चुनावी तालमेल गरेका सत्तागठबन्धनमा रहेका दलहरू स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाममा सन्तुष्ट देखिएका छन् । कांग्रेस, माओवादी र जसपाले प्रारम्भिक नतिजालाई सन्तोषजनक नतिजा भने पनि एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने गठबन्धनको मर्मअनुसार परिणाम नआएको टिप्पणी गरेका छन् ।
अहिलेसम्मको परिणाम र मतगणना दुवैमा गठबन्धनमा रहेका दलहरूको अग्रता छ । तालमेल भएको कैयौँ ठाउ“मा एक दलका मत अर्को दलमा नगएको पनि पाइएको छ । संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि भन्दै पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनमा आंशिक तालमेल गरेका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अपेक्षाअनुसार प्रारम्भिक नतिजा आएको र सन्तोषजनक रहेको बताए । ‘प्रारम्भिक नतिजा हाम्रो पक्षमा छ । एमालेभन्दा निकै अगाडि छौँ । गठबन्धनका अन्य दलले पनि राम्रो मत पाइरहेका छन् । अहिलेकै अग्रता अन्तिमसम्म कायम रहन्छ भन्ने विश्वास छ ।’
माओवादी नेता वर्षमान पुनले पनि प्रारम्भिक नतिजाप्रति असन्तुष्टि जनाइहाल्नुपर्ने कारण नरहेको बताए । उनले ०७४ को तुलनामा माओवादीले सिट बढाउने दाबी गरे । ‘प्रारम्भिक परिणाम र मतगणनाको अग्रता हेर्दा माओवादीको पक्षमा नतिजा ठीकै देखिन्छ, असन्तुष्ट हुनुपर्ने देख्दिनँ । माओवादीले पहिलाको भन्दा सिट बढाउँछ भनेर भन्दै आएका थियौँ, त्यो संकेत देखिएको छ,’ उनले भने ।
वर्षमान पुन, नेता, माओवादी केन्द्र
प्रारम्भिक परिणाम र मतगणनाको अग्रता हेर्दा माओवादीको पक्षमा नतिजा ठीकै देखिन्छ, असन्तुष्ट हुनुपर्ने देख्दिनँ । माओवादीले पहिलाको भन्दा सिट बढाउँछ भनेर भन्दै आएका थियौँ, त्यो संकेत देखिएको छ
नेता पुनले अहिलेको परिणामले दलहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको संकेत गरेको पनि बताए । ‘कतिपय ठाउँमा स्वतन्त्र व्यक्तिले पनि राम्रो मत ल्याइरहेका छन् । यसको अर्थ जनताले नेतृत्व र नीतिमा विकल्प खोजिरहेका छन् भन्ने देखिन्छ,’ उनले भने ।
जसपाका वरिष्ठ नेता अशोक राईले प्रारम्भिक मतपरिणामसँग सन्तुष्ट रहेको बताए । मतपरिणामले गठबन्धनका दल उत्साहित हुने अवस्था रहेको उनको भनाइ छ । जसपाले विगतको तुलनामा सिट संख्या बढाउने राईको पनि दाबी छ ।
‘जसपाले तराई–मधेसमा विगतको तुलनामा सिट बढाउने संकेत देखिरहेको छु । अहिले हामीले पहाडका ओखलढुंगा, संखुवासभालगायत केही–केही ठाउँमा खाता खोलिसकेका छौँ । कहिल्यै नजितेको ठाउँमा पनि हाम्रा उम्मेदवार विजयी भइरहेका छन्, यो सुखद संकेत हो,’ उनले नयाँ पत्रिकासँग भने ।
गठबन्धनको अपेक्षाभन्दा एमालेले धेरै सिट जितेको राईको भनाइ छ । ‘एमालेका उम्मेदवारले धेरै ठाउँ जितिरहेका छन् । अहिलेकै परिणामअनुसार एमालेले हामीले सोचेभन्दा राम्रो नतिजा ल्याउने देख्छु,’ उनले भने ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने गठबन्धनको मर्म र भावनाअनुसार सबै दल अघि नबढेको बताए । यति हुँदाहुँदै पनि गठबन्धनकोे पक्षमा राम्रो नतिजा आउने उनको विश्वास छ । ‘गठबन्धनको मर्म र भावनाअनुसार सबैजना अघि बढेको भए अहिलेको भन्दा राम्रो हुने सम्भावना थियो । परिणाम आउने क्रम जारी छ, गठबन्धनका दलहरू धेरै ठाउँमा अगाडि छन्, राम्रो नतिजा आउला,’ उनले भने, ‘सबैले इमानदारिता प्रदर्शन गरेको भए झनै उत्कृष्ट नतिजा हुन्थ्यो ।’
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनले अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको बताए । गठबन्धनको मूल्य, मान्यता र कबोललाई कार्यकर्ताले पालना नगरेको उनको आरोप छ । ‘बाग्लुङ, प्युठान र अर्घाखाँचीमा हाम्रो पार्टीको राम्रो छ । त्यहाँ राम्रो भइरहेको छ । तर, गठबन्धनभित्रकाले जथाभावी गरेकाले अपेक्षाकृत नतिजा आएन,’ उनले भने, ‘तर, मुख्य विषय स्थानीय चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका थियो । चुनाव भयो, अब हारजित स्वाभाविक हो ।’
अन्य दल के भन्छन् ?
एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ दल एक भएर प्रतिपक्षविरुद्ध लाग्दा पनि आफूहरूले सफलता पाइरहेको बताए । ‘सत्तापक्ष एकगठ भएर लड्दा पनि हामीले संयमतापूर्वक चुनाव लड्यौँ । यस सन्दर्भमा ठूलो सफलता प्राप्त ग¥यौँ । परिणाम पनि आइरहेको छ, अझै हेर्न बाँकी छ । तर, हामी सफल छौँ,’ उनले भने ।
निर्वाचनको प्रारम्भिक नतिजाका आधारमा सम्पूर्ण परिस्थितिको मूल्यांकन गर्न नसकिने लोसपा नेता तथा सांसद उमाशंकर अरगरियाले बताए । यसपटक मतदाताले पार्टीभन्दा बाहिर गएर भोट हालेको उनको भनाइ छ । ‘यो निर्वाचनमा मानिसले पार्टीभन्दा बाहिर गएर भोट हालेका छन् । प्रारम्भिक मतका आधारमा निष्कर्ष निकाल्न गाह्रो हुन्छ । ‘एरिया’अनुसार पार्टीको प्रभाव फरक हुन सक्छ,’ उनले भने, ‘कुनै वडामा एउटा दल बलियो होला, अर्को वडामा अर्कै दल बलियो हुन सक्छ । त्यसैले, खास नतिजा कस्तो हुन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन ।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपाप्रति जनमत बढेको पाइएको बताए । ‘कांग्रेस, माओवादीलगायतको गठबन्धन र एमालेको अर्को गठबन्धनसँग राप्रपा लडेको थियो । अहिलेसम्म २१ भन्दा बढी वडामा हाम्रा उम्मेदवारले जितेका छन्,’ उनले भने, ‘केही पालिकामा अघि छौँ, केहीमा कडा प्रतिस्पर्धा छ । आशा गरेअनुरूप नै राप्रपाले लोकप्रिय मत पाएको छ, जनमत बढेको देखिएको छ ।’