मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १४ बुधबार १३:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावको मुखमा सडकभरि फोहोरको डंगुर, चार दिनदेखि उठेन काठमाडौंको फोहोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १४ बुधबार १३:३४:००

स्थानीय तहको चुनाव नजिकिएसँगै संघीय राजधानी काठमाडौंमा चुनावी माहोल तातेको छ ।  नेता–कार्यकर्ताको ध्यान चुनावले खिचेको छ । तर, राजधानीका सडककिनार भने फोहोरका डंगुरले भरिँदै छन्। पछिल्लो चार दिनयता उपत्यकाको फोहोर ढुवानी ठप्प छ। पासाङल्हामु सडकखण्डका स्थानीयवासीको अवरोधपछि पछिल्लोपटक फोहोर ढुवानी रोकिएको हो। 

स्थानीयले सडक कालोपत्रको माग राख्दै फोहोर ढुवानीमा अवरोध पुर्‍याएका छन्। उनीहरूले काठमाडौं महानगरअन्तर्गतका फोहोरका कन्टेनर सडकमै रोकिदिएका छन्। जसका कारण ११ गतेदेखि फोहोर नउठेको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले बताइन्। चुनावको मुखमा फोहोर व्यवस्थापन गर्न निकै कठिन भइरहेको उनको भनाइ छ । ‘चुनाव नजिकिँदै छ, तर हामीले फोहोर व्यवस्थापन गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘महानगर एक्लैले यो समस्या समाधान गर्न सक्दैन।’ उनले ठेकेदार कम्पनीले सडक कालोपत्रे नगरेको रिस स्थानीयले महानगरसँग पोखेको बताइन्। उनका अनुसार उक्त सडक कालोपत्रे गर्ने जिम्मा महानगरको होइन। 

काठमाडौं उपत्यकामा दैनिक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ। उक्त फोहोर नुवाकोटको सिसडाेलमै व्यवस्थापन हुँदै आएकोमा पछिल्लो समय त्यस क्षेत्रका स्थानीयवासीका कारण अवरोध हुने गरेको छ। फोहोर ढुवानीमा स्थानीयले गरेको अवरोधको विषयमा छलफल गर्न साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले वातावरण विभाग र स्थानीयलाई बोलाएको छ।

पासाङल्हामु सडकखण्ड शैलुङ कन्स्ट्रक्सनलार्ई चौडा र कालोपत्रे गर्ने गरी ०७० चैतमा ठेक्का दिइएको थियो। ठेक्काअनुसार ०७२ को चैतमा ठेकेदारले उक्त सडक चौडा पारी कालोपत्रे गरिसक्नुपर्ने हो। तर, आठ वर्षसम्म पनि ठेकेदारले सडक चौडा पार्ने काम सकेको छैन।