मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Sunday, 22 December, 2024
मानस फिराक भट्टाचर्जी
२o७९ जेठ ११ बुधबार o७:४६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बुसको बोली चिप्ल्याइ अपराधको स्वीकारोक्ति 

इराकलाई युक्रेनसँग दाँज्नु वा एक मुलुकलाई अर्कोमाथि खप्ट्याउनु मुलुक र जनतालाई विशिष्टीकृत नभई सामान्यीकृत ढंगले व्यवहार गर्नु हो 

Read Time : > 2 मिनेट
मानस फिराक भट्टाचर्जी
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार o७:४६:oo

युक्रेन युद्धका सन्दर्भमा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले एक भाषणका क्रममा ऐतिहासिक अभिव्यक्ति चिप्ल्याएका छन् । उनले ‘इराकमा पूर्ण रूपमा औचित्यहीन र बर्बर आक्रमण गर्ने एक व्यक्तिको निर्णयले ‘मैले भन्न खोजेको युक्रेन हो है’ भन्ने व्यहोराको भाषण दिएका थिए । आफूले लज्जाजनक अभिव्यक्ति चिप्ल्याएलगत्तै उनले बिस्तारै ‘इराक पनि’ भने र अप्ठ्यारो परिस्थितिबाट उम्किन ‘म ७५ वर्ष पुगेँ नि !’ भन्ने भनाइ थपे ।

बुसको बोली चिप्ल्याइ ऐतिहासिक छ, किनभने यसले युद्ध, राष्ट्र र विश्वका केहीथरी नेताबारे धेरै बताउँछ । उनको भाषणले उनलाई ७५ वर्षको उमेरमा पनि एक प्रेतले तर्साइरहेको देखाउँछ । स्वाभाविक हो, युद्धको प्रेतले तर्साइरहन्छ, जब तपाईंले अरूविरुद्ध ‘औचित्यहीन र बर्बर’ युद्ध छेड्नुभएको हुन्छ ।        

युद्ध लरतरो सार्वभौम निर्णय होइन । शत्रु ठम्याउनु सार्वभौमसत्ताको सबैभन्दा विशेषाधिकार प्राप्त काम हो । यो अवस्था राज्यको उत्पत्तिपूर्वको परिस्थितिलाई चित्रण गर्ने क्रममा राजनीतिक दार्शनिक थोमस हब्सले ‘सबैले सबैको विरुद्ध युद्ध छेड्छन्’ भन्ने भनाइको ठीकविपरीत हुन जान्छ । यो युद्ध राज्यको उत्पत्तिपूर्वको परिस्थिति पार गरेको अवस्थामा एक राज्यले अर्को राज्यमाथि छेडेको युद्ध हो । राज्य हब्सले भनेको राज्यको उत्पत्तिपूर्वको परिस्थितिलाई रोक्नका लागि बनेको भन्ने गरिन्छ । यसो गर्नका लागि राज्यले राज्य र यसका जनताका नाममा युद्ध लड्ने निरपेक्ष शक्ति कायम राख्छ । अर्थात्, राज्यले विश्व व्यवस्था वा ‘विश्व शान्ति’ कायम राख्न युद्धको अधिकार आफूमा निहित राख्छ ।

सन् २००३ मा इराकविरुद्ध अमेरिका र सन् २०२२ मा युक्रेनविरुद्ध रुसले छेडेको युद्धलाई युद्ध लडेका नेताले ‘औचित्यहीन’ भनेर स्वीकार गरेका छन् । बुसको बोली चिप्ल्याइ फ्रायडियन स्लिप (अवचेतन अवस्थाको भावनाबाहिर निस्किनु) हो । यो फ्रायडियन स्लिप निश्चय नै अपराधको स्वीकारोक्ति हो । बुसको अवचेतन अवस्थामा इराक मौजुद छ, तर शत्रुका रूपमा छैन । इराक अपराधबोधका रूपमा मौजुद छ । बुसको शत्रु काल्पनिकीलाई तर्साउने प्रेत हो । बुसले सारा विश्वलाई सबै राजनीतिक एवं गैर–राजनीतिक शत्रु अन्ततः प्रेत बन्छन् भन्ने महŒवपूर्ण पाठ सिकाएका छन् । किनभने, युद्ध मृत्युको घोषणा हो, युद्धले प्रेतहरूको विश्व निर्माण गर्छ, जुन युद्धभन्दा दीर्घायु हुन्छ । यस सन्दर्भमा ‘प्रेत’का दुई अर्थ छन् । पहिलो, शत्रु मानवका रूपमा नभई संहार गर्नुपर्ने प्रेत हुन्छ र दोस्रो, जब शत्रु (मानव) मर्छ, तब शत्रु अवचेतन अवस्थामा मृत्युलाई जितेको प्रेत बन्छ ।

यस अर्थमा युद्धले प्रेतको निर्माण गर्छ । युद्धको विचारधारामा शत्रुलाई अत्यन्त खतरनाक मानिन्छ र यसको अस्तित्वलाई विश्वास गरिँदैन, तसर्थ शत्रु बाँच्नयोग्य हुँदैन । युद्धको वैचारिकीबाट हेर्ने हो भने शत्रु एक गैरमानव राक्षस हो र शत्रुका खिलाफ गरिने सबै प्रोपगान्डा जायज हुन पुग्छ । राजनीतिमा प्रोपगान्डा युद्धको एक हतियार हो । जसले अरूलाई दुष्ट बनाउँछ, त्यही नै इतिहासको वास्तविक दुष्ट हो । र, दुष्ट व्यक्ति होइन, व्यवहार हो । 

बुसको स्वीकारोक्तिमा एक विचलित बनाउने भुल छ । इराकलाई युक्रेनसँग दाँज्नु वा एक मुलुकलाई आर्कोमाथि खप्ट्याउनु मुलुक र जनतालाई विशिष्टीकृत नभई सामान्यीकृत ढंगले व्यवहार गर्नु हो । एक युद्धलाई अर्को युद्धबाट भिन्न नदेखाउनु युद्ध विश्व व्यवस्थाका लागि चाहिने नियमित एवं सम्भव हुने अवस्था हो भन्ने जनाउनु हो, जहाँ पीडितको पीडा एउटै हो भन्ने अर्थ लाग्छ । हरेक मुलुकले भिन्न युद्ध व्यहोर्छन् र हरेक मुलुकका जनताको पीडालाई तुलना गर्न मिल्दैन । 

आधुनिक युरोप युद्ध र उपनिवेशवादको जगमा खडा भए पनि युरोपेलीमाझ अहिलेको युक्रेन युद्धले उग्र–विस्मय र आक्रोश पैदा गरेको छ किनभने एक श्वेत युरोपेली मुलुकले अर्को श्वेत युरोपेली मुलुकविरुद्ध लडाइँ लडिरहेको छ । तर, यही उग्र–विस्मय इराक वा अफगानिस्तान वा प्यालेस्टाइनका सन्दर्भमा खट्किन्छ ।

तसर्थ, बुसले भनेझैँ एक मुलुकलाई अर्को मुलुकमा खप्ट्याउन मिल्दैन । इराक युक्रेन होइन । इराक एकदमै पृथक् छ र इराकको अस्तित्व पश्चिमा काल्पनिकीको नश्लीय एवं राजनीतिक परिधिबाहिर रहेको छ । यस भिन्नतालाई बुसको बोली चिप्ल्याइले नामेट पार्छ । उनको अवचेतन स्वीकारोक्तिले युद्ध र पीडितको अतुलनीयताबारेको अत्यन्त अक्षम बुझाइ दर्साउँछ । विश्वलाई युद्धका चोटसम्बन्धी अविस्मरणीय कविता दिने इराकी कवि सिनान अन्तुन बुसको बोली चिप्ल्याइमा दर्शकदीर्घाले हाँसेको सन्दर्भमा ‘नरसंहार वा बर्बरता ब्युँताउने फ्रायडियन स्लिपले दर्शक–दीर्घालाई हँसाइरहेको छ । उपनिवेशीबीच सब ठीकठाक छ’ भन्दै ट्विट गरेका थिए । त्रासदीपूर्ण युद्ध व्यहोरेका मानिसका लागि अमेरिकी दर्शकलाई हँसाउने बुसको अभिव्यक्ति अपमान हो । युद्धका सन्दर्भमा चिप्लिएको बोली ठट्टा होइन । 

बुसको बोली चिप्ल्याइ एक न एक दिन अवचेतन अवस्थाबाट बाहिर निस्कनु नै थियो । बुसको मानसिकतालाई युद्धका प्रेतले घेरेको थियो । यो बोली चिप्ल्याइको ऐतिहासिक, राजनीतिक एवं नैतिक अर्थ हामीलाई अवगत भएको विषयतर्फ नै डोर्‍याउँछ, अर्थात् युद्ध सार्वभौम राज्यहरूको एक खेल हो, जहाँ हब्सको राज्यको उत्पत्तिपूर्वको परिस्थितिको ‘सबैले सबैका विरुद्ध’ युद्ध फेरिएर ‘केहीका विरुद्ध’को युद्ध बनेको छ । शत्रुको आविष्कार प्रायः राष्ट्रबीच भन्दा पनि राष्ट्रभित्रै हुने गर्छ । यो शत्रु जन्माउने विचारले आधुनिक विश्वलाई ध्वस्त बनाउने कठोर सामथ्र्य राख्छ । द वायरबाट