दुई ठूला महानगर मात्रै होइन, देशको संघीय राजधानी पनि काठमाडौं उपत्यकामै छ । अझै पनि आमनागरिकको सपनाको सहर काठमाडौंमा फोहोर व्यवस्थापनको कथा भने दुर्गन्धित छ । १ फागुनयता आइतबारसम्म ५७ दिनमा मात्रै काठमाडौंको फोहोर २२ दिन उठेको छैन । पछिल्लोपटक १० दिनदेखि फेरि थुप्रिएको फोहोर अब कहिले उठ्छ भन्ने टुंगो पनि छैन ।
अघिल्लो महिना १ फागुनदेखि उठ्न छाडेको फोहोर १२ फागुनदेखि संकलन सुरु भएको थियो । तर, चैत १८ देखि फेरि उठ्न छाडेको छ । १० दिनसम्म फोहोर संकलन नहुँदा स्थानीयले सडक र चोकमा फोहोर फाल्न थालेका छन् । काठमाडौंका कलंकी, कालीमाटी, बागबजार, बानेश्वर, सोल्टीमोड, कुलेश्वरलगायत सडकमा दुर्गन्ध फैलिन थालेको छ । २८ मंसिरदेखि ८ पुससम्म १० दिन पनि फोहोर उठेको थिएन ।
पछिल्ला महिना फोहोर नउठ्नुको कारण हो ठेकेदारले लामो समयदेखि अलपत्र पारेको पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रेको माग गर्दै स्थानीयले गरेको अवरोध । दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले आठ वर्षसम्म पनि सकेको छैन । स्थानीयको विरोधपछि कन्स्ट्रक्सनले १५ चैतसम्म कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाएको थियो । त्यसपछि अवरोध खुलेको थियो । तर, फेरि कार्यान्वयनमा बेवास्ता गरिएको भन्दै स्थानीय अवरोधमै उत्रिएका हुन् ।
ठेकेदारले सहमति कार्यान्वयन नगर्दा र स्थानीयले फोहोरको गाडी चल्न नदिँदा काठमाडौं दुर्गन्धित भएको काठमाडौं महानगरपालिका अन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । ‘ठेकेदार हामीप्रति जवाफदेही छैन । हामीले न ठेक्का तोड्न सक्छौं, न कालोसुचीमा राख्न सक्छौं । त्यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन,’ उनले भनिन्, ‘ठेकेदारले काम गरेजस्तो पनि गर्छ । फेरी केही दिनमै सम्पर्कविहिन हुन्छ । हामीले त सम्वन्धीत निकायलाई लिखित र मौखिक रुपमा स्थानीयको माग सम्बोधन गर्न भनिरहेका छौं । तै पनि फोहोरको विषयमा हामीलाई नै निशाना बनाइन्छ ।’
आन्दोलनरत स्थानीयले अन्य गाडी चल्न दिएर फोहोरको गाडी मात्र रोकेको पनि महानगरले जनाएको छ । ‘गत शुक्रबार बैकल्पिक बाटो प्रयोग गरेर सय ट्रक फोहोर सिसडोल पु¥याए पनि त्यसपछि स्थानीयले रोके । केही दिनअघि निजी कम्पनीको एउटा गाडी नै तोडफोड भएपछि हामीले फोहोर लैजान सकेका छैनौं,’ राईले भनिन्, ‘स्थानीयले अन्य गाडीलाई जान दिएपनि फोहोर बोकेका गाडीलाई भने रोकेका छन् । फोहोर कहिलेदेखि उठ्छ हामी भन्न सक्दैनौं ।’
काठमाडौं र ललितपुर महानगरसहित उपत्यकाका १८ पालिकाका फोहोर नुवाकोटको ककनी गाउँपालिका– २ सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । नुवाकोटकै बञ्चरेडाँडामा नयाँ ल्याण्डफिल साइट बने पनि सञ्चालनमा आउन सकेको छैन । काठमाडौं महानगरका अनुसार एकै दिन १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ । यो फोहोर महानगर र निजी कम्पनीका दुई सय बढी टिपर र ट्रकबाट सिसडोल लैजाने गरिन्छ । १० दिन फोहोर नउठ्दा अहिले उपत्यकामा १० हजार टनभन्दा धेरै फोहोर थुप्रिसकेको छ ।
काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राई भन्छिन्–फोहोर कहिलेदेखि उठ्छ हामी भन्न सक्दैनौँ
ठेकेदार हामीप्रति जवाफदेही छैन । हामीले न ठेक्का तोड्न सक्छौँ, न कालोसूचीमा राख्न सक्छौँ । त्यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन । ठेकेदारले काम गरेजस्तो पनि गर्छ । फेरि केही दिनमै सम्पर्कविहीन हुन्छ । हामीले त सम्बन्धित निकायलाई लिखित र मौखिक रूपमा स्थानीयको माग सम्बोधन गर्न भनिरहेका छौँ । तैपनि फोहोरको विषयमा हामीलाई नै निसाना बनाइन्छ । गत शुक्रबार वैैकल्पिक बाटो प्रयोग गरेर सय ट्रक फोहोर सिसडोल पुर्याए पनि त्यसपछि स्थानीयले रोके । केही दिनअघि निजी कम्पनीको एउटा गाडी नै तोडफोड भएपछि हामीले फोहोर लैजान सकेका छैनाैँ। स्थानीयले अन्य गाडीलाई जान दिए पनि फोहोर बोकेका गाडीलाई भने रोकेका छन् । फोहोर कहिलेदेखि उठ्छ हामी भन्न सक्दैनौँ ।