
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेभन्दा फरक आउन सक्ने बताए।
गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै खनालले यसपटक कांग्रेसलाई सहयोग गर्न आग्रहसमेत गरे। उनले समूहभित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन्।
‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन। टिकट लिने र समूहभित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसलाई केन्द्रीय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ। तर, मतदाताको हात समाएर मत हाल्न सकिँदैन। तसर्थ यो रिजल्ट, भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण, हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ,’ जिल्ला सभापति खनालले भने।
उनले कांग्रेस चितवनले आफ्ना कार्यकर्ताको भविष्य सुरक्षित गर्न र नेपाली कांग्रेसलाई जीवन्त राख्न यसपटक महानगरको नेतृत्व लिन चाहेको बताए। पार्टीको केन्द्रीय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने, तर पार्टीले यसपटक भरतपुरको मेयरमा दाबी नछोड्ने उनले बताए।