१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५१:oo

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसन (होटेल आनन्द)सँगको सम्झौता रद्द गरेको छ । ३५ दिने स्पष्टीकरणसमेत पेस नगरेपछि कोषको बैठकले सम्झौता रद्द गरेर सार्वजनिक सूचना जारी गरेको हो ।

कोषले १ फागुनको पत्रबाट ३५ दिनको म्याद दिई स्पष्टीकरण पेस गर्न सूचित गरेको थियो । तर, होेटेल आनन्दले तोकिएको समयावधिभित्र स्पष्टीकरण पेस नगरेको र हालसम्म पनि सम्पर्कमा नआई बेवास्ता गरेको भन्दै १४ चैतमा बसेको कोषको बैठकले १७ चैतबाट लागू हुने गरी करार सम्झौता रद्द गरेको हो । 

सम्झौता रद्दको पत्र लिएर कोषका पदाधिकारी गत बिहीबार धर्मशाला पुगेका थिए । तर, कर्मचारीले पत्र बुझ्न नमानेपछि आइतबार सार्वजनिक सूचना नै जारी गरेर सम्झौता रद्दको जानकारी दिइएको छ । धर्मशाला भवनलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएको, धर्मशालाको बेड संख्या र दररेट फरक पारी व्यवसाय गरेको, सम्झौताको सर्तमा लेखिएको प्रावधानविपरीत थप निर्माण एवं जडान गरिएको र सर्तअनुसारको भाडा रकम समयमा नबुझाएकाले सम्झौता रद्द गरिएको निर्णयमा उल्लेख छ ।

कोषका सदस्यसचिव मिलनकुमार थापाले होटेल आनन्दले स्पष्टीकरणको जवाफ पनि नदिएको र सम्झौता भंगको पत्र पनि नबुझेपछि सार्वजनिक सूचना जारी गरिएको बताए । कोषले सम्झौता रद्दको जानकारी होटेललाई इमेलमार्फत पनि दिएको छ ।

पर्यटन मन्त्रालयले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठन गरेको छानबिन समितिले नियम मिचेर धर्मशालालाई होटेल बनाउने सम्झौता गरिएकाले भंग गर्न सिफारिस गर्दै ३ माघमा प्रतिवेदन बुझाएको थियो  । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा ११ माघमा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले यसअघि मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको थियोे । ती सबै प्रक्रिया पूरा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । 

यसअघि होटेल आनन्दले ‘होटेल सञ्चालनमा अवरोध पुर्‍याइएको’ भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि खारेजी प्रक्रिया लम्बिएको थियो । ९ फागुनमा अदालतले ‘तत्काल करार सम्झौताबमोजिमको कार्य गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध लगाउने अवस्था विपक्षीबाट सिर्जना भएको भन्ने निवेदकबाट नदेखिएकाले’ अल्पकालीन आदेश खारेज गरिदिएको थियोे । सरकारले अदालतको यो व्याख्यालाई ठेक्का रद्द प्रक्रिया अघि बढाउन बाटो खुलेको अर्थमा रूपमा लियो । तर, बतास समूहले भने मुद्दा विचाराधीन रहेकाले सम्झौता रद्द गर्न नमिल्ने बताउँदै आएको छ । यो होटेलसँग कोषले ३० वैशाख ०७६ मा करार सम्झौता गरेको थियो । 

कोषले धर्मशाला सञ्चालनको जिम्मा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथाम)लाई दिने निर्णय पनि गरेको छ । ‘धर्मशालाको सेवा–सुविधा बन्द हुन नदिई निरन्तर सञ्चालन गर्नका लागि तत्काल थप व्यवस्थापन गर्नुपर्ने र सोका लागि प्रचलित कानुनबमोजिम सार्वजनिक सूचना प्रकाशित गरी प्रस्ताव आह्वान गर्न सम्भव नभएकाले सरकारी निकायको रूपमा रहेको नाथाममार्फत व्यवस्थापन गर्ने नीतिगत निर्णयसमेत भएको जानकारी गराइन्छ,’ कोषको निर्णयमा भनिएको छ ।

ad
ad