१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनका क्रममा भएको विवादपछिका झडपमा दुईको मृत्यु 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo

कांग्रेस कार्यकर्ताको आक्रमणबाट सोलुखुम्बुमा माओवादी कार्यकर्ता सुदीप राई र प्रहरीको गोली लागेर शुक्रबार घाइते भएका उदयपुरका वीरबहादुर कटुवालले ज्यान गुमाए 

स्थानीय निर्वाचनका क्रममा भएको झडपपछि मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा सोलु सोताङ गाउँपालिका–३ खहरेका ३५ वर्षीय सुदीप राई र उदयपुर कटारीका प्रवीण भनिने १८ वर्षीय वीरबहादुर कटुवाल हुन् । 

सुदीपको कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा मृत्यु भएको हो । वीरबहादुरको भने प्रहरीको गोली लागी मृत्यु भएको हो । मृत्यु हुने सुदीप माओवादी कार्यकर्ता हुन् । शुक्रबार सोलुको सोताङ गाउँपालिका–३ खहरको सोताङ आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । यहीक्रममा कांग्रेस कार्यकर्ताले प्रहार गरेको ढुंगा सुदीपको टाउकोमा लागेको थियो । घाइते भएका उनलाई जिल्लास्थित फाप्लु अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

एसएसपी विष्णुकुमार केसी प्रवक्ता, नेपाल प्रहरी

मतदानको दिन अलि धेरै झडपका घटना भए, तर शनिबार त्यस्तो भएन । सबै ठाउँ शान्तिपूर्ण ढंगले नै मतगणना भइरहेका छन् । सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । डराउनुपर्ने अवस्था हालसम्म देखिएको छैन ।

घटनामा संलग्न १९ वर्षीय साजन भनिने चक्र भुजेलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मतदानका निम्ति बोकेर ल्याइएकी स्थानीय ५५ वर्षीया सन्चमाया राईको अचानक घटनास्थलमै मृत्यु भएपछि दुई पक्षबीच विवाद भएको थियो । दमको बिरामी सन्चमायालाई मतदान केन्द्रबाट घर लैजान बेवास्ता गरिएको भन्दै दुई पक्षबीचको विवाद चर्किएको थियो । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोताङ गाउँपालिकामा अहिले मतगणना रोकिएको छ । 

उदयपुरको कटारीमा भने मतपेटिका लुट्ने क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोलीबाट वीरबहादुरसहित १५ वर्षीय मोहन श्रेष्ठ घाइते भएका थिए । घाइते वीरबहादुरको शुक्रबार नै मृत्यु भएको हो । मोहनको भने काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यका अनुसार मतदान सकिएपछि गणनाका लागि कटारी नपा कार्यालय लैजाने क्रममा केही व्यक्तिले मतपेटिका लुट्ने प्रयास गरेका थिए । 

प्रहरीका अनुसार दुवै घटना शुक्रबारका हुन् । शनिबार भने सबै ठाउँ शान्तिपूर्ण तवरले मतगणना जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । ‘मतदानको दिन अलि धेरै झडपका घटना भए । तर, शनिबार त्यस्तो भएन । सबै ठाउँ शान्तिपूर्ण ढंगले नै मतगणना भइरहेको छ । सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । डराउनुपर्ने अवस्था हालसम्म देखिएको छैन,’ उनले भने ।

धुर्कोटमा वडाध्यक्षका उम्मेदवारमाथि हातपात

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए । झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन् । घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि सुरु हुन सकेको छैन ।

एमाले नेता मल्लमाथि कुटपिट
स्याङ्जा चापाकोट नगरपालिकामा कांग्रेस कार्यकर्ताबाट एमाले केन्द्रीय सदस्य तथा अनेरास्वावियुका पूर्वअध्यक्ष किशोरविक्रम मल्ल कुटिएका छन् । मतगणनाका क्रममा विवाद भएपछि कांग्रेस कार्यकर्ता मल्लमाथि हातपातमा उत्रिएका थिए । मल्लले नगरपालिका कार्यालयबाट निस्कने क्रममा पछाडिबाट अप्रत्याशित ढंगले आफूमाथि आक्रमण भएको बताए । ‘नगरपालिकास्थित कार्यालयमा मतगणना चल्दै थियो । म बाहिर निस्किएँ । पछाडिबाट आएका कांग्रेस कार्यकर्ताले मलाई ढुंगाले प्रहार गरे र फरार भए । ढुंगा हातले छेकेँ । त्यसो हुँदा गम्भीर चोट लाग्न पाएन । मुक्का भने शरीरमा लाग्यो,’ उनले भने ।

खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ
खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्धर्व पक्राउ परेका छन् । खुकुरी प्रहार हुँदा तुलसीपुर–४ रक्षाचौरका चारजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर–४ स्थित गन्धर्वकै घरनजिकै दुई पक्षबीच झडप भएको हो । नजिकै पूजामा मदिरा खाएर यसरी झडप भएको हुन सक्ने प्रहरीले जनाएको छ । ‘पूजामा गएका वेला मदिरा सेवन गरेपछि सामान्य विवाद भएछ,’ अर्यालले भने ‘त्यसपछि खुकुरी हानाहानको अवस्था सिर्जना भएको देखिन्छ ।’ 

शुक्रबार दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको स्रोतले जनाएको छ । ‘दिउँसो रक्षाचौर स्कुलस्थित मतदान केन्द्रमा मतदान भइरहेको थियो, त्यही वेला केही युवाले मतदानस्थलमै प्रचार गरिरहेका थिए, त्यसपछि गन्धर्वका छोरा सुमनले किन यसरी प्रचार गरेको भनी ती युवालाई भनेपछि केही विवाद भएको थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि ती युवा झगडा गर्ने नियतले नै साँझ घरमै गएका हुन् ।’ छोरा सुमनलाई ती युवाले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि उम्मेदवार गन्धर्व गएको र उनीहरूमाथि पनि चोटपटक लागेको हो । 

निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर घटना भएको हो । गन्धर्व स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार थिए । उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरनिवासी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad