मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २० मंगलबार
  • Tuesday, 06 December, 2022
डा. केदार कार्की
२०७९ जेठ ५ बिहीबार ०६:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

कृषि रसायनबाट प्रदूषित हुँदै पर्यावरण र जनस्वास्थ्य

कीटनाशक प्रयोग गर्दा हामीले बोटबिरुवा नष्ट गर्ने किरा–फट्यांग्राका साथमा तिनका शत्रुजीवको पनि नाश गरिरहेका छौँ

Read Time : > 2 मिनेट
डा. केदार कार्की
२०७९ जेठ ५ बिहीबार ०६:०६:००

कृषि क्षेत्रमा प्रयोग गरिने रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदूषित गरिरहेको छ । सबैभन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी विषालु रसायन फलफूल, तरकारी, अन्न, दाल, मसला, खाने तेल, दूध, फुल मासु, पानी सँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान   पुर्‍याउँछ ।
सामान्यतया यो विश्वास गरिन्छ कि रासायनिक मल एवं कीटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ र उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ ।

सरकारले पनि किसानलाई वैज्ञानिक तरिकाले खेती गर्न सल्लाह दिन्छ, तर यो वैज्ञानिक खेतीको अर्थ मात्र रासायनिक मल र कीटनाशकको प्रयोगसम्ममै सीमित होस् । अमेरिकामा गरिएको एक अनुसन्धानले कीटनाशक रसायन बोटबिरुवा, तरकारी तथा फलफूलमा छर्किंदा यसको शून्य दशमलव एक प्रतिशत मात्रा मात्रै सही लक्ष्यसम्म पुग्ने, शेष ९९ प्रतिशत रसायनले पर्यावरणलाई प्रदूषित गराउने उल्लेख छ । हाम्रो देशमा खेतिपातीका लागि प्रतिवर्ष १० करोड रुपैयाँको २.५ लाख टन पेस्टिसाइडको प्रयोग हुने गरेको अनुमान छ । रासायनिक वस्तुको प्रयोगबाट मात्र होइन, बरु खाद्य पदार्थमा गरिने मिसावटले मानवीय स्वास्थ्यका लागि गम्भीर चुनौती बढाइरहेको छ । 

तरकारीमा विषालु रसायनको प्रयोग दिनप्रतिदिन बढ्दो छ । एक आकलनअनुसार वर्तमानमै हामी दैनिक ०.५ मिलिग्राम विष लिइराखेका छौँ । परवर रंग्याइएको छ, तरकारीको आकार चाँडै ठूलो पार्न त्यसमा अक्सिटोसिन इन्जेक्सन लगाइन्छ । यसको प्रयोग लहरे तरकारी लौका, फर्सी, काँक्रो, घिराँैलामा सबैभन्दा बढी गरिन्छ । जसले गर्दा तरकारीको लम्बाइ, चौडाइ चाँडै बढ्छ र किसानले बढी मुनाफा कमाउँछन्, नत्र तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका किन देखिन्थे होला र ? बासी तरकारीलाई मैलाथियानको झोलमा १० मिनेटसम्म डुबाएर राखिन्छ, जसले गर्दा तरकारी २४ घन्टासम्म ताजै रहन्छ । यसको प्रयोग भिन्डी, काउली, खोर्सानी, परवर, लौका, बन्दा, गोभी आदिमा गरिन्छ । रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले अन्न, तरकारी, दूध र पानीजस्ता मानवजीवनका मुख्य आधार तत्व नै विषाक्त बन्दै गएका छन् । 

आजभोलि हृदयाघात, मधुमेह, रक्तचाप एवं अन्य कैयौँ प्रकारका बिमारी सामान्य बन्दै गएका छन् । यसको एउटा ठूलो कारण उपभोग्य वस्तुमा रासायनिक तŒवहरूको अधिकता नै हो । गहुँबालीमा रासायनिक उर्वरकहरूको प्रयोग बढ्नाले रोटीमा पनि उर्वरकहरूको अवशेष बढ्दो छ । यसैकारणले गर्दा कृषि रसायन शरीरमा रगतसँगै बगिराखेको छ । यसको प्रमाण पन्जाबको भटिन्डा र मुक्तसर जिल्ला हुन्, जहाँका ग्रामीण बासिन्दाको रगत परीक्षण गर्दा रगतमा १३ किसिमका कीटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ । हाम्रो आफ्नो परिवेशमा कृषि सामग्री संस्थानले म्याद सकिएका कीटनाशक अमलेखगन्जमा लामो समय भण्डारण गर्दा त्यस भेगका जनसमुदायको रगतमा कीटनाशकहरूको अवशेष भेटिएको प्राज्ञिक अभिलेख छ । 

रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले अन्न, तरकारी, दूध र पानीजस्ता मानवजीवनका मुख्य आधार-तत्व नै विषाक्त बन्दै गएका छन्
 

विश्वबैंकद्वारा गरिएको अध्ययनअनुसार विश्वमा २५ लाख मानिस प्रतिवर्ष कीटनाशकको दुष्प्रभावको सिकार हुने गर्छन् । त्यसमध्ये करिब पाँच लाख मानिसको ज्यानै जान्छ । कीटनाशक प्रयोग भएको गहुँको लामो समयसम्मको प्रयोगले हृदयाघात र कलेजोसम्बन्धी बिमारी हुन सक्छ । सघन रूपमा उखु लगाइएका क्षेत्रका बालिकामा सात वर्षकै उमेरमा महिनाबारी हुने, कुखुराको अन्डाको बोक्रा पातलो हुने जस्ता समस्या देखिन थालेका छन् ।

डिडिटीको अत्यधिक प्रयोगले यौनजन्य परिवर्तनका लक्षण देखिन थालेका छन् । यस्ता रसायनले हाम्रो अनुवांशिकताको बाहक क्रोमोजोममा अवस्थित जिनहरूको संरचनामा अवाञ्छित परिवर्तन गराउँछन् । रासायनिक उर्वरक कीटनाशक, ढुसीनाशक, झारपात नाशक रसायन उपयोगका दौरान सम्पर्कमा आउनाले ती किसानका आँखा, नाक, छाला र वीर्यमा पुगेर त्यसको पिएच भ्यालु कम गरी त्यसलाई अम्लीय बनाउँछ तथा प्रतिएमएल वीर्यमा शुक्राणुको संख्या ७.५ करोडबाट घटेर ४.४ करोडसम्म रहेको देखिन्छ । यसले प्रभावितको प्रजनन क्षमतामाथि नराम्रो प्रभाव पार्छ ।

कृषि रसायनको भरपूर प्रयोग गर्ने फार्म तथा त्यसको नजिक बसोबास गर्ने केटाकेटीको बौद्धिक स्तर फार्मभन्दा टाढा बसोबास गर्ने केटाकेटीको भन्दा धेरै कमजोर हुन्छ । वृद्धहरूमा बिर्सिने रोग अलजाइमरको सम्बन्ध पनि कृषि रसायनसँगै जोडिएको पाइन्छ ।

 हामीले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ । हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ अर्थात् मात्र एक किसिमको बाली नलगाई खेतबारीमा एकै समयमा धेरै किसिमका बाली लगाउनुपर्छ । जैविक विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पाददकत्व बढाउन र किराफट्यांग्रा नियन्त्रण गर्न सघाउँछ । जहाँसम्म सम्भव हुन्छ, खेतीमा दलहन, कपास, धान, गहुँजस्ता बालीनाली मिलाएर लगाउनु उपयुक्त हुन्छ । दलहन बाली नाइट्रोजन आपूर्तिमा सहायक हुन्छ । एउटै बाली पनि एकै प्रजातिको नभई भिन्नभिन्न प्रजातिको लगाउनुपर्छ ।

बालीनाली चक्रमा वेला–वेलामा परिवर्तन गर्नुपर्छ । एकै किसिमको बाली पटक–पटक लगाउँदा माटोबाट आवश्यक तत्व क्षय भई केही विशेष प्रकारका किरा–फट्यांग्रा र झारपातले उम्रिने मौका पाउँछन् । कीटनाशक प्रयोग गर्दा हामीले बोटबिरुवा नष्ट गर्ने किरा–फट्यांग्राका साथमा तिनका शत्रुजीवको पनि नाश गरिरहेका हुन्छौँ । त्यसैले, समयमै सचेत बनौँ र कीटनाशकको प्रयोग रोकौँ ।
 (डा. कार्की सेवानिवृत्त वरिष्ठ पशु–चिकित्सक हुन्)