१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाख्रापालनमा उत्साहित बन्दै महिला, स्थानीय तह र हेफरको सहकार्यमा १९ करोडभन्दा बढीको परियोजना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

धुर्कोट गाउँपालिका– २ पीपलधाराकी निरू घर्तीले व्यावसायिक बाख्रापालन गर्न थालेको चार वर्ष भयो। सुरुमा घर्तीको घरमा एउटा माउ बाख्रा मात्रै थियो। व्यावसायिक बाख्रापालनको मोह पलाएपछि उनले प्रत्येक वर्ष बाख्रा बढाउँदै गइन्। उनले अहिले २४ वटा माउसहित ३९ वटा बाख्रा पालेकी छिन्।

उनका श्रीमान् निमबहादुर कतारमा छन्। दुईमध्ये एक छोरा गाउँ र अर्का बुटवलमा पढ्छन्। निरूलाई घरखर्च र छोराहरूको पढाइका निम्ति श्रीमानकाे मुख ताक्नुपर्ने अवस्था छैन। गत वर्ष बाख्रा बिक्री गरेर उनले साढे दुई लाख रुपैयाँ कमाइन्। घरखर्च पुर्‍याएर उनले १० बाख्राबाट थपेर २४ माउ बाख्रा पुर्‍याइन्। अहिले उनले आधुनिक खोरसमेत निर्माण गरेकी छिन्।

‘परियोजनाले व्यवसायी बन्ने उत्प्रेरणा थप्यो। खोर, घाँस, प्राविधिक सहयोग पनि परियोजनाले गर्दै आएको छ,’ उनले भनिन्, ‘मजस्ता धेरै महिला परनिर्भरताबाट मुक्त छन्।’ यहाँका स्थानीय तहहरूमा बाख्रा उद्यम परियोजना कार्यान्वयनमा आएपछि ग्रामीण क्षेत्रमा बाख्रापालनमा आकर्षण बढेको छ। त्यसमा पनि महिलाहरू बढी नै लाभान्वित भएका छन्। घाँस अभावका कारण धेरै पशुपालक किसानको व्यवसाय संकटमा पर्ने गरेको छ। तर, यहाँ यो परियोजनाले पशुपालनका लागि आवश्यक उन्नत जातको घाँसका लागि उद्यमीहरूलाई बाहिर जानुपर्ने बाध्यताको समेत अन्त्य गरेको छ।

पछिल्लो समय पशुपालनमा व्यावसायिकता बढेसँगै घाँसको व्यावसायिक खेती गर्ने उद्यमीहरू पनि थपिन थालेका छन्। ०७४ सालदेखि घाँसका बिरुवाको व्यवसाय सुरु गरेका इस्मा गाउँपालिका– ५ का चन्द्रप्रसाद भुसालले वार्षिक दुई लाख कमाउँदै आएका छन्। अहिले भुसालको नर्सरीमा ५० हजार किम्बुलगायत उन्नत जातका बिरुवा रहेका छन्।

करिब साढे १९ करोडको परियोजना
गुल्मीका पाँच स्थानीय तहका कृषि र पशुपालनमार्फत महिलाहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउन करिब साढे १९ करोडको सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना कार्यान्वयनमा रहेको छ। जसले करिब १५ हजार महिलालाई समूह र सहकारीमा आबद्ध गर्दैै बाख्रापालनको क्षेत्रमा नयाँ ऊर्जा भरेको छ।

जिल्लाका पाँच स्थानीय तहमा पशुपालक महिला उद्यमीलाई घाँसमा आत्मनिर्भर बनाउन ४५ रोपनीमा १४ वटा घाँसका नर्सरी स्थापना गरिएको पशु वस्तुहरूको मूल्य शृंखलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिए। यो परियोजना जिल्लाका मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, इस्मा र मालिका गाउँपालिकामा सञ्चालनमा छ। हेफर प्रोजेक्ट नेपाल र स्थानीय तहको साझेदारीमा परियोजना सञ्चालन भएको हो।

परियोजना सञ्चालन गर्न पाँच स्थानीय तहले १४ करोड ४८ लाख दुई हजार तीन सय ४५ र हेफर प्रोजेक्ट नेपालको तर्फबाट चार करोड ९६ लाख ७६ हजार छ सय ६७ रुपैयाँ गरेर कुल १९ करोड ४४ लाख ७९ हजार १२ रुपैयाँमा सम्झौता गरेको हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्ब्युले जानकारी दिए। यो परियोजना स्थानीय तहमा ०७६ बाट कार्यान्वयन रहेको छ। गत बिहीबार हेफरले पाँच स्थानीय तहमा परियोजना कार्यान्यवनको विषयमा समीक्षा गरेर सरोकारवालाई अवस्थाबारे जानकारी गराएको थियो।


सबै पालिकामा एउटै मोडलका कार्यक्रम
हेफर प्रोजेक्ट नेपाल र स्थानीय पालिकाको साझेदारीमा सञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना एउटै मोडलको रहेको छ। पशुपालनको बेसलाइन सर्भे, समूह गठन, प्रशिक्षण, बाख्रा वितरण, खोर सुधार, औजार, घाँस वितरण तथा आर्थिक क्रियाकलाप व्यवस्थित गर्न सहकारी गठन एवं बजारीकरणको काम परियोजनाबाट हुन्छ। जसका लागि परियोजना र मुसिकोट नगरपालिकासँगको साझेदारीमा चार करोड ३२ लाख सात हजार पाँच सय ३९ रुपैयाँ, मालिका गाउँपालिकासँगको साझेदारीमा तीन करोड ६७ लाख ६६ हजार नौ सय २६ रुपैयाँ, इस्मा गाउँपालिकासँगको साझेदारीमा तीन करोड २८ लाख ६१ हजार दुई सय ६ रुपैयाँ कृषि र पशुको क्षेत्रमा विनियोजन भएको हेफर नेपालका सहनिर्देशक दुर्गा केसीले जानकारी दिए।

त्यस्तै, धुर्कोट गाउँपालिकासँगको साझेदारीमा चार करोड ४८ लाख चार हजार तीस रुपैयाँ र मदाने गाउँपालिकासँगको साझेदारीमा चार करोड ३९ हजार तीन सय ११ रुपैयाँ परियोजनामार्फत कृषि र पशु विकासका लागि विनियोजन गरिएको छ। त्यस्तै, पाँच पालिकाको तथ्यांकअनुसार चार हजार सात सय ६ बाख्रा वितरण गरिएको छ भने चार सय ३९ महिलाले बिउ बोका प्राप्त गरेका छन्। दुई हजार नौ सय २९ महिलाले खोर निर्माणका लागि १० हजारको दरले रकम प्राप्त गरेको हेफर नेपालका सहनिर्देशक केसीले बताए ।

२३ सहकारी झन्डै साढे १९ करोड पुँजी
महिलाहरूलाई पशु उद्यममा प्रेरित गर्ने, ऋण र अनुदान वितरण तथा बचत संकलनमा प्रोसाहित गर्न परियोजनामार्फत २३ सहकारी सञ्चालनमा रहेका छन्। स्थानीय तह र हेफरमार्फत १७ वटा सहकारी सञ्चालनमा रहेका छन्। सहकारी दर्ता भएको केही महिनामै १४ करोड ६५ लाख २७ हजार १७ रुपैयाँ कुल पुँजी निर्माण गरेको परियोजना अधिकृत विकास घिमिरेले जानकारी दिए। पशु वस्तुहरूको मूल्य शृंखलामा आधारित साना किसानहरूको संस्था सबलीकरण परियोजनामार्फत पाँच सहकारी सञ्चालनमा रहेका छन्। जसमा चार करोड ७४ लाख २९ हजार दुई सय २० रुपैयाँ पुँजी निर्माण भएको घिमिरेले बताए।

स्थानीय सरकार उत्साहित
हेफर प्रोजेक्ट नेपाल र स्थानीय तहको साझेदारीमा सञ्चालित बाख्रा विकास परियोजनाले किसान मात्रै नभएर जनप्रतिनिधिहरुलाई पनि उत्साहित बनाएको छ। मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पाँचवर्षे कार्यकालको ठूलो उपलब्धिका रूपमा परियोजनालाई लिएका छन्। उनले कृषि र पशुपालनको क्षेत्रमा परियोजनाले महिलाहरूमा थपेको ऊर्जाले निकै प्रभावित भएको बताए। ‘सीमित स्रोत र साधनबीच नागरिकका असीमित चाहना एकैचोटि पूरा गर्न सकिएन । तर, स्थानीय तह र परियोजनाको साझेदारीमा कार्यान्वयन भएको कृषि र पशु विकास कार्यक्रम निकै प्रभावकारी रह्यो,’ उनले भने, ‘महिलाहरूको आर्थिक तथा सामाजिक रूपान्तरण पहिलो कुरा भएकाले मलाई कुनै पश्चाताप छैन।’

इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बोल्न नसक्ने महिलाले आफ्नो कुरा राख्ने, घरखर्चका लागि पनि कमाउने श्रीमानको मुख ताक्नुपर्ने र घरबाट बाहिर निस्कन नसक्ने महिलामा आएको परिवर्तनले निकै खुसी लागेको बताइन्। ‘महिलाको खुसी र आत्मनिरर्भतालाई मूल्य र प्रमाणमा मापन गरेर हुँदैन। महिलाको अनुहारमा देखिएको खुसी नै सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भनिन्, ‘आर्थिक तथा सामाजिक परिवर्तनविना पूर्वाधार विकासको अर्थ छैन।’

ad
ad