१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०६:१२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं महानगरको मतगणना सकिन अझै एक साता लाग्ने

आठ दिनमा आधा मत मात्रै गणना

Read Time : > 2 मिनेट
हिमाल पौडेल, काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०६:१२:००

हिलेसम्म १२ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा सातवटा वडामा एमाले र पाँचवटामा कांग्रेसले विजयी हासिल गरेका छन्

अधिकांश पालिकाको मतपरिणाम आइसक्दा पनि काठमाडौं महानगरको मतगणनामा कहिलेसम्म टुंगिन्छ भन्ने अझै अनिश्चित छ । गणनाको गति यति सुस्त छ कि ३२ वटा वडा रहेको महानगरमा शनिबार रातिसम्म १२ वडाको मात्र नतिजा आएको छ । 

तीन लाख दुई सय ४२ मतदाता रहेको महानगरमा ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नौ सय ५६ मत खसेको थियो । औसतमा दैनिक १२ हजार पाँच सय मतगणना भएको छ । *शनिबार रातिसम्म ९५ हजार ६ सय ७४ मत मात्रै गणना भएको छ । थप ९५ हजार २ सय ८२ मत गणना हुन बाँकी छ । अहिलेकै अवस्थामा सबै मतगणना सकिन एक साता लाग्छ । 

सुस्त मतगणनाबाट गणक मात्र होइन, उम्मेदवार, दलका प्रतिनिधि र परिणाम कुरेर बसेका मतदातासमेत थाकिसकेका छन् । तर, जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले आइतबार बिहानसम्ममा एक लाख गणना सकिने बताए । 

सुरुवाती चरणमा ६ स्थानबाट गरिएको भए पनि त्यसलाई बढाएर हाल नौ स्थानबाट गणना गरिएको छ । ३२ वटा वडामध्ये शनिबारसम्ममा १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ गरी जम्मा १२ वडाको मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आइतबार बिहानसम्म थप सातवटा वडाको नतिजा आउन सक्ने जनाएको छ ।

हाल मतगणना भइरहेका ७, ९, १०, २५, २६ र २७ नम्बर वडाको नतिजा आइतबार बिहानसम्म आउने आयोगको दाबी छ । ११ देखि २४ वडासम्मको अर्थात् १४ वटा वडाको गणना बाँकी रहनेछ । 

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले मतपत्रको आकार ठूलो हुँदा गणनामा ढिलाइ भएको बताए । उनका अनुसार दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवार धेरै भएकाले गणनाका क्रममा सबै उम्मेदवारका प्रतिनिधिको सहमति लिनुपर्ने भएकाले पनि गणनामा ढिलाइ भएको हो । 

तुलनात्मक रूपमा अन्य महानगरमा भन्दा काठमाडौंको मतगणना छिटो भएको उनको दाबी छ । ‘अन्य महानगरको तुलनामा काठमाडौं महानगरको गणना छिटो हो । उदाहरणका लागि ललितपुर महानगरको जम्मा १९ लहरको मतपत्र हो । तर, काठमाडौंमा ६४ लहरको मतपत्र छ,’ उनले भने, ‘दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवारको गणना गर्दा निकै होसियारीका साथ गर्नुपर्ने हुन्छ । निर्वाचन अधिकृतको कार्यालयको कमजोरीका कारण मतगणना ढिलाइ भएको होइन ।’

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले ०७४ कै गल्ती दोहोरिएको सुनाए । ‘०७४ को स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मतगणना सुस्त थियो । यसपालि पनि त्यो गल्ती दोहोरियो,’ उनले भने, ‘अब यस्तो हुन नदिन ऐन नै संशोधन गरेर मेयर र उपमेयरको छुट्टै मतपत्र बनाउनुपर्छ र वडाको मतगणना वडामा नै गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । छिटो मतपरिणाम दिन यही नै उत्तम विकल्प हुने देखिन्छ ।’

अहिलेसम्म १२ वडाको नतिजा, कुन दलले कति वडा जिते ?
अहिलेसम्मको मतपरिणामअनुसार सातवटा वडामा एमाले र पाँचवटामा कांग्रेसले विजयी हासिल गरेका छन् । एमालेले १, २, ३, ४, ५, ३१ र ३२ वडामा तथा कांग्रेसले ६, ८, २८, २९ र ३० नम्बर वडामा जित निकालेका छन् । ०७४ मा ३२ वडामध्ये एमाले १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ गरी १८ वडामा विजयी भएको थियो । बाँकी १४ वटा वडामा कांग्रेसले जितेको थियो । त्यसवेला मेयर एमाले र उपमेयर कांग्रेसले जितेका थिए । 

बुढीगंगा र त्रियुगाको विवाद समाधान भएन
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु हुन सकेको छैन । दुवै पालिकामा राजनीतिक दलहरूबीचको विवादका कारण मतगणना सुरु हुन नसकेको सहप्रवक्ता अर्यालले बताए ।

विवाद देखिएपछि बुढीगंगामा निर्वाचन आयुक्त सगुनशमशेर राणा संयोजकत्वको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको र त्रियुगामा आयुक्त रामप्रसाद भण्डारी संयोजकत्वको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बनाउने काम भइरहेको उनले बताए ।

‘दुवै पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ । दलहरूबीचको विवादका कारण मतगणना सुरु नभएको हो । आयुक्तजीहरूको टोलीले बनाएको प्रतिवेदनका आधारमा आयोगले छिट्टै यसबारे निर्णय गर्छ,’ उनले भने । 

(* काठमाडौं महानगरको गणना भएको मत ९५ हजार ६ सय ७४ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ - सम्पादक)