
स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रूप दिन गठबन्धन दल पुन: बैठकमा जुटेका छन्। मंगलबार मध्यरातसम्म चलेको बैठकमा जनकपुर र नेपालगन्ज उपमहानगरपालिकाको विषय टुंगो लाग्न सकेको थिएन। नेपालगन्ज उपमहानगरमा जसपाले दाबी गरेपछि नेपाली कांग्रेसले जनकपुरमा दाबी गरेको थियो।
गठबन्धनले जनकपुर जसपालाई र नेपालगन्ज कांग्रेसलाई दिने गरी प्रारम्भिक खाका तयार पारेको थियो। तर, जसपाले नेपालगन्ज पाउनुपर्ने अडान राखेपछि कांग्रेसले जनकपुरमा दाबी गरेको थियो। कांग्रेस र जसपा आफ्नो अडानमा अडिग रहेपछि मंगलबार सहमतिको माइन्युट हुन सकेको थिएन।
मंगलबार सत्तागठबन्धनले ६ महानगर र नाै उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको थियो। बालुवाटारमा मध्याह्नदेखि जारी बैठकमा नेताहरू चरण–चरणमा छलफलमा जुटेका छन्। सुरुमा गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका थिए। शीर्ष नेताको छलफलपछि आ-आफ्नो पार्टीका नेताबीच छलफल भएको छ।
दलका नेताको बैठकपछि फेरि शीर्ष नेताबीच छलफल गरेर माइन्युट गर्ने गरी तयारी गरिएको एक नेताले बताए। मंगलबारको सहमतिअनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउनेछ। माओवादीले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिनेछ। एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति छ। जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर परेको छ।
मंगलबार ११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको थियो। जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा मेयर पाउने तय भएको थियो।
त्यस्तै, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुर पाउने थियो। तर, रातिको शीर्ष नेताहरूको बैठकमा जसपाले नेपालगन्ज पनि आफूले पाउनुपर्ने अडान राख्यो। जुन यसअघि कांग्रेसले राख्ने लगभग सहमति बनेको थियो।