१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:१९:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एउटा ठग जसले करोडपतिलाई बनाए बेघर

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१९:oo

धनगढीका मनोजकुमार भण्डारीको विश्वासमा पर्दा काठमाडौंका ऋतु जोशी र सहारा राणा तथा कैलालीकी राजेश्वरी सिंहले गुमाए करोडौँ सम्पत्ति

अकुत धन आर्जन गर्ने बाटोमा लागेपछि मानिसले कतिसम्म गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, कैलाली धनगढी उपमहानगरपालिका–५ का ४० वर्षीय मनोजकुमार भण्डारी । उनी छोरा, भाइ, साथी, सहयोगी अनुकूल हुने सबै भूमिकामा प्रस्तुत भए । जब विश्वास जित्थे सबैलाई धोका दिएर सम्पत्ति हडप्थे । 

५७ वर्षीया ऋतु जोशीले जीवनभरको कमाइले नयाँबानेश्वरमा जग्गा किनिन् । ऋणधन गरेर घर बनाइन् । तर, मन खोलेर बस्न नपाई मनोज भण्डारीले घर बैंकमा बन्धक राखिदिए । आफ्नो घर अहिले लिलाम हुने चरणमा पुगेको ऋतुले गुनासो गरिन् । ‘अनेक जालझेल गरेर घर बैंकमा राख्न लगायो । जसबापत चार करोड २० लाख रुपैयाँ ऋण झिक्यो । तर, उसले पछि न बैंकको ऋण तिर्‍यो, न हामीलाई रकम नै फिर्ता गर्‍यो । ठगको फन्दामा पर्दा यस्तो अवस्था झेल्नुपर्ने अवस्था आयो,’ उनले भनिन् ।

सरकारी जागिरे ऋतुका श्रीमान् मुकुन्दराज जोशी बिरामी थिए । सहयोग गर्ने बहानामा मनोज नजिकिन थाले । उनी कहिले बिरामी भेट्न महँगो ‘गिफ्ट’ लिएर घर पुग्थे । कहिले बिरामी बोकेर ऋतुसँगै अस्पताल दौडिन्थे । झन्डै वर्ष दिन चलेको यो नियमित क्रियाकलाप तब बन्द भयो, जब उनले ऋतुसँग चार करोड २० लाख रुपैयाँ फुत्काउन सफल भए ।

आठ वर्षअघिको घटना सम्झिँदै ऋतुले नयाँ पत्रिकासँग भनिन्, ‘श्रीमान् बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारका लागि अस्पताल धाइरहनुपर्ने । यही क्रममा मनोजसँग भेट भयो । बिरामी श्रीमान्लाई सहयोग गर्न भन्दै उनी नियमितजसो घरमा आउँथे । कहिले अस्पताल लैजान्थे । कहिले औषधि ल्याइदिन्थे । सबै क्रियाकलाप नाटक रहेछ । यसको भेउ पछि मात्र खुल्यो ।’

विश्वास जितेपछि मनोज झापामा कम्पनी खोल्ने योजना बोकेर ऋतुकहाँ पुगे । र, रकम खोजिदिन दबाब दिन थाले । तर, रकम नभएको भन्दै उनले टारिरहिन् । ऋतुको घर जसरी पनि बैंकमा धितो राखेर ऋण लिने योजनामा थिए मनोज । यही उद्देश्यसहित उनी नयाँ बानेश्वरस्थित तत्कालीन जनता बैंकका कर्मचारी सूर्य सेढाईलाई लिएर ऋतुको घर पुगे । दुवै मिलेर ऋतुलाई जबर्जस्ती कागजातमा हस्ताक्षर गराए । र, बैंकबाट सुटुक्क चार करोड २० लाख रुपैयाँ ऋण झिके ।

आठ वर्षअघिको घटना सम्झिँदै उनले भनिन्, ‘केही महिनामै फिर्ता गर्ने बहानामा मेरो घर बैंक धितो राख्न दबाब दिए पनि मैले टारिरहेकी थिएँ । एक दिन कागजातसहित बैंकको कर्मचारी बोकेर घरमै आएछन् । कन्ट्रयाक्ट पेपर त्यहीँ बन्यो । हुन्न भन्दाभन्दै मलाई हस्ताक्षर गर्न लगाइयो । पछि  बैंकबाट चार करोड २० लाख रुपैयाँ लिएर हिँडेछन् ।’

को हुन् मनोज ?

कैलाली धनगढी उपनपा–५ का ४० वर्षीय मनोजकुमार भण्डारी कोन–टेक प्रालिका मालिक हुन् । उनको सोही ज्वाइन्ट भेन्चरले बिजुलीबजारस्थित आर्क ब्रिज बनाएको थियो ।

आफूलाई पिएचडी स्कलर बताउने उनको नयाँबानेश्वरमा हिमालय डेकर्स नामको फर्निचर पसल पनि छ । ग्लोबल कलेज, भुजुङ हाइड्रो र अष्टांग इजुकेसन प्रालिका पूर्वनिर्देशक बताउने मनोज कुनै वेला नेपाल बैंकमा समेत उपनिर्देशकका रूपमा काम गर्थे ।

विश्वासमा पारेर जग्गा किन्ने ब्याक डेटको चेक दिएर वर्षौँ झुलाइरहने
मनोजले कैलाली धनगढी उपमहानगरपालिका– १ की राजेश्वरी सिंहलाई पनि ठगी गरेको खुलेको छ । धनगढीमै उनको साढे पाँच बिघा जग्गा थियो । बेचेर श्रीमान् हितेन्द्र सिंहको उपचार गर्ने र काठमाडौंमा घर बनाएर बस्ने योजना थियो उनको । जग्गा बिक्रीमा रहेको सूचना पाएपछि मनोज राजेश्वरीसँग नजिकिन थाले । बिरामी श्रीमान्को नियमित उपचारका कारण सधैँ खर्च अभावमा हुन्थिन् राजेश्वरी । यो कमजोरी मनोजले थाहा थिए । यही क्रममा उनले १५ लाख रुपैयाँ विनाकागजात राजेश्वरीलाई दिए । राजेश्वरी दंग परिन् । रकम खर्च गरिन् । 

राजेश्वरीको पूर्ण रूपमा विश्वास जितेपछि बिक्रीमा रहेको जग्गाको प्रसंग उनैले निकाले । र, जग्गा खरिद गर्न चाहेको प्रस्ताव राजेश्वरीसँग राखे । ग्राहक नपाएर राजेश्वरी हैरान थिइन् । चिनजानकै ग्राहक फेला परेपछि उनी मनोजलाई नै जग्गा बेच्न राजी भइन् । १३ करोड ५० लाख रुपैयाँ जग्गाको मूल्य कायम भयो । मनोजले विभिन्न मिति उल्लेख गरेर मूल्यबमोजिमको चेक काटेर उनलाई दिए । तर, चेक भनेको मितिमा साटिएन । झस्किएकी उनले मनोजलाई सम्पर्क गरिन् । आजभोलि भन्दै मनोजले वर्ष दिन त्यत्तिकै झुलाइदिए । राजेश्वरी दिक्दार बनिसकेकी थिइन् । पछि मनोजले चेकको मिति सच्याएर दिए । तर, पनि चेक साटिएन । 

तीन वर्षअघिको घटना सम्झिँदै राजेश्वरीले भनिन्, ‘विश्वासमा परेर जग्गा उसको नाममा पास गर्‍यौँ । ब्याक डेट राखेर उसले चेक दियो । तर, कुनै चेक साटिएन । हेर्दाहेर्दै हाम्रो जग्गा गुम्यो । अहिले त्यो जग्गाको मूल्य ४० करोड पुगेको छ । खर्च अभाव भएर श्रीमान् बितिसके । देवर पनि त्यही पिरले बितेर गए । ठगले घर न घाटको बनायो ।’

काठमाडौं क्षेत्रपाटीकी सहारा राणाको व्यथा पनि ऋतु र राजेश्वरीको भन्दा फरक छैन । जग्गा खरिद गर्न भन्दै मनोज सहारासँग नजिकिन थाले । अर्बौँको कारोबारमा संलग्न रहेको भन्दै ठुल्ठूला गफ दिन थाले । यही क्रममा बनस्थलीको जग्गा खरिद गर्न चाहेको प्रस्ताव सहारासमक्ष राखे । विश्वासमा परेका सहाराले बनस्थलीमा रहेको ४६ आना जग्गा उनैलाई बेच्न राजी भए । ६ करोड ५५ लाख रुपैयाँमा जग्गा पास गरे । त्यसबापत चेक लिए । एक करोड रुपैयाँको चेक साटियो । तर, पाँच करोड ५५ लाखको चेक अझैसम्म साटिएको छैन । ‘हामी त सोझो मान्छे । होला नि त भनेर चेक लियौँ । एक करोडको त साटियो पनि । तर, अरू चेक साटिएन । पटक–पटक उसलाई सम्पर्क गर्‍यौँ । केही सीप चलेन,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब त आसै मरेर गयो । के गर्ने केही सोच्न सएिको छैन ।’

यस्ता छन् ठगीका शृंखला

  • काठमाडौंको नयाँबानेश्वरकी ऋतु जोशीको घर बैंकमा धितो राखेर चार करोड २० लाख झिके, अझै पैसा तिरेनन्
  • कैलाली धनगढीकी राजेश्वरी सिंहको साढे पाँच बिघा जग्गा १३ करोड ५० लाखमा किने, तर पैसा तिरेनन्
  • काठमाडौं क्षेत्रपाटीका सहारा राणाको बनस्थलीमा रहेको ४६ आना जग्गा ६ करोड ५५ लाखमा किने, एक करोड मात्र दिए 
  • अन्य उजुरीमाथि पनि प्रहरीले छानबिन गर्दै

मनोज पक्राउ परे, तर पीडितले न्याय पाउन अझै सकेनन् 

मनोजबाट पीडित तीनजनामध्ये ऋतुले उच्च अदालत पाटनबाट मुद्दा जितिसकेकी छन् । उच्चले मनोजविरुद्ध २५ माघ ०७७ मै चार करोड २० लाख रुपैयाँ असुलउपरसहित एक महिनाको कैद सजाय सुनाएको थियो ।

एआइजी धीरजप्रताप सिंह प्रमुख, सिआइबी 
अदालतबाट पक्राउ गर्नू भनी आदेश आएको रहेछ । यही क्रममा हामीले उसलाई पक्राउ गरेका हौँ । अहिले डिल्लीबजार कारागारमा पठाएका छौँ । अन्य मुद्दाका सम्बन्धमा भने  अनुसन्धान भएको छैन ।

तर, मनोज न रकम तिर्न राजी भए, न कैद सजाय भोग्न नै । पीडित ऋतु पुनः अदालत पुगिन् । बिगो तिर्न राजी नभएको ठहर गर्दै उच्चले मनोजविरुद्ध गत १८ चैतमा थप दुई वर्ष कैद सजाय सुनाएको छ । अदालतको सोही आदेशअनुसार मनोजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २५ चैतमा पक्राउ गरेको छ । 

अहिले उनलाई डिल्लीबजार कारागार राखिएको सिआइबी प्रमुख एआइजी धीरजप्रताप सिंहले बताए । एआइजी सिंहले  भने, ‘अदालतबाट पक्राउ गर्नु भनी आदेश आएको रहेछ । यही क्रममा हामीले त्यसलाई पक्राउ गरेका हौँ । अहिले डिल्लीबजार कारागारमा त्यहीलाई पठाएका छौँ । अन्य मुद्दाका सम्बन्धमा भने अनुसन्धान भएको छैन ।’

अर्का पीडित राजेश्वरीको मुद्दा पनि उच्च अदालत पाटनमै छ । घटना अनुसन्धानमा प्रहरीले सहयोग नगरेकोमा उनको गुनासो छ । आफू ठगिएलगत्तै उनले महानगरीय अपराध महाशाखा नयाँबानेश्वरमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले घटना अनुसन्धानमा चासो दिएन । पछि उनी जाहेरी बोकेर महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन् । प्रहरीले मनोजलाई पक्राउ त गर्‍यो । तर, परिसरले उनलाई थाहै नदिई अदालतबाट मनोजलाई धरौटीमा छाडिदियो । 

काठमाडौंमा डेरामा बस्दै आएकी उनले भनिन्, ‘हामीले सबै गुुमायौँ । जाहेरी बोकेर प्रहरीकहाँ पुग्यौँ, तर सहयोग पाएनौँ । बल्ल तल्ल ऊ पक्राउ पर्‍यो । तर, हामीलाई थाहासमेत नदिई उसलाई अदालतबाट धरौटीमा छाडिएछ । हामी छक्क पर्‍यौँ । अहिले मुद्दा उच्च अदालत पाटनमा छ । पेसी सरेको सर्‍यै हुन्छ । हामी त हैरान भइसक्यौँ ।’ अर्का पीडित सहारा राणाको पनि मुद्दा अदालतमा छ । घटना अनुसन्धानमा प्रहरीले सहयोग नगरेको र अदालतले झुलाउने गरेको उनको गुनासो छ । 

 

ad
ad