
दाङमा जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् ।
१० स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन्। तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ ।
नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत देखिएको हो । कांग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजय हासिल गरेको छ । ११ मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ।
लमही नगरपालिकासहित दंगीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बंगलाचुली र गढवामा उपप्रमुख मात्रै जितेको छ ।
एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ। घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको छ। जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।