मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. केदार कार्की
२०७८ कार्तिक २४ बुधबार ०८:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वायु प्रदूषणका कारण र दुष्प्रभाव

Read Time : > 2 मिनेट
डा. केदार कार्की
२०७८ कार्तिक २४ बुधबार ०८:०८:००

प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर खरानी हुन्छ र यही खरानी जब हावामा मिसिन्छ प्रदूषण फैलिन्छ । दोस्रो सबैभन्दा ठूलो कारण आवादी बढ्नु हो ।

बढ्दो आवादीसँगै मानिसका आवश्यकता पनि बढ्छन् । खाद्यान्नदेखि सवारीसाधनसम्मको उपयोग बढ्छ । जसले गर्दा वातावरणमा तीव्र प्रदूषण बढ्छ र मानिस अनेकौँ रोगको सिकार बन्छ । वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ । अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ । प्रदूषणले ओजोन तहलाई पातलो गराउँछ । सवारीसाधन एवं कलकारखानाको चिम्नीबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । यसले वातावरण प्रदूषणमा मुख्य भूमिका निभाइरहेको छ । 

वायु प्रदूषणका आधार 
 

कार्बन मनोअक्साइड : यो एउटा अधकल्चो कार्बन हो जुन पेट्रोल, डिजेलजस्ता इन्धन एवं काठदाउरा बाल्दा उत्पन्न हुन्छ । यो सिगरेटबाट पनि उत्पन्न हुन्छ । यसले शरीरमा अक्सिजनको कमी गराउँछ, जसले गर्दा हामी निद्रामा अप्ठ्यारो अनुभूति गरिरहेका हुन्छौँ । 

कार्बन डाइअक्साइड : यो एक प्रकारको हरितगृह ग्यास हो । जुन कोइला, तेल एवं प्राकृतिक ग्यास जलाउँदा उत्पादन हुन्छ । 

क्लोरोफ्लोरो कार्बन : यो ओजोन नष्ट गर्ने खाले एक प्रकारको रसायन हो । जब यसलाई एयर कन्डिस्नर एवं रेफ्रिजेरेटरका लागि उपयोग गरिन्छ तब यसका कण हावामा मिसिएर हाम्रो वायुमण्डलको समताप मण्डलसम्म पुग्छ र अन्य ग्यासहरूसँग मिसिएर ओजोन तहलाई क्षति पुर्‍याउने गर्छ । ओजोन तहले जीवजन्तु एवं वनस्पतिलाई सूर्यको परावैजनी किरणबाट बचाउँछ । यही कारणले होला क्लोरोफ्लोरो कार्बन मानव एवं अन्य जैविक जगत्का लागि निकै घातक मानिन्छ । 

डिजेल, पेट्रोल, ब्याट्री पेन्ट एवं हेयर डाईमा सिसा पाइन्छ । सिसाले खासगरी बालबालिकालाई प्रभावित गर्छ । यसबाट मस्तिष्क एवं पाचनक्रिया खराब हुने गर्छ । यसको दुष्प्रभावले क्यान्सरसमेत हुन सक्छ । ओजोन तह वायुमण्डलमा समतापमण्डलको सबैभन्दा माथिल्लो तह मानिन्छ । यो एउटा विशेष एवं महत्वपूर्ण ग्यास मानिन्छ । यसको काम सूर्यका हानिकारक परावैजनी किरणलाई भूमिको सतहमा पुग्नबाट रोक्नु मानिन्छ । हाम्रा कलकारखानाबाट निस्कने हानिकारक ग्यासका कारण ओजोन सतहमा प्रभाव पार्छ । यस्तो ग्यासले गर्दा आँखामा पानी आउँछ, पोल्छ पनि । 

नाइट्रोजन अक्साइड : यसका कारणले धमिलो एवं अम्लीय वर्षा हुने गर्छ । यो ग्यास पेट्रोल, डिजेल एवं कोइला बाल्दा निस्कन्छ । यसबाट बालबालिकामा धेरैखाले रोगव्याधि देखिन्छन्, जुन जाडो मौसममा देखिन्छ । 

निलम्बित अभिकणीय पदार्थ : यो हावामा ठोस धुवाँ धूलोको कणका रूपमा रहेको हुन्छ, जुन एउटा खास समयसम्म रहिरहन्छ । जसले फोक्सोलाई नोक्सानी पु¥याउँछ एवं सास फेर्न गाह्रो हुन्छ । 

सल्फर डाइअक्साइड : जब कोइलालाई थर्मल प्लान्टमा जलाइन्छ त्यसबाट जुन ग्यास निस्किन्छ, त्यही हो सल्फर डाइअक्साइड । धातुलाई गलाउँदा एवं कागजलाई तयार गर्दा निस्कने ग्यासमा पनि सल्फर अक्साइड हुन्छ । यो ग्यासले तुवाँलो उत्पन्न गराउन एवं अम्लीय वर्षा गराउन अति सहयोगी मानिन्छ । सल्फर डाइअक्साइडका कारण फोक्सोजन्य रोगव्याधि लाग्ने खतरा बढेर जान्छ । 

पर्यावरणमा भइरहेको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । पर्यावरणमा प्रदूषण फैलाउने सबैखाले ग्यास तथा अन्य तत्वको न्यूनीकरण एवं नियन्त्रणमा हामी आफैँ सक्रिय बन्नुको विकल्प छैन ।

वायु प्रदूषणबाट कसरी बच्ने ? : सरकारले यस्तो नीति बनाओस् जसले गर्दा कर्मचारी घरैमा बसी काम गरून् । एक सातामा एक दिन कार्यालय आऊन् । अहिलेको सूचना प्रविधिका कारण यो सम्भव पनि छ । सकभर साइकलको प्रयोग बढी गरौँ । सार्वजनिक परिवहन सेवा उपयोग गरौँ । बालबालिकालाई निजी कारमा राखी स्कुल पुर्‍याउनुको साटो स्कुल पारवहन सेवामा जान प्रोत्साहित गरौँ । आफ्नो घरपरिवारले बाहिर निस्कनुपर्दा सकभर एउटै सवारीसाधन प्रयोग गरौँ । यसबाट इन्धनको खपत र प्रदूषण दुवै कम हुनेछ ।

आफ्नो घर वरिपरिका बोटबिरुवाको हेरचाह गरौँ । आवश्यक नपरेका वेला बिजुलीबत्ती नबाल्ने, कुलर, पंखा, एयर कन्डिस्नर आवश्यक परे मात्र चलाउने, अन्यथा बन्द राख्ने व्यवस्था गरौँ । घरआँगन र करेसाबारीका झारपात सुकेका छन् भने नबाल्नुहोस् बरु कम्पोस्ट मल बनाउनुहोस् । आफ्नो सवारीसाधनको प्रदूषण परीक्षण प्रत्येक तीन–तीन महिनामा गर्नुहोस् । केवल सिसामुक्त पेट्रोल मात्र प्रयोग गर्नुहोस् । बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुने गर्छ । त्यसैले, प्रदूषण बढी हुने वेला घरमै बस्नुस् । यति गर्न सके कोभिडजस्तो महामारीमा पनि लकडाउन गर्नैपर्छ भन्ने छैन । 

हिजो बचेका थियौँ र पो आज छौँ । आज बचे न भोलि रहौँला नत्र भोलि कसले पो देखेको छ र बाँचौँला । त्यसैले पर्यावरण प्रदूषित गराउने सबैखाले ग्यास तथा अन्य तत्वको न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी होऔँ, अरूलाई पनि अभिप्रेरित गरौँ । सरकारी निकायको काम त त्यही एउटा विज्ञापन निकाल्नु अनि सचेतनाका लागि वर्ष दिनमा वातावरण दिवस मनाउने प्रभातफेरी निकाल्नुसम्म त हो ।