अहिले सामाजिक सञ्जाल, पत्र–पत्रिका, टिभी– रेडियोमा भ्युटावरको विषय निकै चर्चित छ । गरिब तथा विपन्न नागरिकले दुई छाक खान पनि सरकारबाट सहयोग पाउन कठिन छ । तर, विडम्बना, यही देशमा अर्बौंको लगानीमा च्याउ उम्रेझैँ जताततै भ्युटावर ठडिएका छन् । जसको न कुनै औचित्य देखिन्छ, न त कुनै उपयोगिता ।
देशमा सर्वसुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्यको त कुरै नगरौँ, पैसा तिर्छु भन्दा पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन मुस्किल छ । विकट भूगोलका कतिपय स्थानमा निमुखा जनता पेटभरि खान र नयाँ लुगाका लागि चाडबाड कुर्नुपर्ने बाध्यतामा छन् । बिजुलीको पहुँच पनि धेरै ठाउँमा पुगेको छैन । सहज बाटोघाटोको अभावले बर्सेनि कैयौँ नेपालीले अल्पायुमै ज्यान गुमाएका प्रशस्तै उदाहरण छन् । कृषकले समयमा मलखाद नपाएर खेतीमा लगाएको लगानी पनि उठाउन सकेका छैनन् । सरकारी निकायबाट पाउने सेवा दुर्लभ हुँदै गएको छ ।
वर्षौंको आन्तरिक द्वन्द्व र दोस्रो जन–आन्दोलनपश्चात् राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याए पनि जनताले कुनै परिवर्तनको अनुभूत गर्न सकेका छैनन् । जति परिवर्तन भएको छ, त्यो सबै राजनीतिक दल र तिनका नेताहरूको पेवा बनेको छ । अहिले नेपालमा महँगो लगानीमा बनेका भ्युटावरले हामी गरिब तथा निमुखा नेपालीलाई गिज्याइरहेका छन् । आवश्यकता र औचित्यविनै ठडिएका यी भ्युटावर न देश विकासका संकेत हुन्, न त देश र जनताका आवश्यकता नै हुन् । देशका दुरदजारका विद्यालयमा अहिले स–साना बालबालिका पनि खुला चौरमा पढ्न बाध्य छन् । गर्भवतीलाई समयमै अस्पताल पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान जोगाउन मुस्किल भइरहेको छ । जलस्रोतको ‘धनी’ देशमा पिउने पानीकै लागि पनि घन्टौँ हिँड्नुपर्ने बाध्यता छ ।
देशमा भ्युटावरभन्दा प्राथमिकतामा पर्नुपर्ने र लगानी गरिनुपर्ने विषय शासकका आँखाले देख्न नसक्नु गम्भीर विडम्बना हो
त्यसैले, भ्युटावरहरूमा गरिएको लगानी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको भए लाखौँलाख नेपाली लाभान्वित हुने थिए । भत्केका विद्यालय भवन बनाइएका भए खुला चौरमा पढ्न बाध्य बालबालिका लाभान्वित हुने थिए । भ्युटावरमा खन्याइएको बजेट स्वास्थ्य संस्थाको स्तरोन्नतिमा खर्चिएको भए कैयौँ नेपालीले गाउँघरमै स्तरीय स्वास्थ्य सेवा पाउने थिए र धेरैको ज्यान जोगिने थियो ।
भ्युटावर निर्माणको विचार कहाँबाट आयो र कसरी देशभर एकैसाथ परिचालन भयो भने प्रश्न खडा भएको छ । भ्युटावरका नाममा बजेटको दुरुपयोग हुनु चिन्ताको विषय हो । भ्युटावरभन्दा प्राथमिकतामा पर्नुपर्ने र लगानी गरिनुपर्ने विषय देशभर अनगन्ती छन् । तर, स्थानीयदेखि प्रदेश र संघीय शासकका आँखाले ती विषयभन्दा बढी प्राथमिकताको विषय भ्युटावरलाई देख्यो । यो देशकै लागि गम्भीर विडम्बना हो ।
विश्वको धेरैजसो अविकसित देश विकासका गतिमा धेरै अघि बढिसकेका छन् । तर, लाखौँ नेपाली अझै पनि गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । दुई ठूला अर्थतन्त्र भएका देशका बीचमा हाम्रो देश अवस्थित भए पनि देशको अर्थतन्त्र दिनानुदिन कमजोर हुँदै गएको छ । धेरैजसो खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका लागि हामी अरू देशमाथि निर्भर छौँ । यो विडम्बनापूर्ण अवस्था अन्त्य गर्ने दिशामा लगानी गर्न राज्यसित रकम छैन । तर, अग्लाअग्ला डाँडाकाँडामा भ्युटावर ठड्याउनमा भने राज्यसित जति पनि रकम देखिन्छ ।
नेपाली जनताको भोट अहिलेसम्म पनि न त देशको बलियो अर्थतन्त्रका लागि काम लागेको छ, न त व्यक्तिगत विकासमा । नेताको निजी विकास तथा सेवा–सुविधामा मात्र जनताको भोट काम लागेको देखिन्छ । अरू देशका नेता देश विकासका लागि राजनीति गर्छन् भने हाम्रो देशका नेताचाहिँ व्यक्तिगत स्वार्थका लागि राजनीति गर्छन् । भ्युटावरको राजनीति पनि यसैको एउटा अंश मात्र हो ।