मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ३ बिहीबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खाद्य पदार्थमा मिसावट गर्नेमाथि कारबाही हुन्छ : महानिर्देशक जोशी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार १४:o५:oo

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा जथाभावी सोडा, चिनी तथा साल्टहरू प्रयोग गरी बिक्री–वितरण गर्ने डेरी उद्योग तथा पसलहरूलाई कारबाही गर्ने जनाएको छ।  दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी काठमाडौंमा भएको अन्तर्क्रियामा विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले यस्तो चेतावनी दिएकी हुन्।

डेरी पसलहरूमा विनालेभलका दही, पनिरलगायतका उत्पादनहरू बिक्री–वितरण भएको भन्दै उनले विनालेभलका दुग्धजन्य वस्तुमा गुणस्तरको सुनिश्चितता नहुने बताइन्। उनका अनुसार विशेष गरी गर्मी महिनामा सोडालगायतका पदार्थ दूधमा मिसावट हुने गरेको छ। दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिकाअनुसार दैनिक उपभोग्य वस्तुमा गुणस्तर कायम गर्न विभाग निरन्तर रूपमा लागिपरेको उनको दाबी छ।

‘अनौपचारिक क्षेत्रमा दुध उत्पादन भइरहेको छ भने अर्कोतर्फ बजारमा धेरै डेरी पसल भनेर देखिरहेका छौँ। त्यस्ता डेरी पसलहरूमा विनालेभलका उत्पादनहरू बिक्री–वितरण भइरहेका छन्। जसमा दही, पनिरलगायतका उत्पादनहरू विनालेभल बिक्री भएका छन्। यस्ता प्रकारका उत्पादनको गुणस्तरको सुनिश्चित नहुन सक्छ,’ उनले भनिन्, ‘दूधमा जथाभावी रूपमा सोडा, चिनी, सल्टहरू प्रयोग भइरहेको भन्ने गुनासा आएका छन्। यस्ता खालका समस्या विशेष गरेर गर्मीको समयमा बढी देखिने र सूक्ष्म जीवाणु अत्यधिक मात्रामा हुने हुँदा यस्तो खालको अवैधानिक कामहरू भइरहेको छ। विगतमा यस्तो गरेको पाइएकाले यस्तो खालको काम नगर्नुहोला। यस्तो गर्दा खाद्य ऐनबमोजिम कानुनी रूपमा कडा कारबाही गरिन्छ।’

महानिर्देशक वैद्यले दुग्धजन्य पदार्थमा गुणस्तर  कायम गर्ने ऐन परिमार्जन गर्नुपर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन्। अब छिट्टै प्रतिनिधिसभाबाट यो विधेयक पास हुने तयारीमा रहेको भन्दै उनले पास भएर लागू भएमा सम्पूर्ण खाद्य शृंखलामा परिवर्तन आउने बताइन्।