सत्तारुढ दल कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्। महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे। थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए।
‘पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारबाट हामीहरू किन्छौँ। त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च। आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटरमा जम्मा ६० पैसा मात्रै कट्ने हो। बाँकी त हाम्रो कर हो। पूर्वाधार कर हामीले घटायौँ। अरू पनि घटाएर भए पनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ। खपत कम गर्न प्रभावकारी कदम पनि हामीले चाल्नुपर्छ,’ सांसद थापाले भने।