नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षले एमाले प्रवेश गरेर पुनः अध्यक्षको उम्मेदवारी दर्ता गरेका छन्। सोमबार बिहान नेकपा एमाले प्रवेश गरेका नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्रसिंह तामाङले दिउँसो अध्यक्षको टिकट ल्याएर पुनः अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसले अध्यक्षमा तामाङलाई पुनः टिकट नदिने भएपछि सोमबार बिहान काठमाडौं पुगेर उनी हतारमा एमाले प्रवेश गरेका थिए। काठमाडौं गएर एमाले प्रवेश गरेका तामाङले हेलिकाेप्टरमा गाउँ फर्किएर मनोनयन दर्ता गराएका हुन्।
तामाङसँगै दुप्चेश्वर– १ का निवर्तमान अध्यक्ष सुनबहादुर तामाङ पनि सोमबार नै एमाले प्रवेश गरेर वडाध्यक्षको उम्मेदवार भएका छन्। एमालेले आइतबार दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा सुरज शेर्पा र उपाध्यक्षमा सरस्वती थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष नै पार्टीमा आउने भएपछि शेर्पालाई पछि हटाएर एमालेले तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको हो। उपाध्यक्षमा भने थापालाई उम्मेदवार बनाएको छ।
दुप्चेश्वरमा गठबन्धन नभएका कारण सत्तासीन दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले अध्यक्षमा पूर्णबहादुर तामाङ र उपाध्यक्षमा अञ्जु आचार्य तथा माओवादी केन्द्रले अध्यक्षमा शंकर थापा र उपाध्यक्षमा माकुरी तामाङलाई उम्मेदवार बनाएको छ।
जिल्लाका १२ वटै स्थानीय तहमा एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार मात्र मनोनयन दर्ता गराएका हुन्। सत्तासीन दलहरूबीच गठबन्धन जिल्लाभर हुने भनिए पनि अन्तिम समयमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा मात्र गठबन्धन भएको छ। अन्य स्थानीय तहहरूमा ‘मित्रवत्’ प्रतिस्पर्धामा सत्तामा रहेका दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
केही स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकामा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। अध्यक्षमा एमालेबाट वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट अर्जुन न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले भने अहिलेका पालिका अध्यक्ष छत्रबहादुर लामालाई नै उम्मेदवार बनाएको छ।