रुसी ग्यासमाथिको रोकले युरोपेली अर्थतन्त्रमा के अर्थ राख्छ ? प्रश्नको उत्तर विविध भए पनि परिणाम नकारात्मक हुनेछ भन्नेमा सबै अर्थशास्त्री सहमत छन् । प्रश्न हो, परिणाम कति नकारात्मक हुन्छ भन्नेमा । सामान्य मन्दीदेखि आर्थिक प्रलय एवं सामूहिक बेरोजगारीसम्मका अनुमान गरिएका छन् । सम्भावित कुल गार्हस्थ उत्पादन (जिडिपी) संकुचनको परिमाणअनुमान गर्न जति बौद्धिक ऊर्जा खर्च गरिएको छ, त्यसको तुलनामा रूसले ग्यासमा रोक लगाउँदा हुने अभावमा कस्तो तयारी गर्ने भन्नेबारे थोरै मात्र ध्यान दिइएको छ ।
रुसले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्तिमा रोक लगाइदियो र युरोपेली नीति–निर्माता एवं पण्डितमाझ कुनै विकल्प थिएन । यी पण्डितले सम्भावित नतिजाभन्दा सम्भावित ग्यास अभावको वास्तविक परिणामतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । रुसबाट पाइपलाइनमार्फत वितरण हुने ग्यासले युरोपेली संघ (इयू) को आपूर्तिको ४० प्रतिशत हिस्सा ओगटेको छ । र, यो आपूर्ति अवरुद्ध भयो भने इयूले ग्यास खपत उल्लेखनीय मात्रामा घटाउनुपर्नेछ ।
सिद्धान्ततः उच्च मूल्य, सरकारी योजना एवं अनिवार्य सीमित भण्डारण लागू गर्ने संयन्त्रले घटेको उपभोगलाई सहज बनाउन सक्छ । हाम्रो विचारमा अभाव व्यवस्थापनका लागि मूल्य संयन्त्र मात्र पर्याप्त हुनेछैन । युरोपमा ग्यासको मूल्य पहिले नै कीर्तिमानी स्तरमा छ र ग्यास बचत पर्याप्त छैन । थप मूल्यवृद्धिले मुद्रास्फीति बढाउनेछ र गरिब सबैभन्दा बढी मारमा पर्नेछन् । अनिवार्य सीमित भण्डारण अन्तिम उपाय हुने गर्छ तसर्थ हामीले सरकारी योजनाको विकल्पमा बढी ध्यान दिनुपर्छ ।
जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्चको हालैको नीति संक्षेपमा हामीले ग्यास बचत गर्न इयूस्तरको आकस्मिक योजनाका लागि आह्वान गरेका छौँ । दक्षिणपन्थबाट बढ्दो लोकरिझ्याइँवादी चुनौती सामना गर्न कुनै पनि योजनाले जनसमर्थन पाउनुपर्छ र निष्पक्ष रूपमा लिइनुपर्छ । उसो त इयूसँग विद्युत् आपूर्ति र पूर्वाधारका लागि केही आपत्कालीन योजना भए पनि सम्भावित अभावको मापन व्यवस्थापन गर्ने कुनै योजना छैन । अधिकांश योजना विद्यमान संयन्त्र आवासीय उपभोक्तालाई संरक्षण गर्न र प्रतिकूल मौसम वा प्राविधिक विफलताले हुने अल्पकालीन अवरोधका लागि बनाइएका थिए । अवरोध महिनौँसम्म रह्यो भने युरोपेली अर्थतन्त्रका लागि धेरै ऊर्जा आवश्यक पर्ने औद्योगिक क्षेत्र बन्द गर्नु व्यावहारिक विकल्प होइन । यसले मुद्रास्फीति र वृद्धिका लागि सम्भावित रूपमा दीर्घकालीन प्रभावसहित विश्वव्यापी आपूर्ति शृंखलामा थप तनाव ल्याएर गम्भीर परोक्ष प्रभाव निम्त्याउन सक्छ ।
इयूसँग विद्युत् आपूर्ति र पूर्वाधारका लागि केही आपत्कालीन योजना भए पनि ग्यासको सम्भावित अभावको पूर्ति गर्ने कुनै योजना छैन
ग्यास अभावलाई पूरा गर्न पर्याप्त मात्रामा ग्यास बचत गर्दा ग्यास प्रयोगकर्ताका सबै समूह अर्थात् आवासीय उपभोक्ता र सेवाका साथै उद्योगबाट हुने महत्वपूर्ण योगदान समावेश गर्नुपर्छ । यसका लागि स्पष्ट लक्ष्य र इयूका सदस्य राष्ट्र, घरधुरी र आवासीय एवं औद्योगिक प्रयोगकर्ताबीच निष्पक्ष जिम्मेवारी–साझेदारी आवश्यक पर्छ । तर, राजनीतिक रूपमा स्वीकार्य र प्रयोगयोग्य बनाउन यी लक्ष्यमा पहिल्यै संवाद हुनुपर्छ ।
यसबाहेक ग्यास तापका लागि भवनलाई अतिरिक्त थर्मल इन्सुलेसन गर्न रेट्रोफिटिङ गर्नुपर्छ । यो एक ठूलो स्तरको प्रयास हो, जहाँ आपत्कालीन लगानीका योजना चाहिन्छन् । अतिरिक्त बचतका लागि घर तताउने प्रणाली पुनः मापन गरेर महसुस गर्न सकिन्छ । यद्यपि केही अफ्ठ्यारा व्यावहारिक प्रतिक्रिया पनि आवश्यक हुनेछन् । उदाहरण, कोठाको तापक्रमको प्रत्येक एक डिग्री सेल्सियस घटाउँदा, युरोपेलीले कोठा तताउन आफ्नो ग्यासको प्रयोग लगभग १० प्रतिशत घटाउन सक्छन् र प्रयोगमा नआएका कोठालाई तातो नपारी थप बचत गर्न सकिन्छ ।
मानिसलाई ग्यास बचत गर्न आग्रह गर्दा वितरण र वैधताको महत्वपूर्ण प्रश्न उब्जिन्छन् । जनसमर्थनका लागि सरकारहरूले ठोस कारबाहीका लागि प्रेरक मुद्दा बनाउनुपर्छ । यी योजनामा बचत गर्नका लागि प्रयास, समर्थन, र मार्गदर्शन विनियोजन गर्ने एवं पारदर्शिता सुनिश्चित गर्ने उपाय र आवश्यक भएमा अनुपालन लागू गर्ने संयन्त्रहरू समावेश हुनुपर्छ । इयूका सरकारले ग्यास बचत लक्ष्यमा संयुक्त निर्णय गरी प्रत्येक सदस्य राष्ट्रले आफ्नो हिस्साको प्रतिबद्धता पालन गरेमा प्रक्रिया सजिलो र प्रभावकारी हुनेछ । आकस्मिक योजनाबिना अभाव उत्पन्न हुन्छ र अव्यवस्थित जिम्मेवारी बाँडफाँडले सबैभन्दा कमजोरलाई क्षति पुर्याउने सम्भावना हुन्छ ।
संलग्न सरोकारवालाको व्यापकतालाई ध्यानमा राख्दै आपत्कालीन योजनामा तुरुन्तै वार्ता हुनुपर्छ । ग्यास बचत लक्ष्य र उपाय अनिवार्य रूपमा हरेक अवरोधमा हुने इयूको प्रतिक्रियाको आधार हुनेछ । यदि अनिवार्य सीमित भण्डारण र अतिरिक्त ऐक्यबद्धता उपायका लागि आकस्मिक योजनासँग समानान्तर ढंगले सहमत हुन्छन् भने यी योजना अधिक विश्वसनीय हुनेछन् । आर्थिक नीति–निर्माणले निष्पक्षता, ऐक्यबद्धता र वैधानिकताका मुद्दामा विशेष ध्यान दिँदै विपत् व्यवस्थापनको तयारीलाई अँगाल्नुपर्छ ।
प्रोजेक्ट सिन्डिकेटबाट