Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २३ शुक्रबार ०८:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकाले उपलब्ध गराउने पौने ८१ अर्ब अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २३ शुक्रबार ०८:३९:००

अमेरिकाले आगामी पाँच वर्षमा नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने करिब पौने ८१ अर्ब रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) सम्बन्धी सम्झौता भएको छ । 

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)का निर्देशक सेपिदेह केवंसद र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सहयोगले मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न मद्दत गर्ने अर्थ मन्त्रालय र युएसएआइडीले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्दै निर्देशक केवंसदले पाँच वर्षसम्म सञ्चालन हुने सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने बताए । अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।

अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिने जनाइएको छ । नेपाल र अमेरिकाबीच आज भएको पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।