मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Monday, 16 December, 2024
२o७९ बैशाख १५ बिहीबार o९:५३:oo
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

उदयपुरका पालिकामा बागी नै बागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार o९:५३:oo

आफ्नो दलबाट उम्मेदवार बन्न नपाएपछि उदयपुरका आठवटै पालिकामा एमाले र सत्तागठबन्धनका १४ जनाले बागी उम्मेदवारी दिएका छन्

उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका छन् । मुख्यगरी पाँचदलीय गठबन्धनमा आबद्ध दलका नेता र एमालेबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

आठै पालिकामा रहेको निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिनेहरू १४ जना रहेका छन् । बेलका नगरपालिकामा एमालेबाट मेयरका लागि कृष्ण काफ्लेले बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट बेलकामा मेयरका लागि दुर्गा थापा स्वस्तिकले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी, कटारी नगरपालिकामा तीनजनाले बागी उम्मेदवारी दिएका छन् । जसमा सत्तागठबन्धनमा आबद्ध माओवादी केन्द्र प्रदेश १ का सदस्य केपी बरालले मेयरमा स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गरेको माओवादी केन्द्र कटारीले जनाएको छ । बरालले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्दै उम्मेदवारी दर्ता गरेका हुन् । कटारी नगरपालिकामा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

कटारीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन बनेको छ । यहाँ माओवादीको उदयपुर अध्यक्ष विनोद कटुवाल दिवसले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । कटुवालको विरुद्धमा कांग्रेसका कृष्ण थापाले उपमेयरमा बागी उम्मेदवारी दिएको माओवादी केन्द्र कटारीका सचिव वासु कटुवालले बताए । एमाले प्रदेश १ की सदस्य भीमकुमारी राउतले आइतबार नै बागी उम्मेदवारी दर्ता गरेकी थिइन् । यहाँ एमालेबाट ज्ञानेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

यता, त्रियुगा नगरपालिकामा एमालेका मेयरका उम्मेदवार भावत राउतविरुद्ध नारायणकुमार खड्काले बागी उम्मेदवारी दर्ता गराएका छन् । खड्का एमालेका स्थानीय नेता हुन् । त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन छ । यहाँ माओवादी केन्द्रले उपमेयर लिएको छ । उपमेयरमा गीता खड्का कार्कीले उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रकी त्रियुगा नेत्री सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिएकी छिन् । एकीकृत समाजवादीबाट बलदेव चौधरीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।चौदण्डीगढी नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार खगेन्द्र राईविरुद्ध कांग्रेसकै प्रशान्त राईले बागी उम्मेदवारी दर्ता गरेका छन् । चौदण्डीगढीमा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन छ । गठबन्धनबाट मेयरका उम्मेदवार नरेन्द्र राउतविरुद्ध माओवादी केन्द्रका नेता कमलध्वज राईले बागी उम्मेदवारी दिएका छन् ।

यता, लिम्चुङबुङ गाउँपालिकामा पाँचदलीय गठबन्धन कायम छ । गठबन्धनबाट अध्यक्षमा मेजरकुमार राईले उम्मेदवारी दिएका छन् । राईविरुद्ध माओवादी केन्द्रका स्थानीय नेता होम किराँतीले अध्यक्षमै बागी उम्मेवारी दिएको बताए । ‘मलाई पार्टीले सधैँ काम मात्र लगायो, टिकट दिएन,’ उनले भने, ‘मैले मात्र होइन, एमालेबाट पनि बागी उम्मेदवारी दर्ता भएका छन् ।’ एमालेबाट लिम्चुङबुङमा राजकुमार राईले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनीविरुद्ध एमाले स्थानीय नेता यादव राई र भलराज राईले बागी उम्मेदवारी दर्ता गराएको एमाले लिम्चुङबुङले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि पाँचदलीय गठबन्धन कायम छ । गठबन्धनबाट माओवादी केन्द्रका नेता वीरेन्द्रकुमार मगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसको भागबाट भूपेन्द्र थापाले दर्ता गरेका छन् । थापाविरुद्ध उपाध्यक्षमा कांग्रेसबाट कौशल राईले बागी उम्मेदवारी दिएका छन् ।

यसैगरी, ताप्ली गाउँपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका नेता ढुंगराज विकले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेको माओवादी केन्द्र ताप्लीका अध्यक्ष गुरुबहादुर पोखरेलले बताए । उदयपुरगढी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार गोपाल खत्रीविरुद्ध एमालेकै वसन्त पौडेल र एमाले नेता चक्रबहादुर गुरुङले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।