![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/cartun2022-04-19-07-08-58.jpeg)
देशमा मौलाइरहेको भ्रष्टाचार र अनियमितताविरुद्ध कार्टुनिस्टहरूले बनाएको व्यंग्यचित्र (कार्टुन) बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । उनीहरूले ‘निसाना’ शीर्षक दिएर आइतबारदेखि प्रदर्शनी सुरु गरेका छन् । कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा ३६ जनाले बनाएको ५० वटा कार्टुन छन् ।
कार्टुनिस्ट रवि मिश्रले मानिसले अत्यधिक लोभ गर्दा सामाजिक पतन कसरी हुन्छ भन्ने कुरा बिम्बात्मक रूपमा कार्टुनमा देखाउन खोजेका छन् । उनले भने, ‘कार्टुनमा एउटा मानिस अनुचित लाभका कारण कर्तव्यबाट कति विमुख भइरहेको छ भनेर देखाइएको छ । पैसा र सम्पत्तिका कारण पतन भइरहेको मानिस थाहा पाउँदैन । यसलाई मैले देखाउने प्रयास गरेको छु ।’ मिश्रले नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याबहरूको पर्दाफास पनि गरेका छन् । उनका तीनवटा कार्टुन प्रदर्शनीमा छन् ।
महिला कार्टुनिस्ट सुजिता महर्जनले कोरोना कहरमा सिटामोल अभाव गराइएको सन्दर्भलाई कार्टुनमा चित्रण गरेकी छन् । उनले सिटामोल आभाव हुँदा पनि सम्बन्धित पक्ष आनन्दले बसेको समयलाई देखाएकी छिन् । कार्टुनमार्फत आममानिसलाई सचेत गराउन खोजेको उनको भनाइ छ ।
कार्टुनिस्ट देवेन्द्र थुम्केलीले विद्यालयमा विद्यार्थीलाई थोपरिएको पुस्तकको भारलाई कार्टुनमा उतारेका छन् । कार्टुनमा ट्युसन फी, अतिरिक्त फी, विलम्ब फी, मासिक र परीक्षा फी तिर्दातिर्दै विद्यार्थी आजित भएको विषयलाई उनले देखाएका छन् । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषय राज्यको मूल दायित्वभित्र पर्नुपर्ने हो । तर, यहाँ विद्यार्थी र परिवारलाई कसरी सताइन्छ भनेर कार्टुनमा देखाइएको छ ।
कार्टुनिस्ट अशोकमान सिंहले राजनीतिक दलहरूलाई बिम्बात्मक रूपमा कार्टुनमा देखाउन खोजेका छन् । उनले कार्टुनमा ‘सुंघुर’ बिम्बात्मक पात्र निर्माण गरेर राजनीतिक पार्टीका चरित्र देखाएका छन् । कार्टुनमार्फत राजनीतिक पार्टीका नेताहरूको फोहोरी खेललाई देखाउन खोजेको उनको दाबी छ । कार्टुनिस्ट सुदर्शन सिग्देलले विद्यालय खाजा कार्यक्रमलाई लिएर कार्टुन तयार पारेका छन् । उनले कार्टुनमार्फत विद्यार्थीका लागि आएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी दुब्लाउँदै गएको सन्दर्भ जोड्न खाजेका छन् ।
कार्टुनिस्ट रानुराज डंगोलले कालिमाटी तरकारी बजारलाई बिम्बात्मक रूपमा कार्टुनमा देखाएका छन् । तरकारी बजारमा बिचौलियाहरूबाट मारमा परेका किसानलाई कार्टुनमा उतारिएको छ ।