१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पल शाह प्रकरण : पीडित नाबालिकाको प्रतिकूल बकपत्र

आरोपी पक्षको दबाब र प्रभावमा परेर पीडितले बयान फेरेको वकिलहरूको आशंका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१८:oo

अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले प्रतिकूल बकपत्र गरेकी छिन् । जिल्ला अदालत तनहुँमा उपस्थित भएर उनले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा यस्तो जाहेरी दिएको भनेर बकपत्र गरेकी हुन् । आरोपी पक्षको दबाब र प्रभावमा परेर पीडितले यस्तो बकपत्र दिएको उनका वकिलहरूले आशंका गरेका छन् । शाहका आफन्तले पीडित पक्षलाई पटक–पटक भेटेर सहयोग गरिदिन आग्रह गर्दै आएका थिए । 

पीडित नाबालिकाले पहिलेको भन्दा फरक बयान दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । उनले आफूलाई जाहेरीमा जबर्जस्ती सही गराइएको बताएकी छिन् । ‘मलाई पल शाहले जबर्जस्ती गरेको छैन । जबर्जस्ती गरेको हो भनेर निवेदन उक्साहटमा हाल्न लगाएका हुन्’ भन्दै उनले फरक बयान दिएको श्रेस्तेदार कुँवरको भनाइ छ । ‘आइतबार नाबालिकाको बकपत्र लिने काम सकिएको छ । अब पीडितका बुबाको बकपत्र लिने काम हुन्छ,’ कुँवरले भने ।बकपत्र दिने क्रममा पीडितले पहिलेको भन्दा फरक बयान दिएपछि शाह पक्ष उत्साहित भएको छ । पीडित नाबालिगले सामाजिक सञ्जालमा अनावश्यक प्रोपोगान्डा आएको हुनाले बुबा फ्रस्टेड भएर जाहेरी दिन लगाएको बयान दिएको पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले बताए ।

सामाजिक सञ्जालमा अनावश्यक प्रोपोगान्डा आएको हुनाले बुबा फ्रस्टेड भएर शाहविरुद्ध जाहेरी दिएको उनको बकपत्र छ । ‘त्यही दबाबमा बुबाले प्रेसर दिएर मैले निवेदन दिएकी हुँ । मलाई पल शाहले पोखराको प्राइम होटेलमा, शुक्लागण्डकीको प्रदीप थापाको घरमा र नवलपुर गैँडाकोटको रिसोर्टमा पनि त्यस्तो केही गरेका होइनन्, हामी बाग्लुङको कार्यक्रममा जाँदा म दुर्गेश थापाको आमासँग सुतेकी हुँ । पोखराको प्राइम होटेलमा चाहिँ शाहलाई भेट्न म आफैँ गएकी हुँ । म त्यहाँ वास बसेको होइन । शुक्लागण्डकीमा हामी छुट्टाछुट्टै सुतेको हो, ऊ मकहाँ आएकै हैन । नवलपुरको रिसोर्टमा होटेलवालाको साहुनीकी छोरीसँग सुतेकी हुँ, त्यस्तो केही भएको छैन’ भन्ने बयान नाबालिगले दिएको वरिष्ठ अधिवक्ता वाग्लेको भनाइ छ ।  

नाबालिका जबर्जस्ती करणीको अभियोगमा अभिनेता शाह पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । ११ फागुनमा शाहविरुद्ध १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको थियो । जाहेरी परेको चार दिनपछि शाह आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । आफूलाई पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पोखरा गएका छन् । 

 कानुन व्यवसायीहरू भन्छन्– पीडितले बयान फेर्दैमा उन्मुक्ति पाउन कठिन छ
पीडितले बयान फेर्दैमा बलात्कार आरोपी शाहले उन्मुक्ति पाउने भने कठिन रहेको कानुन व्यवसायीहरू बताउँछन् । १८ वर्षमुनिका बालिकासँग सहमतिमै सम्बन्ध राख्दा पनि बलात्कारसरह हुने कानुनी व्यवस्था छ । १८ वर्षमाथिको पीडित भएको अवस्थामा उसको बयानलाई मुख्य आधार मानिने भए पनि नाबालिकाको हकमा अदालतले अन्य प्रमाणसमेत हेर्ने गर्दछ । यो घटनामा शाहविरुद्ध परिस्थितिजन्य प्रमाण तथा अडियोले समेत सम्बन्ध कायम भएको आधार दिएकाले शाहलाई उन्मुक्ति पाउन कठिन हुने प्रहरी अधिकारीहरूको दाबी छ । १४ वैशाख ०७८ मा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा शाहले बलात्कार गरेको भनेर पीडितको जाहेरी परेको थियो । नवलपुरमा पनि उनीविरुद्ध अर्काे मुद्दा दायर छ ।

 जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो । गत २२ चैतमा राजपत्रमा प्रकाशित यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा भनिएको छ, ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुनेछ ।’

बालिका ‘होस्टायल’ भएको हो कि भन्ने देखिन्छ
 राधिका खतिवडा, अधिवक्ता

बलात्कार घटनाका पीडित बालिकासँग बकपत्र लिने काम सुरु भएको छ । पहिलो दिनको बकपत्र सुन्दा नाबालिकाले बयान फेरेको जस्तो देखिन्छ । प्रहरीसँग दिएको बयान र उनले जाहेरीमा लेखेको विवरणको संगति बकपत्रमा भेटिएन । त्यसो हुँदा बालिका विपक्षीबाट ‘होस्टायल’ भएको हो कि भन्ने देखिन्छ । तर, बकपत्र सकिएको छैन । यो बल्ल सुरु भयो । अझै धेरैसँग बकपत्र गर्नु छ । त्यसो हुँदा आत्तिनुपर्ने केही छ जस्तो लाग्दैन ।

ad
ad