उदयपुरको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको विवाद नटुंगिँदा पुनः मतदान कि मतगणना भन्ने विषय नै अन्योलमा परेको छ । निर्वाचन आयोगले दुईमध्ये एकमा पुनः मतदान कि मतगणना सुरु गर्ने भन्ने विषयमा निर्णय नलिँदा अन्योल देखिएको हो ।
उदयपुरका आठमध्ये ६ स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । कटारी नगरपालिकामा मतगणना जारी छ । तर, त्रियुगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन । त्रियुगामा निर्वाचनका लागि सहभागी भएका दल तथा उम्मेदवारहरू पनि दुई समूहमा विभाजित भएका छन् । एक समूह पुनः मतदान गराउनुपर्ने र अर्को खसेको मतलाई आधार मानेर मतगणना सुरु हुनुपर्ने पक्षमा छ ।
पुनः मतदानको पक्षमा रहेका प्रदेश सभा सदस्य सुनीताकुमारी चौधरीलगायत दशजनाको समूहले मतदानको दिन मतदान गर्न नपाएको भन्दै उच्च अदालत विराटनगरमा पुनः मतदानको माग गर्दै रिट दायर गरेका छन् । त्रियुगा नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्कीले केही दिनअघि नै मतदान गराउने भए छिटो गराउन र मतगणना सुरु गर्ने भए छिटो गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
त्रियुगा नगरपालिका–१२ को मतदान विवादसम्बन्धी मुद्दा लम्बिने भएको छ । प्रदेश सांसद सुनीता चौधरीसहित त्रियुगा नगरपालिका–१२ का स्थानीयले पुनः मतदान गरिपाऊँ भनी दिएको रिटमा उच्च अदालतले सोमबार पनि अन्तरिम आदेश दिएन । उक्त मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ । दुवै रिटमा सोमबार उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश र अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाको इजलासले अन्तरिम आदेश दिने नदिने विषयमा छलफलमा झिकाउने आदेश दिएको हो । ६ जेठमा दायर रिटमा आफ्नो मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित भएकाले पुनः मतदान गराइपाऊँ भनी माग गरिएको छ ।