकु अस्पतालमै हुन्छ,’ उनले भने ।
टेकु अस्पतालले बिरामीको बायोप्सीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गरेको छ । ल्याब र केही स्वास्थ्यकर्मीलाई अस्पतालले तालिम दिइसकेको छ । हाल टेकु अस्पतालमा दश कुष्ठरोगीले औषधि खाइरहेका छन् । बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको चिकित्सकहरूको भनाइ छ । अझै पनि बिरामीले छोएको नखाने, बिरामी घरबाटै निकाल्ने प्रवृत्ति हट्न सकेको छैन । डा. झाका अनुसार शरीरमा फुस्रो र नदुख्ने दाग देखिनु यो रोगको प्रमुख लक्षण हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एकजना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । सन् २०२० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति थियो, तर त्यो पूरा हुन सकेन । कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख रवीन्द्र बास्कोटाले अहिले पनि प्रत्येक वर्ष २१ सय कुष्ठरोगका नयाँ बिरामी फेला परेको जानकारी दिए । उनका अनुसार उनीहरूले औषधि सेवन गरिरहेका छन् । सरकारको प्राथमिकतामा कुष्ठरोग निवारण नपरेकाले घोषणा गरिएको अभियान असफल भएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
के हो कुष्ठरोग ?
डब्लुएचओका अनुसार माइक्रोब्याक्टेरियम लेप्रे ब्याक्टेरियाबाट हुने कुष्ठरोग दीर्घकालीन संक्रामक रोग हो । यसको लक्षण देखिन २० वर्षसम्म लाग्न सक्छ । माइक्रोब्याक्टेरियम लेप्रेले बिस्तारै आफ्नो संख्या बढाउँछ । यो रोगले मुख्यतः छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ । यो रोग उच्च संक्रामक नभए पनि उपचार नगरिएका बिरामीको मुख र नाकबाट निस्किने पानीका स–साना थोपाका माध्यमले तिनको निरन्तर सम्पर्कमा आउने व्यक्तिमा सर्ने गर्छ । सबै उमेरसमूहकालाई हुन सक्ने कुष्ठरोग तीन सातादेखि ७० वर्षमाथिकामा समेत देखिएको छ ।
यसरी गर्न सकिन्छ उपचार
बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ । यो रोग बढी कीटाणु भएको मल्टी ब्यासिलरी (एमबी) र कम कीटाणु भएको पासी ब्यासिलरी (पिबी) गरी दुई प्रकारको हुन्छ । यस्तै, मल्टी ब्यासिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम खालको हुन्छ । यो सबैभन्दा सामान्य रूप हो । यसमा छालामा दाग टयुबरकुलाइड कुष्ठरोगमा जस्तै देखिन्छ । तर, त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ । एमबी भए एक वर्ष र पिबी भए ६ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । उपचार प्रक्रियामा आएर औषधि सेवन गरिरहेकाबाट यो रोग सर्दैन । बहुऔषधि उपचारको एक मात्रा औषधि सेवन गरेदेखि नै यसले शरीरमा भएको कुष्ठको ९९ प्रतिशत ब्याक्टेरियालाई निष्क्रिय बनाउने चिकित्सकहरू बताउँछन् ।