मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Thursday, 19 December, 2024
डा. केदार कार्की
२o७८ मङ्सिर २० सोमबार १o:४४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ एवं जलसंकट

Read Time : > 2 मिनेट
डा. केदार कार्की
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १o:४४:oo

साबुनपानी प्रयोग गरी हात सफा राख्नुलाई कोरोना भाइरस संक्रमणबाट बच्ने एउटा प्रभावकारी उपाय मानिए पनि सबैका लागि स्वच्छ पानी उपलब्ध हुन नसकेको अवस्थामा वेलावेलामा हात धुनुचाहिँ कसरी ?


देशमा कोभिड–१९ को प्रलयकारी महामारीको प्रसारमाथि नियन्त्रणका लागि लागू गरिएको लकडाउनका वेला स्वच्छ सफा खानेपानीको उपलब्धता एवम् यसको व्यवस्थापन निकै नै चुनौतीपूर्ण देखिन्छ । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको स्वास्थ्य सचेतना, सुरक्षा निर्देशिकामा जनसमुदायले साबुनपानीले नियमित हात धुनुलाई कोभिड–१९ महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ ।

यसलाई मनन गर्ने एवम् कार्यान्वयन गर्ने हो भने देशका सबै जनसमुदायका लागि स्वच्छ एवम् पिउनयोग्य पानीको पर्याप्त उपलब्धताको सुनिश्चितता राज्यको दायित्व हो । तर, वर्तमानमा हाम्रो राज्य व्यवस्थापनको स्थिति हेर्दा आमनागरिक ढुक्क हुन सक्ने झिनो सम्भावनासमेत छैन । राजधानीलगायत घना बस्ती भएका सहरी क्षेत्रका जनता घुम्ती ट्यांकर, जार र बोतलबन्द पानीमै भर पर्न बाध्य छन् । 

आमजनताले प्रलयकारी कोभिड–१९ महामारीका वेला पनि स्वच्छ खानेपानी संकटसँग जुधिरहेका वेला संघ, प्रदेश र स्थानीय सरकारहरूले स्वच्छ खानेपानीको आपूर्ति बढाउने प्रयासलाई प्राथमिकता दिनुपर्छ । सरकारले समाजका कमजोर वर्ग, राहत शिविर, क्वारेन्टाइन केन्द्र, अस्पताल, वृद्धाश्रम एवम् सहरका सुकुम्बासी सहरका झुपडबस्तीमा बस्नेहरूका लागि विशेष ध्यान दिनुपर्ने हो । यसका लागि आवश्यक रसायनहरू, जस्तै– क्लोरिन चक्की, ब्लिचिङ पाउडर, सोडियम हाइपोक्लोराइट झोल र फिटकिरी, पोटास आदि वस्तु सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ ।  

यसवेला सामाजिक दूरी राख्ने नियम पालन गर्नका लागि जल आपूर्ति स्रोतहरू धारा, ट्यांकर आदि नजिक मानिसको संख्या बढ्न सक्ने, घुइँचो लाग्न सक्ने स्थितिमा खानेपानी आपूर्तिको समय बढाउनुपर्ने हुन्छ । ग्रामीण क्षेत्रहरूमा टेस्ट कीट उपलब्ध गराएर जलस्रोतको नियमित जाँच गर्ने अनि चौबीसै घन्टा खानेपानी आपूर्ति गर्नुपर्ने अवस्था छ । साबुनपानी प्रयोग गरी हात सफा राख्नुलाई कोरोना भाइरस संक्रमणबाट बच्ने एउटा प्रभावकारी उपाय मानिए पनि सबैका लागि स्वच्छ पानी उपलब्ध हुन नसकेको अवस्थामा वेलावेलामा हात धुनुचाहिँ कसरी ? 

हाम्रो देश विश्वका ती देशमध्ये एक पर्छ, जसमा समुदायको बसोवासनजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ । हाम्रो आफ्नो परिवेशमा वर्तमान खानेपानी संकटको प्राकृतिक कारणमा पछिल्ला केही वर्षमा अनियमित एवम् न्यून वर्षा हुनु, खडेरी पर्नु एवम् जलवायु परिवर्तनको नकारात्मक प्रभाव देखिनु आदि कारण प्रमुख मानिएका छन् । मानवीय गतिविधिहरूका कारण हुने प्राकृतिक स्रोतहरूको प्रदूषण तथा कृषि एवं औद्योगिक क्षेत्रहरूमा उत्पादन वृद्धिका लागि जलको अनियन्त्रित दोहनले जलसंकटमा कैयौँ गुणा वृद्धि भएको छ । 

जनसमुदायमा पर्याप्त पानीको उपलब्धता एवम् व्यवस्थापन गर्नु लोककल्याणकारी राज्यको नैतिक जिम्मेवारी मानिन्छ, तर हाम्रो परिवेशमा भने राज्य संवेदनशील देखिँदैन । वर्तमानमा कोभिड–१९ को प्रलयकारी महामारीबाट सबैभन्दा बढी खतरा आर्थिक रूपले कमजोर वर्गलाई छ । यस समूहका मानिस प्रायः घना सहरी आबादी भएका क्षेत्रमा बसोवास गर्छन् । जहाँ सबैका लागि स्वच्छ खानेपानीको उपलब्धता निकै गाह्रो हुन्छ । त्यसै भएर होला, भारतको मुम्बई सहरमा कोभिड–१९ को महामारी फैलिँदा सुरुका दिनमा झुपडबस्तीका जनसमुदाय बढी प्रभावित भएको दृष्टान्त हाम्रा सामु छ । त्यसैले, राज्यले यस्ता क्षेत्रहरूका प्रत्येक परिवारसम्म स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ ।

स्वयंसेवी संस्था एवम् यस क्षेत्रमा काम गर्ने अन्य गैरसरकारी संस्था एवम् सामाजिक संस्थाहरूसँग सहकार्य एवम् सहयोग लिई पानीलगायत अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ । यसका साथै कोभिड–१९ बारे सचेतना कार्यक्रम समुदायमा यथेष्ट मात्रामा सञ्चालन गरिनुपर्छ । जसले गर्दा यस रोगबाट संक्रमित समुदायको पहिचान गरेर तिनलाई चिकित्सकीय सहायता बेलैमा उपलब्ध गराउन सकियोस् । पानीको अनियन्त्रित दोहन एवम् प्रदूषण वर्तमान जलसंकटको सबैभन्दा प्रमुख कारण हो । त्यसैले स्वच्छ खानेपानीको आपूर्ति सुनिश्चित गर्नका लागि यस्तो प्रदूषण र अनियन्त्रित दोहनलाई नियन्त्रण गर्नु अत्यावश्यक छ । प्राकृतिक जल संरक्षण एवम् पानीको पुनः प्रयोगलाई प्रोत्साहित गरी जलसंकटको दबाब कम गर्न सकिन्छ । 

यस कोभिड–१९ को महामारीले हामीलाई एउटा पाठ सिकाइराखेको छ कि हामी यस शृंखलामा त्यति नै कमजोर छौँ, जति दुनियाँका सबैभन्दा कमजोर मानिस छन् । हामीलाई यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि सबैको सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् अनि कोही पनि यस भाइरसको सिकार नबनून् । पानीसँग पनि यस्तो समस्या छ । यदि जनसमुदायको सफा पानीसम्म पहुँच छैन भने तिनले महामारी फैलनलाई रोक्न सक्नेछैनन् । सबै कुराको चुरो यति मात्र हो कि स्वच्छ सफा पानी सबैका लागि सस्तो एवं सुलभ हुनुपर्छ । अन्यथा, हामीले कोभिड–१९ विरुद्धको युद्ध लड्न सक्नेछैनौँ ।  (कार्की सेवानिवृत्त वरिष्ठ पशुचिकित्सक हुन्)