१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘सामान्य कोभिडबाट समेत मस्तिष्कमा क्षति’ 

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४८:oo

कोभिड–१९ को सामान्य संक्रमणले पनि मस्तिष्कको बुढ्यौली तथा अन्य शारीरिक परिवर्तनलाई तीव्र बनाएको एक अध्ययनले देखाएको छ । नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार कोभिड संक्रमणको सामान्य लक्षण देखिएका व्यक्तिको समेत मस्तिष्कमा उल्लेख्य परिवर्तन पाइएको छ । 

यो अहिलेसम्मकै यस प्रकारको विस्तृत अध्ययन भएको पनि उल्लेख छ । अध्ययनमा कोभिड–१९ संक्रमित व्यक्तिको मस्तिष्कको सिटिस्क्यानलाई संक्रमण नभएका व्यक्तिको मस्तिष्कको सिटिस्क्यानसँग तुलना गरिएको थियो । संक्रमित व्यक्तिको मस्तिष्कको ग्रे–म्याटरमा संक्रमित नभएका व्यक्तिको तुलनामा धेरै क्षति पुग्नुका साथै असामान्य परिवर्तन पाइएको छ । धेरैजसो क्षति मस्तिष्कको सुँघ्ने शक्तिसँग सम्बन्धित भागमा देखिएको छ ।

‘सामान्य रूपले संक्रमित व्यक्तिको मस्तिष्कमा समेत स्पष्ट फरक देख्दा हामी निकै आश्चर्यचकित भएका थियौँ,’ अध्ययनका अगुवा अक्सफोर्ड विश्वविद्यालयका मस्तिष्क विज्ञानका सह–प्राध्यापक वेनेइले डाउडले सिएनएनसँग भनेका छन् । डाउड र उनका सहकर्मीहरूले मार्च २०२० देखि मार्च २०२१ को बीचमा कोभिड–१९ संक्रमण भएका चार सय एक व्यक्तिको संक्रमणअघि र संक्रमणको साढे चार महिनापछि लिएको मस्तिष्कको सिटिस्क्यानको मूल्यांकन गरेका थिए । उनीहरूबाट निस्किएको नतिजालाई उही उमेर, सामाजिक आर्थिक अवस्था र रक्तचाप एवं मोटोपनाजस्ता जोखिमसमेत उस्तै भएका तर संक्रमित नभएका तीन सय ८४ व्यक्तिको मस्तिष्कको इमेजिङसँग तुलना गरिएको थियो । अध्ययनमा समावेश चार सय एक सहभागीमध्ये १५ जना अस्पतालै भर्ना भएका थिए । अध्ययनमा समावेश सात सय ८५ व्यक्ति ५१ देखि ८१ वर्षबीचका र सबै बेलायतका थिए । 

डाउड सामान्य मानिसको पनि उमेर ढल्किँदै जाँदा हरेक वर्ष शून्य दशमलव दुईदेखि शून्य दशमलव तीन प्रतिशतसम्म मस्तिष्कको स्मरणसम्बन्धी भागको ग्रे–म्याटरमा क्षति हुने बताउँछन् । तर, यो अध्ययनमा समावेश संक्रमित व्यक्तिहरूको थप दुई प्रतिशतसम्म टिस्यु क्षति भएको पाइएको छ । उनीहरूले सहभागीको मस्तिष्कको इमेजिङबाहेक डिमेन्सियासँग सम्बन्धित संज्ञानात्मक दुर्बलता पहिचान गर्ने उपकरण ट्रेल मेकिङ टेस्ट (टिएमटी)का साथै मस्तिष्कको कार्यकारी एवं संज्ञानात्मक कार्यको पनि परीक्षण गरेका थिए ।

मस्तिष्कको प्रोसेसिङको गति र कार्यको पनि परीक्षण गरिएको थियो । मस्तिष्कको कोषमा धेरै क्षति भएका कारण संक्रमणबाट गुज्रिएका व्यक्तिले संक्रमण नभएका व्यक्तिको तुलनामा खराब प्रदर्शन गरेका थिए । सबै परीक्षणमा धेरैजसो क्षति मस्तिष्कको घ्राण प्रणाली अथवा सुँघ्ने प्रणालीमा भएको पाइयो । अध्येताहरूले यसको दीर्घकालीन असर हेर्न उनीहरूको फेरि अर्काे वर्ष पनि स्क्यान गरेर हेर्नेछन् । 

यो अध्ययनले संक्रमण र मस्तिष्क सञ्चालनको बीचमा केही सम्बन्ध भएको पाएको छ । तर, किन यस्तो भयो भन्नेबारे भने स्पष्ट भइनसकेको उनीहरूले भनेका छन् । यसअघिका अध्ययनहरूले ग्रे–म्याटरको क्षतिसँग सुँघ्ने क्षमताको उल्लेख्य सम्बन्ध भएको देखाएका छन् । अध्येताहरूले सार्स–कोभ–२ संक्रमणले अल्जाइमर र अन्य खालका डिमेन्सियामा योगदान गर्ने सम्भावना देखाएको भनेर सचेत गराएका छन् ।

जानकारीयोग्य नतिजा, तर जोखिम छैन : डा. आइज्याक्सन

फ्लोरिडा एट्लान्टिक विश्वविद्यालयको सेन्टर फर ब्रेन हेल्थका निर्देशक एवं न्युरोलोजिस्ट डा. रिचार्ड आइज्याक्सन भने यी नतिजाहरू जानकारीयोग्य भए पनि खतराको संकेत नै भने नभएको बताउँछन् । मस्तिष्क इम्युन, इन्फ्ल्यामेटोरी, भास्कुलर एवं मानोवैज्ञानिक तथा व्यवहारगत परिवर्तनद्वारा प्रभावित हुन्छ । तर, संक्रमणबाट यसमा सीधै असर नहुने इडिनवर्ग विश्वविद्यालयको सेन्टर फर क्लिनिकल ब्रेन साइन्सका प्राध्यापक डा. एलन कार्सनले भनेका छन् । यो अध्ययनले मस्तिष्कको कोषगत परिवर्तनका सन्दर्भमा प्रभाव देखाए पनि कोभिड संक्रमणपछिको संज्ञानात्मक परिवर्तनको मेकानिजमलाई बुझ्न भने सहयोग नगर्ने उनको कथन छ । 

ad
ad