पिप्ले युवा क्लब हेटौँडा छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आइतबार भएको खेलमा पिप्ले युवाले हिमालयन शेर्पालाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।
खेलको १५औँ मिनेटमा रूपक लामाले पिप्ले युवालाई १–० को अग्रता दिलाए । लामाले गोलपोस्टभन्दा ४० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दा हिमालयन पछि परेको हो । लामाको फ्रिकिक गोलबाहेक पिप्लेले थप सशक्त आक्रमण गर्न सकेन । हिमालयनको भने फिनिसिङमा पटक–पटक कमजोरी भइरहेको थियो । दोस्रो हाफको चौथो मिनेटमा कुलदीप काकर्मीले हेडिङ गोल गरी पिप्लेलाई २–० को अग्रता दिलाए । उनले लामाकै क्रसमा डिबक्सभित्रबाट हेडिङ गोल गरेका हुन् ।
खेलको अन्तिम अतिरिक्त समयमा पिप्लेका ऋतिक खड्काले हिमालयनका गोलरक्षकविरुद्ध ‘वान भर्सेज वान’को अवस्थामा गोल गर्दै सेमिफाइनलको स्थान पक्का गराए । प्रतियोगिताको साबिक विजेता पिप्लेले हिमालयनमाथि दबाब बनाएको थियो । खेलमा हिमालयनका खेलाडीले अवसरको सदुपयोग गर्न सकेनन् । खेलको सातौँ मिनेटमा हिमालयनमा विकास मेराजिलको प्रहारलाई पिप्लेका गोलरक्षकले क्लियर पारे ।
मध्यान्तरअघि हिमालयनले गोलअन्तर घटाउने अवसर खेर फाल्यो । हिमालयनका दिवस ओरओको सुन्दर हेडिङ क्रसबारमा ठोकिएर फर्कियो । यसैगरी, दोस्रो हाफमा हिमालयनका सत्य शर्माले प्रहार गरेको बल लगातार बारमा लागेको थियो ।
खेलमा पिप्लेका रूपक ‘म्यान आफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । पिप्ले क्लब सीधै क्वार्टरफाइनलमा बाई पाएको टोली हो । हिमालयनले पहिलो चरणमा धु्रवतारालाई हराउँदै अन्तिम आठको स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो क्वार्टरफाइनल नेपाल पुलिस र सुदूरपश्चिम–११ धनगढीबीच हुँदै छ । पुलिसले क्वार्टरफाइनलमा स्थान बनाउन नवजनजागृति युवा क्लब सिमरालाई हराएको थियो ।
सुरुमै गोल हुँदा गाह्रो भयो
युगलकिशोर राई, प्रशिक्षक, हिमालयन
प्रतिस्पर्धामा मिडफिल्डर र स्ट्राइकरबीच राम्रो तालमेल नहुँदा टोली पराजित भयो । सुरुमै दुई गोल व्यहोर्दा खेलमा फर्कन गाह्रो भयो । पिप्ले युवाले सुरुमा दुई गोल गरेपछि सम्हालिने अवसर पाएन, जसबाट हामी दबाबमा पर्यौँ । हामीहरूको तालमेल पनि मिलेन । पिप्ले युवाले सहज गोल गरेको थियो खासमा तीनवटै गोल त्यति उत्कृष्ट थिएनन्, ती गोल सबै सामान्य प्रहारमा भएका थिए ।
मिहिनेतको नतिजा हो
सुविन घिमिरे, प्रशिक्षक, पिप्ले युवा
खेलाडीहरूले पूरै ९० मिनेट मिहिनेत गरे । हिमालयन ए डिभिजन क्लब र उनीहरूको सेट टिम हो । सबै खेलाडीले अन्तिम समयसम्म धेरै मिहिनेत गरेका थिए ।यसैकारण, जित पनि निकाल्याैँ । साइडबाट खेल्ने खेलाडी नहुँदा अलि समस्या परेको थियो । प्रतिस्पर्धामा दुईजना नयाँ खेलाडी प्रवेश गरेपछि खेलमा पकड बनायौँ । साइडमा खेल्ने खेलाडीको समस्या थियो र दुईजना नयाँ खेलाडी थप्यौँ, उनीहरूले राम्रो प्रदर्शन गरे ।