मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 16 December, 2024
२o७९ जेठ २ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दाजुभाइ नै फरक फरक ठाउँबाट गाउँपालिका अध्यक्षमा निर्वाचित

अर्का दाजु वडाअध्यक्ष भए, भाइ उपप्रमुखमा हारे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १७:४४:oo

ओखलढुंगाको मोलीका एकै परिवारका दुई दाजुभाइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक/फरक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। 

दाजु जितेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट चुनाव जितेका हुन्। जितेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन्। 

ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन्। उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन्। ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन्।

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जितेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका थिए। 
दुई आमाका ५ दाजुभाइ पछिल्लो समय सबै राजनीतिमै सक्रिय छन्। 

दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जित हासिल गरेका हुन्। 

उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ। जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा विजयी हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेकी छिन्। 

५ दाजुभाइमध्ये जनता समाजवादीका नेता धीरेन्द्र रुम्दालीले भने यसपटक चुनाव लडेनन्। कांग्रेसका स्व. नेता बलबहादुर राईको नाति पर्ने रुम्दाली दाजुभाइ राजनीतिमा सक्रिय छन्।