१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सलहेश फूल हेर्न भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo

सिराहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ स्थित सलहेश फूलबारीमा १ वैशाखमा फुल्ने फूल हेर्न हजारौँको भिड लागेको छ । मेलामा बिहीबार बिहानैदेखि विभिन्न जिल्लाबाट आएका मानिसहरूको भिड लागेको हो । कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष मेला लागेको थिएन । त्यसैले यसपटक सलहेश फूल हेर्न आउनेको भिड देखिएको हो ।

१ वैशाखमा फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाबाट दर्शनार्थीहरू आएका थिए । मेलामा भारत बिहारको सहरसा, सुपौल, पूर्णिया, दरभंगा, पटनाबाट मानिसहरू आएका थिए । मेलामा भेटिएका भारतको दरभंगाका ४५ वर्षीय दिलीपकुमार पासवानले भने, ‘हाम्रो इष्टदेवता सलहेशको पूजा र परिवार, सन्तानको सुखशान्तिका लागि मेला आएको हुँ ।’ आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न हरेक वर्ष छिमेकी भारत र स्वदेशका हजारौँ मानिसको भिड लाग्ने गर्दछ ।

सलहेश–मालिनीको प्रेमको प्रतीक ‘सुनाखरी’ 
सलहेश गाथामा उल्लेख गरिएअनुसार सिराहा नगरपालिका–७ मा पर्ने महिसोथामा जन्मिएका लोकनायक सलहेशको प्रणयस्थल थियो । किंवदन्तीअनुसार महिसोथाबाट हात्ती चढेर सलहेश लहान गोविन्दपुरमा पर्ने माणिक दहमा स्नान गरी फूलबारी धाममा आएर फूल टिपी महिसोथामा पुगेर पूजाअर्चना गर्थे । तेह्रौँ शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेमसम्बन्ध रहेको भए पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने जनविश्वास रहेको सलहेश गहवरका पूजारी ४६ वर्षीय इन्द्रदेवसिंह धामी बताउँछन् ।

तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेशलाई पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तानप्राप्ति, चर्मरोगलगायतका रोगव्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरूसमेत भेटिने भएकाले हरेक नयाँ वर्षमा लाग्ने मेलाको अवसर पारेर हजारौँको संख्यामा दर्शनार्थी फूलबारी मेला आउने गर्छन् ।

सिराहाको लहानदेखि करिब चार किमि दक्षिण–पश्चिममा रहेको लहान नगरपालिका–१२ पडरिया र वडा नम्बर २२ सिसवनीस्थित फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन मात्र फूल फुल्ने विश्वास भए पनि करिब एक साताअघिदेखि नै फूल फुल्ने गर्दछ । 

ad
ad