पछिल्लो समय हाम्रो समाजमा लागुपदार्थको प्रयोग बढ्दै गएको देखिन्छ । समाजमा लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायले यसको न्यूनीकरणमा काम गर्दै आएका भए पनि यसको प्रयोग झन्–झन् बढ्दो क्रममा रहेको छ ।
लागुपदार्थ के हो ? : मानिसको मस्तिष्कलाई प्रभावित पार्ने वा हाम्रो सोच्ने र सम्झने शक्तिलाई विकृत तुल्याई बानी र व्यवहारमा परिवर्तन ल्याइदिने कुनै पनि पदार्थलाई लागुपदार्थ भनिन्छ । माथिको परिभाषालाई हेर्ने हो भने कुनै यस्तो पदार्थ, जसले हाम्रो मस्तिष्कलाई नै परिवर्तन गरिदिन्छ, त्यसलाई लागुपदार्थ भन्न सकिन्छ । सामान्य मान्छेले यसको प्रयोग गर्दा असामान्य बन्छ । उसको सोच्ने तरिका र गर्ने व्यवहार असामान्य हुन्छ ।
लागुपदार्थको प्रयोग के हो ? : मानिसको उमेरसँगै उसको शारीरिक, मानसिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ । उमेरअनुसारको कुतूहल र उत्सुकताका कारण धेरै युवा लागुपदार्थको दलदलमा फसेका पाइन्छन् । कुनै उद्देश्य प्राप्तिको बहानामा मान्छे लागुपदार्थको प्रयोगमा फसेको छ । तनाव, चिन्ता, असफलता, विभिन्न समस्या एवं यस्ता समस्याबाट आफू शारीरिक र मानसिक रूपमा मुक्त हुने नाममा गरिने नशाजन्य पदार्थको प्रयोग नै लागुपदार्थको प्रयोग हो । कुनै पनि व्यक्तिले दुव्र्यसनी बन्छु भनेर लागुपदार्थको प्रयोग गरेको हुँदैन । तर, लागुपदार्थलाई निरन्तरता दिँदै जाँदा शारीरिक र मानसिक रूपमा ऊ लागुपदार्थमै निर्भर हुन पुग्छ ।
निर्भरता के हो ? : लागुपदार्थलाई निरन्तर प्रयोग गर्दै जाँदा शरीरमा एक प्रकारको सहने क्षमताको विकास हुँदै जान्छ । अर्थात् आज दुई ग्राम लागुपदार्थमा लठ्ठिने मानिसलाई तीन महिनापछि त्यतिले पुग्दैन । उसको शरीरले लागुपदार्थलाई पचाउन र सहन गर्न थाल्छ । यस्तो अवस्थामा ऊ शारीरिक र मानसिक रूपमा लागुपदार्थमै निर्भर रहन्छ । परिणामस्वरूप लागुपदार्थविना उसको दैनिक जीवन सामान्य अवस्थामा व्यतीत गर्न नसक्ने हुन्छ । यो नै निर्भरताको अवस्था हो ।
लागुपदार्थ प्रयोगका कारण : लागुपदार्थ सेवन गर्नुका पछाडि सीमित नभई धेरै कारण हुन्छन् । अनुसन्धानले देखाएअनुसार ती कारण निम्नानुसार छन् :
(क) दौँतरी दबाब : अधिकांश युवा साथीको संगतका कारण लागुपदार्थमा फसेको देखिन्छ । साथीले गरेको आग्रहलाई नकार्न नसक्नु नकारात्मक कुराप्रति प्रेरित हुनु र आफूलाई अरूभन्दा भिन्न देखाउन खोज्नुजस्ता कारणले युवाहरू लागुपदार्थको दलदलमा फसेको पाइन्छ ।
(ख) उत्सुकता र परीक्षण : उमेरअनुसार मानिसको व्यवहार र सोचाइमा परिवर्तन आउँछ । उमेरअनुसार नयाँ कुरा परीक्षण गर्न मन लाग्नु स्वाभाविक हो । यो चिज कस्तो हुन्छ होला भनेर जिज्ञासा राख्ने र प्रयोग गर्ने आत्मविश्वास बढ्छ । कि रमाइलो हुन्छ कि समस्या र पीडाबाट मुक्त भइन्छ भन्ने सोच र कुतूहलका कारण युवाहरू लागुपदार्थमा फसेको पाइन्छ ।
जोखिममा रहेका समूहलाई लागुपदार्थको प्रयोगसम्म पुग्न नदिनु, यसको लतमा फसेको व्यक्तिलाई उपचारको पहुँचसम्म पु¥याउनु र उसलाई ज्ञान, सीप तथा क्षमतासहित समाजमा पुनस्र्थापित गर्नु नै लागुपदार्थबाट मुक्त हुने उपाय हो
(ग) पारिवारिक वातावरण : केही युवा पारिवारिक वातावरणले गर्दा पनि लागुपदार्थमा फसेको पाइन्छ । जस्तो– परिवारमा असमझदारी तथा कलहको वातावरण हुनु, परिवारबाट एक्लो हुनु तथा परिवारका अन्य सदस्यले पनि लागुपदार्थ सेवन गर्नुजस्ता कारणबाट पनि युवाहरू यसको दलदलमा फसेको पाइन्छ ।
वर्तमान अवस्था र समाधान : लागुपदार्थको वर्तमान स्थितिलाई हेर्दा विशेषगरी १४ देखि २४ वर्ष उमेर समूहका बालबालिकादेखि युवासम्म लागू पदार्थको दलदलमा फसेको देखिन्छ । लागुपदार्थ न्यूनीकरण गर्न राज्यले मात्र सम्भव छैन । यसका लागि हेरक समुदाय संघसंस्था र हरेक व्यक्ति आफैँ लाग्नुपर्छ । अनि मात्र हामी लागुपदार्थरहित सभ्य समाजको परिकल्पना गर्न सक्छौँ । अहिलेको प्रमुख आवश्यकता भनेको लागुपदार्थको उत्पादन, ओसारपसार र यसको मागलाई घटाउनु हो । यसका लागि राज्यबाट विभिन्न कार्यक्रम ल्याउन जरुरी छ ।
राज्यबाट लागुपदार्थ उपचार केन्द्रको स्थापना गरिनुपर्छ । सँगसँगै लागुपदार्थ दुव्र्यसनीबाट मुक्त भएकाहरूलाई सम्मानपूर्वक समाजमा स्वागत गर्नुपर्छ । प्रयोगकर्ताले लागुपदार्थ छोडिसकेपछि उसले आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने भनेर ऊसँग कुनै आधार हुँदैनन् । उनीहरूका लागि सीपमूलक तालिम र रोजगारीको वातावरण सिर्जना गर्नु पनि आवश्यक छ ।
ज्ञान, सीप र रोजगारीको अभावमा लागुपदार्थ प्रयोग गर्न छाडेका युवा पुनः लागुपदार्थमै फर्किएको नमिठो वास्तविकता हाम्रोसामु छ । जोखिममा रहेका समूहलाई लागुपदार्थको प्रयोगसम्म पुग्न नदिनु लागुपदार्थको लतमा फसेको व्यक्तिलाई उपचारको पहुँचसम्म पुर्याउनु र उसलाई ज्ञान, सीप र क्षमतासहित समाजमा पुनस्र्थापित गर्नु, राष्ट्र निर्माणमा अग्रसर गराउनु र लागुपदार्थको उत्पादन, ओसारपसार तथा सञ्चय गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।
(डा. कार्की वरिष्ठ पशुरोग विशेषज्ञ हुन्)