मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विदुर कटुवाल नयाँ पत्रिका
२०७९ बैशाख ६ मंगलबार १०:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिल्लामा बढे आगलागीका घटना

Read Time : > 1 मिनेट
विदुर कटुवाल नयाँ पत्रिका
२०७९ बैशाख ६ मंगलबार १०:०७:००

उदयपुरमा साढे ६ हजार हेक्टर वन क्षेत्रमा डढेलो

गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै चुरे तथा महाभारत वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ । उदयपुरका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको हो । बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा डढेलोबाट झन्डै पाँच हजार हेक्टर वन क्षेत्र जलेको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । ‘विगत वर्षभन्दा यो वर्ष कम डढेको लागेको छ,’ उनले भने, ‘हालसम्म विभिन्न सामुदायिक वनबाट संकलन गरिएको तथ्यंकअनुसार डिभिजन वन कार्यालयअन्तर्गत पाँच हजार हेक्टरमा डढेलो लागेको छ ।’

वनमा लागेको डढेलो सकेसम्म सामुदायिक वन उपभोक्ता समूहका सदस्य, वन कर्मचारीहरू प्रयोग गरेर नियन्त्रण गर्ने गरिएको उनको भनाइ छ । ‘डढेलो लागेको सूचना पाउनासाथ नियन्त्रण (निभाउने) को काम गर्दै आएका छौँ,’ सूचना अधिकारी साहले भने, ‘चुरे वन क्षेत्र तथा विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ, नियन्त्रण गर्ने अभियान पनि जारी छ ।’ 

डिभिजन वन कार्यालय त्रिवेणी कटारीअन्तर्गत रहेका वन क्षेत्रमा पनि डढेलो लाग्न सुरु भएको छ । कार्यालयका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले एक हजार सात सय हेक्टर वनमा डढेलो लागेको बताए । ‘डिभिजन वन कार्यालय त्रिवेणी कटारीअन्तर्गतका वनमा लागेको डढेलो नियन्त्रण गर्ने काम पनि जारी छ,’ उनले भने, ‘सामुदायिक वनमा धेरै डढेलो लाग्ने गरेको छ, आज पनि एउटा समुदायिक वनमा लागेको डढेलो उपभोक्ता र हामी मिलेर नियन्त्रणमा लिएका छौँ ।’ डिभिजन वन कार्यालय उदयपुर र डिभिजन वन कार्यालय त्रिवेणी कटारीको तथ्यंकअनुसार ६ हजार सात सय हेक्टर वन क्षेत्र डढेलोले सखाप भइसकेको छ । अन्य वनमा डढेलो निरन्तर लागिरहेको छ । घिमिरे भन्छन्, ‘केही दिनअघि परेको पानीका कारण धेरै डढेलो नियन्त्रणमा आयो, एकपटक पानी परे राम्रो हुने थियो ।’

वन कार्यालयले डढेलोबाट बचाउन उपभोक्ता समूहमार्फत जनचेतना फैलाउने, अग्निनियन्त्रण रेखा कोर्ने तथा नियमित अनुगमन गरिरहेको वन कार्यालयहरूको भनाइ छ । स्थानीय तहसँग समन्वय गर्दै डढेलो लाग्न नदिन, लागिहाले तत्काल नियन्त्रण गर्न वन कर्मचारी र उपभोक्ताहरूलाई परिचालन गरिएको बताइएको छ । 

६ घरगोठमा आगलागी हुँदा ३० लाखको क्षति 
कपिलवस्तु/ कपिलवस्तुमा सोमबार भएको आगलागीबाट ६ घरगोठ जलेर नष्ट भएको छ । शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब ३० लाखबराबरको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर बर्माले बताए । आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्ण रूपमा जलेका छन् । दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घन्टामा स्थानीय, प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । तराईका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन् ।

सप्तरीमा तीन घर जलेर नष्ट
राजविराज/ सप्तरीको सुरुंगा नगरपालिका–३ मा सोमबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ । सो आगलागीबाट अन्नपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।