१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
समाचार डिजिटल संस्करण

कोरोना प्रभावितलाई अनुदान दिन ढिलाइ गर्दै स्थानीय तह

Read Time : > 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख २० बिहीबार १४:१६:oo

कोरोना कहरले अत्यधिक प्रभावित नागरिकलाई १० हजारका दरले नगद अनुदान दिने सरकारी कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको छ। संघीय सरकारले बजेट निकासा गरेको लामो समय बितिसक्दासमेत सोलुखुम्बुका अधिकांश स्थानीय तहले लाभग्राहीलाई रकम वितरण गरेका छैनन्।

सोलुखुम्बुबाट छनाेटमा परेका करिब दुई हजार एक सय १३ जनामध्ये हालसम्म दुई सय ७३ जनाले मात्र नगद अनुदान पाएका छन्। माप्य दूधकोसी गाउँपालिकाले दुई सय ६७ लाभग्राहीमध्ये एक सय ३३ जनालाई र सोताङ गाउँपालिकाले दुई सयमध्ये एक सय ४० जनालाई रकम वितरण गरेको छ। माप्य दूधकोसीले २६ लाख ७० हजार र सोताङ गाउँपालिकाले १३ लाख ३० हजार बजेट प्राप्त गरेका थिए।

जिल्लाको महाकुलुङ गाउँपालिकाले गत बुधबार मात्रै दुई सय ६५ लाभग्राहीलाई नै १० हजारका दरले रकम वितरण गरेको छ। बाँकी पाँच स्थानीय तहहरूले भने निकासा भएको अढाई महिना बितिसक्दासमेत रकम वितरण गरेका छैनन्।

थुलुङ दूधकोसी गाउँपालिकाले अनुदान वितरणका लागि कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ मा भएका व्यवस्थाले अनुदान वितरणमा समस्या भएको जनाएको छ। कार्यविधिमा सामाजिक सुरक्षा भत्ता पाउने, वैदेशिक रोजगारीमा गएका, निजी संघसंस्थामा काम गरिरहेका, सरकारी जागिर भएका परिवारलाई नसमेट्न भनेकाले वास्तविक लाभग्राही पहिचानमा ढिलाइ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उद्धव ढुंगानाले बताए। उनका अनुसार संघीय सरकारबाट अनुदान वितरणका लागि पालिकाले चार लाख ६० हजार रकम प्राप्त गरेको छ।

त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाका सूचना अधिकृत सुजनकुमार बुढाथोकीले वडा–वडाबाट तथ्यांक संकलनको काम भइरहेको प्रतिक्रिया दिए। उता, २८ लाख बजेट प्राप्त गरिसकेको नेचा सल्यान गाउँपालिकामा पनि कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको देखिन्छ। लिखुपिके गाउँपालिकामा लाभग्राही पहिचान भइसकेको, तर बजेट निकासा नभएका कारण रकम वितरणमा ढिलाइ भएको बताइएको छ। बजेट निकासा हुनासाथ रकम वितरण गरिने पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए।

जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डमा पनि अनुदान वितरणको काममा ढिलासुस्ती भएको छ। नगरपालिकाले सूचना प्रकाशन गरेर निवेदन  माग गरेको भए पनि हालसम्म अनुदान वितरणको कुनै तयारी गरेको छैन। छलफल गरेर चाँडै कार्यक्रम कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ।

ad
ad