भारतले चासो नदिँदा नेपालगन्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरी सुरु भएको काम डेढ वर्षमा ३५ प्रतिशत मात्र सकिएको छ ।
भारत सरकारले निर्माण कम्पनीसँग कात्तिक, २०७७ मा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म निकै कम मात्र काम भएको अनुगमनको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर विजयकेशर खनालले बताए । भारत सरकारको दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ लागतमा भारतकै राजदीप विल्डकन प्रालिले कामको जिम्मा पाएको छ । एक वर्ष पाँच महिना बित्दासमेत कुनै संरचना निर्माण पूरा नभएको उनको भनाइ छ । ‘सम्झौताअनुसार भौतिक पूर्वाधार निर्माणको काम पूरा भएर फिनिसिङतर्फ लाग्नुपर्ने हो, तर कुनै पनि भवन पूरा भएको छैन,’ उनले भने, ‘डेढ वर्षमा ३५ प्रतिशत काम भएको होला ।’
उनले निर्माण कम्पनीलाई भारत सरकारले दबाब दिन नसकेको स्पष्ट पारे । भारत सरकारले निर्माण गर्ने भएकाले निर्माण कम्पनीलाई नेपालले धेरै दबाब दिन नमिल्ने उनको तर्क छ । ‘हामीलाई काम कसरी भइरहेको छ भनेर निरीक्षण गर्ने अधिकारबाहेक अरू केही छैन,’ उनले भने, ‘तोकिएको समयमा सक्नुपर्छ भनेर दबाब दिन मिल्दैन ।’
अहिले सडक, पार्किङ यार्ड, कम्पाउन्ड वाल, माटो पटानको काम भइरहेको उनले बताए । पक्की भवन निर्माणका लागि कम्पनीले डिपिसीको काम सकेको जानकारी पाएको उनको भनाइ छ । ‘आइसिपी क्षेत्रमा जति भवन बन्ने हो ती सबैको फाउन्डेसन निर्माण भइसकेको छ,’ उनले भने, ‘प्रि–फ्याब स्टिल स्ट्रक्चरको काम भारतको दिल्लीमा भइरहेको छ । त्यहाँबाट स्टिल स्ट्रक्चरको सामान तयार पारेर ल्याउने योजनाका साथ काम भइरहेको छ ।’ सय बिघा क्षेत्रफलमा माटो पटान गर्नुपर्ने भएकाले पनि निर्माणको काममा असर परेको उनको भनाइ छ । कोरोनाका कारण भएको लकडाउनले काममा ढिलाइ भएको दाबी निर्माण कम्पनीले गरेको छ ।